चुनावी घोषणापत्र तयारीमा व्यस्त छन् ठूला दलहरु

0
Shares

काठमाडौँ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरु चुनावी घोषणा पत्र तयारीमा व्यवस्त भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई टिकटसँगै घोषणा पत्रको चटारोले च्यापेको हो ।

पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस र माओवादीले घोषण पत्र निर्माणका लागि समिति बनाएर विभिन्न विज्ञसंग छलफल गरिरहेका छन् । उनीहरुले पाँच वर्षमा कार्यन्वायन गर्न सकिने विषयबस्तु समेटेर घोषणपत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रमहरु ल्याउने तयारीमा रहेको नेताहरुले बताएका छन् ।

एमालेले पनि टिककसँगै घोषणा पत्रको काम सकेर जनतामाझ जाने बताएको छ । गठबन्धनका सहयात्री कांग्रेस र माओवादी बाहेकका दलहरु पहिला टिकट टुङ्याएपछि घोषण पत्र निर्मातिर लाग्ने बताउँछन ।

नेकपा एकीकृत समाजवादीका उप महासचिव जगन्नाथ खतिवडाले गठबन्धन भित्रको टिकटको लफडाले घोषण पत्रको काम थाल्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो,‘गठबन्धनको टिकट प्रकरणले चुनावी तयारीका अन्य कामहरु थाल्नै पाइएको छैन् ।’

नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको ४१ सदस्यीय तयारी समिति बनाएर घोषणापत्र निर्माण गरिरहेको छ । पार्टीका ६ जना सहमहामन्त्री, सात जना केन्द्रीय सदस्य, विभिन्न क्षेत्र र वर्गका विज्ञ सम्मिलित समितिले घोषणापत्र तयार गर्दै गरेको सहमहामन्त्री तथा घोषणापत्र अध्ययन र विश्लेषण उपसमितिका संयोजक जीवन परियारले जानकारी दिनुभयो । परियारको नेतृत्वमा गठन भएको उपसमितिले पार्टीको स्थापनाकालदेखिका दस्तावेज एवं विभिन्न कालखण्डका घोषणापत्र अध्ययन गरिरहेको बताइएको छ । यो सँगै घोषणा पत्रमा समेट्नेगरी जनभावना संकलन गर्न प्रविधि मार्फत सुझाव दिन सार्वजनीक अपिल नै गरेको छ ।

सुझाव संकलनका लागि ह्वाट्स एप,भाइवर,इमोको पहुँच हुनेहरुलाई मोवाइल नम्रब, आवाज रेकर्ड गरेर सुझाव दिनका लागि टोल फ्रि नम्बर र डिजिटल फर्म मार्फत सुझाव पठाउनका लागि क्युआर कोर्डको व्यवस्था परेर सार्वजनिक अपिल गरेको छ । ती माध्यामहरुबाट जो कोहीले पार्टीलाई घोणा पत्रका लागि सुझा दिन सक्ने समितिले जनाएको छ । कांग्रेसले ‘म र मेरालागि तर समग्रमा देशका लागि’ युवा भावनाको लहरलाई घोषणापत्रमा समेटिने घोणापत्र समितिका संयोजक तथा महामन्त्री विश्वप्रकाश शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घोषणा पत्रमा सबै जनताको भावना समेटिने र आगामी पाँच वर्षमा कांग्रेसले गर्न सक्ने योजनालाई मात्रै समावेश गरिन्छ ।’ देशको आर्थिक, समाजिक, भौगोलिक, जातिय पहिचान, खेलकुद, सांगितिक क्षेत्र लगायत समग्र विषय बस्तुलाई समेटेर बनाइने घोषणा पत्र छोटो र कार्यन्वायन गर्न सक्ने बनाउने शर्माको भनाइ छ ।

त्यसका लागि तयारी समितिमा विभिन्न विज्ञहरुको टोली बनाइएको छ । समितिले आवश्यक प्रादेशीक र विषयगत रुपमा हेर्नाका लागि उपसमितिहरु समेत बनाएर चाडौ सक्ने गरी लागेको समितिका सदस्यहरुले बताएका छन् । सबै प्रदेशमा बेग्लाबेग्लै घोषणापत्र बनाउने तयारीमा कांग्रेस लागेको छ । सस्तो लोकप्रियताको भ्रम नभइ बदलिएको समयको अपेक्षालाई सम्बोधन गर्ने गरी घोषणापत्र सार्वजनिक गरिने महामन्त्री शर्माले जानकारी दिनुभयो । जिम्मेवार सोच र भरोसा गर्न सकिने संकल्प तथा अठोटको प्रधानता सहितको घोषणापत्र बनाइने उहाँको भनाइ छ ।

त्यस्तै नेकपा एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि यो पटक विगतको भन्दा छोटो, बुँदागत र प्रस्ट चुनावी घोषणापत्र बनाउने भएको छ । साथै एमालेले आगामी ५ बर्षमा गर्नसक्ने काम र विषयलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । अघिल्लो पटकका घोषणा पत्रमा उल्लेखित विषयहरु भेग भएका र कार्यन्वायनमा आउन नसकेकाले यो पटक कार्यन्वायन गर्न सकिनेगरी घोषणापत्र ल्याउने एमालेका एक पदाधिकारीले बताए ।

एमालेले घोषणापत्र निर्माण गर्न अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ८ सदस्यीय ‘चुनावी घोषणापत्र मस्यौदा समिति’ गठन गरेको थियो । जसमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल तथा उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेका छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारलाइ घोषणा पत्रमा प्राथमिकताका साथ राखिने नेताहरुले बताएका छन् । अघिल्ला चुनावको घोषणापत्र समेत विश्लेषण गरेर कार्यान्वयन हुनसक्ने विषयलाई मात्र यो बर्ष समेट्ने तयारी भएको बताइएको छ । एमालेले पनि यस पटक सर्वसाधारणको समेत सुझाव लिएर घोषणापत्र निर्माणको काम भइरहेको जनाएको छ ।

नेकपा माओवादी केन्द्रले विभिन्न १२ क्षेत्रका विज्ञसँग अन्तरक्रिया गरी उनीहरुका सुझावका आधारमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र निर्माण गरिरहेको छ । घोषणापत्र यसै साता तयार हुने नेताहरुको भनाइ छ । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा बनेको समितिले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ । यसै हप्ताभित्र पार्टीको घोषणापत्र तयार गर्ने योजना रहेको पार्टी सचिव राम कार्कीले समाचार पत्रलाई जानकारी दिनुभयो ।

घोषणा पत्रमा जनजिवीकाका विषय बस्तुलाई उठाउने र कार्यन्वायन गर्न सक्नेगरी योजना बनाउने उहाँले बताउनुभयो । विभिन्न क्षेत्रका विषय विज्ञहरुसँग बसेर अन्तक्र्रिया भएको र तीनै सुझावलाई टिपोट गरेर घोषणापत्रमा समेट्ने तयारी हुँदै गरेको कार्कीको भनाइ छ ।

माओवादीले पनि यो पटकको घोषणापत्र छोटो र बुँदागत रुपमा जनताले बुझ्ने भाषामा तयार गर्ने र आफूले कार्यन्वायनका लागि सम्भव हुने विषयहरुलाई मात्रै घोषणापत्रमा समेट्ने तयारी गरेको छ । आगामी ५ वर्षमा माओवादीले देशलाई कहाँ पु¥याउने भन्ने विषयको रोडम्याप घोषणापत्रमा समेट्ने समितिका नेताहरु बताउँछन् ।

दलका घोषण पत्र निर्माण समितिको बैठकहरु बस्ने, विज्ञहरुसँग आवश्यक छलफल गर्ने, नागरिकस्तरबाट आएका सुझावहरुलाई लिएर त्यसैका आधारमा घोषणा पत्र बनाएपछि समस्या पहिचान हुने र कार्यन्वायन गर्न पनि सजिलो हुने दलहरुको बुझाइ छ ।

गत वर्षहरुमा जस्तै लोकप्रियता कमाउन घोषणा पत्रमा लेख्ने र कार्यन्वायन हुन नसक्दा जनतालाई निराश बनाउन्े पक्षमा आफूहरु नरहेको दलका नेताहरुले बताएका छन् । केही साना राजीतिक दलहरुले पनि घोषणा निर्माणका काम थालनि गरेको बताएका छन् ।