निर्वाचितले पनि बुझाएनन् खर्च विवरण

0
Shares

स्याङ्जा । गत स्थानीय तह निर्वाचनमा प्रमुख तथा उपप्रमुखको उम्मेदवार बनेका स्याङ्जाका ४१ जनाले अझै निर्वाचनको खर्च विवरण बुझाएका छैनन् । खर्च नबुझाउनेमा नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार रहेका १७ जना र गाउँपालिकाका २४ जना रहेका छन् ।

११ स्थानीय तह मध्ये भिरकोट नगरपालिका, चापाकोट नगरपालिका, विरुवा गाउँपालिका र हरिनास गाउँपालिकाका निर्वाचित प्रमुख र उपप्रमुखले पनि निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।

नेपाली कांग्रेसबाट निर्वाचित चापाकोट र भीरकोट नगरपालिकाका प्रमुख र उपप्रमुखले हालसम्म पनि आयोगमा खर्च विवरण बुझाएका छैनन् । यसैगरी नेकपा (एमाले)बाट निर्वाचित बिरुवा र हरीनाश गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि खर्च विवरण बुझाएका छैनन् ।

चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँण, उपप्रमुख इशा राना तथा भिरकोट नगरपालिका प्रमुख गोविन्द कुमार कर्माचार्य र उपप्रमुख भगवती रेग्मी अर्याल निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । निर्वाचित भएको ४ महिना पुग्न लाग्दा समेत उहाँहरुले खर्च विवरण बुझाउनु भएन । बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुँवर, उपाध्यक्ष भगवती शर्मा तथा हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर र उपाध्यक्ष इन्द्र कुमारी थापा रानाले पनि खर्च विवरण नबुझाएको देखिन्छ ।

निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन २०७९ को खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । आयोगले नामावलीसहित जरिवाना रकमसमेत उल्लेख गरेर खर्च विवरण नबुझाउनेको नाम सार्वजनिक गरेको हो । नगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई ४ लाख ५० हजार र गाउँपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवारलाई जनही ३ लाख ५० हजार रुपियाँ जरिवाना निर्वाचन आयोगले तोकेको छ ।

आयागका अनुसार वालिङ नगरपालिकाको प्रमुख पदका उम्मेदवार नित्यानन्द तिवारी, राजेन्द्रप्रसाद गैह्रे र उपप्रमुख पदका उम्मेवार जीन कुमार गुरुङले खर्च विवरण बुझाउनु भएको छैन । भीरकोट नगरपालिकाका प्रमुख पदका उम्मेदवार नर भुपाल दमाई तथा पुतलीबजार नगरपालिकाकी उप्रमुख पदकी उम्मेदवार आस्था नेपालीले पनि खर्च विवरण नबुझाएपछी जरिवानामा परेको आयोगले जनाएको छ ।

त्यसैगरी चापाकोट नगरपालिकाको प्रमुख पदका उम्मेदवार राजु कोइराला, उप्रमुख पदका उम्मेवार सृष्टि मल्ल र लिला कुमारी आलेले पनि आयोगले मागे अनुसारको खर्च विवरण बुझाउनुभएन् । गल्याङ नगरपालिकाको लागि प्रमुख पदका उम्मेदवार घनश्याम भट्टराई, हरिप्रसाद भण्डारी, उपप्रमुख पदका उम्मेदवार देवीसरा थापा, हेमा कुमार तराङ र पूर्णकला भट्टराईले पनि जनही ४ लाख ५० हजार जरिवाना तिर्नुपर्ने भएको छ ।

त्यसैगरी अर्जुन चौपारी गाउँपालिकाका अध्यक्षको उम्मेदवार होम बहादुर नेपाली, चिनमाया गुरुङ र उपाध्यक्ष पदका उम्मेदवार टंकप्रसाद खनाल, दुर्गा कुमारी बिक, एक नारायण काफ्लेले पनि निर्वाचन खर्च विवरण समयमा नबुझाएका कारण जरिवाना तिर्नुपर्ने भएको छ । उहाँहरुले जनही ३ लाख ५० हजार बुझाउनुपर्ने भएको छ ।

आँधिखोला गाउँपालिकाबाट अध्यक्षका उम्मेदवार बन्नुभएका प्रेमराज पौडेल, हरिप्रसाद ढकाल तथा उपाध्यक्ष पदका उम्मेदवार मीना देवी शर्मा (ढकाल) र मञ्जु गुरुङले पनि निर्वाचन खर्च नबुझाएको देखिन्छ ।

कालीगण्डकी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार विष्णु प्रसाद भट्टराई, दिलस थापा, उदय न्यौपाने तथा फेदीखोला गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार अर्जुन खत्री र उपाध्यक्षका उम्मेदवार ईश्वरी थापा कार्कीले पनि निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन् ।

यता बिरुवा गाउँपालिकाका अध्यक्षका उम्मेदवार डोलराज पोखरेल, हेमन्त थापा मगर र उपाध्यक्ष पदका उम्मेदवार साहाना थापाले पनि निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन् । यरैगरी हरिनास गाउँपालिकाका अध्यक्षका उम्मेदवार टोप बहादुर भुजेल, ऋषिराम लम्साल, रुद्र बहादुर थापा र उपाध्यक्ष पदका उम्मेदवार मिठु लम्सालले निर्वाचन खर्च विवरण बुझाउनु भएको छैन् ।