गोर्खालीलाई डेढ वर्षदेखि सञ्चारको हैरानी, फोन गर्न घण्टौँ हिड्नुपर्ने बाध्यता

0
Shares

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोर्खाली गाउँमा नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयले पैदल हिँडेर फोन सम्पर्क गर्ने गरेका छन् । टाढा–टाढा रहेका आफन्त, इष्टमित्रहरूसँग महत्वपूर्ण खबर आदान–प्रदान गर्न उनीहरूले डेढ घण्टा पैदल हिँडेर फोन सम्पर्क गर्ने गरेका हुन् ।

टेलिकमले मोबाइल नेटवर्कको लागि रिपिटर टावर निर्माण गरेको थियो । उक्त टावर निर्माण गरिएको दुई वर्ष नबित्दै समस्या आएपछि गोर्खाली फोन सम्पर्क गर्न डेढ घण्टा हिँड्ने गरेका छन् ।

रिपिटर निर्माण भएको झन्डै डेड वर्ष बितिसक्दा पनि पुनः निर्माणका लागि कुनै पहल गरिएको छैन । पुनर्निमानको पहल नहुँदा यहाँका स्थानीय सञ्चारविहीन भएका छन् । गोर्खाली गाउँमा मोबाइल नेटवर्कको कभरेज नहुँदा आसपासका गाउँहरू घर्तीवाडा, लामागडालगायतका स्थानीय बासिन्दा डेढ वर्षदेखि सञ्चारविहीन भएका हुन् ।

खप्तडछान्ना गाउँपालिका–७ का वडासदस्य गोविन्द बहादुर बोहराले भन्नुभयो, ‘हाम्रो गाउँमा घाम लागेपछि बिहान एक डेढ घण्टा जति मात्रै नेटवर्कले टिप्छ । नेटवर्कले टिपे पनि त्यति राम्रोसँग काम गर्दैन । कुरा नसुनिने बीचबीचमा आवाज काटिने समस्या देखिएको छ ।’

‘यी गाउँमा सञ्चारको सहज पहुँच नहुँदा स्थानीय विरामी वा अरू कुनै समस्यामा पर्दा सास्ती भोग्नुपर्छ, स्थानीय जयराम खड्का गुनासो गर्छन् ।’ उनी भन्छन्, ‘नेटवर्क मोबाइलमा देखिए पनि प्रष्ट र स्पष्ट ढंगले कुरा गर्ने हुँदैन । फेरी गोजीमा मोबाइल बोकेर एक डेढ घण्टा पैदल हिँडेर फोन गर्न डाँडामा उक्लिनुपर्छ ।’

दूरसञ्चार प्राधिकरण कार्यालय र स्थानीय सरकारलाई रिपिटर टावरको पुनर्निमाण गरिदिन बारम्बार आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयले नेपाल समाचारपत्रसँग गुनासो गरे ।

यस विषयमा कुराकानी गर्दा खप्तडछान्ना गाउँपालिका–७ का वडा अध्यक्ष रमानन्द्र जोशी भने वडाभरी नेटवर्कको समस्याबारे आफू जानकार रहेको र सञ्चालनका लागि दूरञ्चार कार्यालयमा खबर गरी तत्कालै समस्या समाधान गर्ने बताउँछन् ।

‘स्थानीयहरू र हामी मिलेर जलविद्युत् गृहबाट तार तानेर सञ्चालन गर्न खोज्यौँ, पावर पुगेन हामीले अब दस केभीको एभिआर मेसिन कम्पनीबाट मगाएका छौँ । अब दशैँभित्रै उक्त रिपिटर टावर सञ्चालनमा आउने बझाङ दूरसचार कार्यालयका प्रमुख बम बहादुर सिंहले आश्वासन दिए ।’