कलाकर्मी र सञ्चारकर्मीलाई हरिप्रसाद कल्याणी रिमाल सम्मान र पुरस्कार

0
Shares

रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनको सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

स्व. हरिप्रासदको पूण्यतिथी पारेर जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजित कार्यक्रममा २०७७ र ०७८ साल गरी दुई वर्षको विविध विधामा सम्मान र पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा २०७७ को हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवाबाट रेडियो पत्रकार तथा गायिका नुपूर भट्टचार्य, हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारबाट गायिका ज्ञानु राणा, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मानबाट रंगकर्मी सुनील पोखरेल र हरिप्रसाद कल्याणी रिमाल विशेष सञ्चारसेवा सम्मानबाट पत्रकार राजेन्द्र बानियाँ सम्मानित भएका छन्।

त्यस्तै, २०७८ को हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सञ्चारकर्मी धन लामा, हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारबाट नाट्यकर्मी महेन्द्र मलेगिया, हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मानबाट नाट्यकर्मी तथा निर्देशक प्रभाकर शर्मा, हरिप्रसाद कल्याणी रिमाल विशेष सञ्चारसेवाबाट नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरी सम्मानित भएका छन्।

कार्यक्रममा प्रमुख अतिथि जनगायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायण भक्त श्रेष्ठ (रायन), सस्थाकी संरक्षीका कल्याणी रिमाल, कार्यक्रमका सभापति तथा साहित्यकार वासुदेव त्रिपाठीलगायतले कलाकर्मी तथा सञ्चारकर्मीलाई सम्मान र पुरस्कार प्रदान गरेका थिए। हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा र हरिप्रसाद रिमाल नाट्य संगीत पुरस्कारको राशि ३१ हजार एक सय एघार रुपियाँ तथा हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मान र हरिप्रसाद कल्याणी रिमाल विषेश सञ्चार सेवा सम्मानको राशी २१ हजार एक सय एघार रुपियाँ रहेको छ।

समारोहमा बोल्दै प्रा.डा. प्रयागराज भट्टराई वाशिष्ठले हरिप्रसाद रिमालको निवास कलाको मन्दिर भएको चर्चा गर्दै उनको बारे भावी पुस्तालाई चिनाउन र नाट्य कला तथा सञ्चारका क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई हौसला प्रदान गर्ने योजनाअनुरूप हरिप्रसाद र कल्याणी रिमालले प्राप्त गरेका पुरस्कारबाट आर्जित दश लाख रुपियाँको अक्षयकोष स्थापना गरी वार्षिक रूपमा प्राप्त ब्याज तथा नपुग रकम कल्याणीबाट ब्यहोर्दै सम्मान र पुरस्कार प्रदान गर्दै आइरहेको बताए।

प्रमुख अतिथि तथा जनगायक रायनले हरिप्रसासँग रेडियो नेपालमा सहकार्य गर्दाको समय स्मरण गर्दै २०२३ सालमा राल्फा आन्दोलन शुरु गरेपछि रेडियो नेपालबाट अलग भएर जनताको गायकको रूपमा गीत गाउन हिँडेको खुलाए। गायिका ज्ञानु राणाले हरिप्रसादको बिना बादल असिना पर्दैन बोलको गीत गुनगुनाउँदै रेडियोमा गीत गाउन जाँदा हरिप्रसादसँग भेट भइरहने स्मरण सुनाइन्। ‘तपाईलाई त अभिनय भन्दा पनि गीत राम्रो गाउनुहुँदो रहेछ गायनलाई नै निरन्तरता दिनुहोस् भन्थें।

उहाँले गायन मेरो शोख मात्र हो तिमीहरू गाऊ न भन्नुहुन्थ्यो। त्यस्तै, कल्याणी भाउजुको समाचार वाचन सबैको भन्दा राम्रो लाग्थ्यो। आज उहाँहरूकै नामको सम्मान पाउँदा गायनमा अझै ऊर्जा र हौसला मिलेको छ’ गायिका राणाको भनाइ थियो।मैथली नाट्यकर्मी तथा निर्देशक महेन्द्र मलेगियाले मैथली नाट्य क्षेत्रलाई आजको स्थानसम्म ल्याउनका लागि आफूले गरेका संघर्षबारे चर्चा गर्दै आफू पुरस्कृत हुने खबरले अचम्मित भएको बताए।

पत्रकार राजनेन्द्र बानियाँले डाक्टर बन्ने लक्ष्यका साथ एसएलसीपछि विज्ञान पढे पनि फेल भएका कारण रेडियोकर्मीको रूपमा सञ्चार क्षेत्रमा प्रवेश गरेको स्मरण सुनाए। समारोहमा बोल्दै नाट्यकर्मी तथा निर्देशक प्रभाकर शर्माले आफू वर्तमान अवस्थासम्म आउनुमा हरिप्रसादकै देन रहेको बतँए। कार्यक्रमका सभापति प्र.डा. वासुदेव त्रिपाठीले हरिप्रसाद सभ्यता र संस्कृतिको आधुनिक युगको निर्मँता रहेको तथा नाट्य र रंगमञ्चसँँगै गायन क्षेत्रमा पनि उनको उत्तिकै योगदान रहेको चर्चा गरे।

प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता सम्राट सापकोटाले सञ्चालन गरेको कार्यक्रममा रंगकर्मी वीरेन्द्र हमालको निर्देशनमा नाचघरका २८औं ब्याचका विद्यँर्थीले अडियो भिडियोका साथै हरिप्रसादले अभिनय गरेका नाटकका विभिन्न अंशलाई प्रत्यक्षरूपमा अभिनय गरेर प्र्र्रस्तुत गरी उनको जीवनीबारे प्रकाश पारेका थिए।