आफ्नो गीतमा नाच्ने हेटौंडाकी बालिका भेट्ने रश्मिकाको चाहना

0
Shares

हेटौंडा ।

बलिउडको सुपरहिट फिल्म पुष्पाकी नायिका तथा दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाले आफ्नो गीतमा नृत्य गर्ने नेपाली बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी छन्।

रश्मिकाले आफू अभिनित पुष्पाको सामीसामी गीतमा आकर्षक नृत्य गरेकी हेटौंडा-९ की बालिकालाई भेट्ने इच्छा व्यक्त गरेकी हुन्। हेटौंडाकी बारिशा क्षेत्रीले नाचेको भिडियो टिकटकमा भाइरल भएपछि अभिनेत्री रश्मिकाले सामाजिक सञ्जाल ट्विटर ह्यान्डलमार्फत् उनलाई भेटने इच्छा व्यक्त गरेकी हुन्। क्षेत्री आफ्नो घरनजिक सिमेन्ट रोडस्थित रस्सल एकेडेमीमा अध्ययनरत छिन्।

बालिकाले नाचेको भिडियो सोही विद्यालयका एक शिक्षकले अपलोड गरेपछि उनी एकाएक चर्चामा आएको थिइन्। उनको भिडियो चर्चामा आएपछि सामीसामीमा ती बालिकाले नाचेको भिडियो सेयर गर्दै मन्दानाले लेखेकी छन्। ञम यी प्यारीलाई भेट्न चाहन्छु। म कसरी उनीसँग भेट गर्नसक्छु? आफ्नो गीतमा नृत्य गर्ने हेटौंडेली बालिकासँग रश्मिकाको भेट्ने सपना साकार हुन्छ वा हुँदैन, त्यो भने हेर्न बाँकी छ।

विद्यालयको एक अतिरिक्त क्रियाकलापमा उक्त गीतमा क्षेत्रीले नृत्य गरेको मन परेकाले विद्यालयकी एक शिक्षकले करिब ६ महिनाअघिको उक्त भिडियो केही दिनअघि मात्र टिकटकमा अपलोड गरेपछि बालिकाको नृत्य शैलीलाई लिएर लाखौँले प्रशंसा गरेका छन्। उक्त भिडियो सोही विद्यालकी शिक्षक रोशनी कार्कीले कैद गरेकी थिइन्। उनले पाँच दिनअघि टिकटक अकाउन्टमा भिडियो पोस्ट गरेकी थिइन्। रश्मिकाले हेरेपछि सेयर गर्दै भेट्ने इच्छा व्यक्त गरेकी हुन्। उक्त भिडियो हालसम्म ३८ लाख बढीले हेरेका छन्।

ती बालिकाको शारीरिक रूपमा तौल केही बढी भए पनि उनले जुन हाउभाउ र अन्दाजमा नृत्य गरेकी छन्, त्यसले धेरैको ध्यान खिचेको छ। गीतमा यसअघि लाखौंको संख्यामा नेपालीले टिकटक बनाइसकेका छन्। तर, ती बालिकाले रश्मिकाको नृत्यशैली आफ्नै अन्दाजमा टिपेकी छन्, जुन रोचक लाग्छ। त्यसैले पनि उनले नाचेको भिडियो सर्वाधिक रुचाइएको छ। ती बालिकामा नृत्यको गुण देखिन्छ।

मन्दनाले नेपाली फिल्मका एक चर्चित नायकसँग एक बलिउड फिल्ममा एकसाथ काम गर्दैछिन्। उनको मुख्य भूमिका रहेको बलिउड फिल्म एनिमलमा नेपाली अभिनेता विपिन कार्कीले अभिनय गर्दैछन्। रश्मिका नेपालमा पनि धेरै युवाको रोजाइ बनेकी छन्।