‘इन्दिरा धिमय् मैंचाँ’ चलचित्र बन्दै

0
Shares

काठमाडौं । नेपाल भाषाको पहिलो बायोपिक चलचित्र ‘ इन्दिरा धिमय् मैंचाँ’ बन्ने भएको छ । हिजो (सोमबार) भक्तपुरको कमल विनायकमा सो चलचित्रको शुभमूहर्त गरिएको छ । भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति र उपमेयर रजनी जोशीले संयुक्त रुपमा चलचित्रको शुभमुहुर्त गरेका छन् ।

बि.के. फिल्मको प्रस्तुतिको रुपमा रहेको सो चलचित्रको छायांङ्कन यही असोज १० गतेदेखि शुरु हुनेछ । सो फिल्म नेपालको पहिलो महिला धिमेय् वादक इन्दिरा लाछिमस्यूको जीवनमा आधारित रहेको छ । नेपालभाषा चलचित्रका अनुभवी एवं लोकप्रिय निर्देशक सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहेको चलचित्रमा धिमय् वादक लाछिमस्युको समेत अभिनय रहने छ ।

चलचित्रको निर्माण सुरेन्द्र शाक्य र सहनिर्माता प्रकाशदीप श्रेष्ठ, गंगादेवी मानन्धर, सरिना बज्राचार्य, रजना जोशी र प्रवीण भाम रहेका छन् । नील शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत रहेको सो चलचित्रमा गायक जुजुकाजी रंजित र बानिका प्रधानको स्वरले सुसज्जित रहने छ । त्यस्तै जिवित जल्मी, भुपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको छ ।

चलचित्रमा मुख्य भूमिकामा गणेशराम लाक्षी, आशाकाजी थकु, नगिना जोशी, रोजिना सुवाल, रुपेन श्रेष्ठ, देवचन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठको भूमिका रहने बुझिएको छ।सोहन मानन्धरको छायाँकंन रहने चलचित्रको मुख्य सहायक निर्देशक भोगेन्द्र मानन्धर र कार्यक्रम व्यवस्थापक सिताराम माकः रहेका छन् ।