लुकीलुकी दुर्गाको मूर्ति

14
Shares

हेटौंडा।

हेटौंडा–४ स्थित स्कुलरोड निवासी १४ वर्षीय प्रनिशमान सांगामीले दुर्गा माताको मूर्ति बनाएका छन् । विजयादशमीको अवसरमा प्रनिशले दुर्गा माताको मूर्ति बनाएका हुन् । उनी जीएस निकेतनको कक्षा–९ मा अध्ययनरत् छन् । प्रनिशले बनाएको मूर्ति सोही वडाको स्कुलरोडस्थित रिजाल कम्प्लेक्समा रहेको नवरात्रिको पूजास्टलमा राखिएको छ । उनले मूर्ति बनाउन कहींकतैबाट प्रशिक्षण लिएका छैनन् ।

प्रनिशका बुबा कविनमान सांगामीले प्रनिश सानैदेखि कलाक्षेत्रमा रुचि राख्दै आएको बताए । उनले भने–बाबु सानैदेखि कलाक्षेत्रमा अगाडि सरेको हो । गीत गाउने, मादल, तबला र हार्माेनियम बजाउने, स्कुलका हरेक क्रियाकलापमा भाग लिन निकै रुचाउँछ बाबु ।

उनले मूर्ति घरको छतमा बनाएका रहेछन् । बुबाले गाली गर्ने डरले प्रनिशमा लुकीलुकी मूर्ति बनाएका थिए । बनाएपछि उनकी आमालाई भनेका थिए । ‘बनाएपछि हेर्दा निकै खुशी लाग्यो छोराको प्रतिभा देख्दा,’ कविन भन्छन् ।

प्रनिशले दुर्गा माताको मूर्ति करिब १५ दिन लगाएर बनाएका हुन् । मूर्ति बनाउन माटो, भुस, कार्टुन र पराललगायत प्रयोग गरेको प्रनिश बताउँछन् । उनले मूर्ति बनाउन लागेको करिब १५ हजार रुपियाँ आमा र हजुरआमालगायतसँग खुसुक्क मागेका थिए । ‘विद्यालयमा उनको परीक्षा चलिरहेका कारण मैले अन्य काम र कुरा गर्न दिएको थिइनँ,’ कविन भन्छन्–त्यसैले लुकीलुकी मूर्ति बनाएछ ।

नवरात्र शुरु भएका कारण प्रनिश मध्यरातसम्म नवरात्रि पूजास्टलमा विभिन्न प्रकारका बाजा बजाएर बसिरहेका भेटिन्छन् ।