स्वर साम्राज्ञीको सम्झना

0
Shares

नेवाः साधना कला केन्द्रको आयोजनामा स्वर साम्राज्ञी अरुणा लामाको सम्झना राजधानीमा अरुणा लामा सम्झना साँझ २०७९ सम्पन्न भएको छ।

गायिका लामाप्रति श्रद्धाञ्जलिस्वरूप गरिएको कार्यक्रममा विभिन्न एक दर्जन गायक–गायिकाले अरुणा लामाले गाएका गीत प्रत्यक्ष रूपमा गाएर सुनाएका थिए। कार्यक्रममा आयोजक केन्द्रका सचिव रोजी श्रेष्ठ, सरिता शाही, कल्पना श्रेष्ठ, रोजी श्रेष्ठ, प्रतिमा बज्राचार्य, शुद्धलक्ष्मी श्रेष्ठ, एन्जिला सिंह, सूर्यलक्ष्मी भोमी, लजना मानन्धरलगायतका गायिकाले गायिका लामाका गीत प्रस्तुत गरेका थिए। त्यसै गरी गायक किशोर शाही, धर्म मानन्धरलगायतले पनि गीत प्रस्तुत गरेका थिए। उनीहरूले चौतारीमा बसेर, एक्लै बस्दा, भेटिनु छुटिनु, उदास मेरो, चौतारीमा बसेर पोहोर साल, सबैले भन्थे, फूललाई सम्झे, यति धेरै माया दिए, हेर न हेर कान्छालगायतका गीत गाएर अरुणालाई पुनः सम्झाएका थिए।

आयोजक केन्द्रका संरक्षक सुन्दरमान श्रेष्ठ (बागमती भाइ) को सभापतित्वमा सम्पन्न कार्यक्रममा संगीतकार अमरराज शर्मा र राजु अग्रवाललाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रकाश सायमी, अमरराज शर्मा, पौभा सायमी, विश्व बल्लभ, सरोज आचार्य, रमेशानन्द वैद्यलगायतले गायिका लामाका साथै गीत–संगीतका विविध विषयमा चर्चा गरे। अरुणा लामाको निधनको दिन पारेर उनको सम्झनामा कार्यक्रम गरेको कार्यक्रम आयोजक संस्थाका संरक्षक बागमती भाइले बताए।