अब मधेस प्रदेशको आफ्नै विश्वविद्यालय !



वीरगन्ज । वीरगन्जमा विश्वविद्यालय स्थापना हुनु पर्ने वीरगन्जवासीको झण्डै साढे दुइृ दशक देखिको चाहना पूरा भएको छ । मधेश प्रदेश सरकारले वीरगन्जमा मधेश विश्वविद्यालयको स्थापना गरेसँगै वीरगन्जवासीको त्यो चाहना पूरा भएको हो ।

वीरगन्जमा विश्वविधालय स्थापनाका लागि २०५४ सालदेखि नै वीरगन्जवासीले अनवरत प्रयास गर्दै आएका थिए । २०६३ सालमा वीरगन्ज विश्वविधालय स्थापना र सन्चालनका लागि यहाँका स्थानीय सरकार, संघसंस्था र शिक्षाप्रेमीले रकम संकलन पनि गरेका थिए ।

तर, सरकारले अनुमति नदिँदा विश्वविधालय स्थापना र सन्चालन गर्ने वीरगन्जवासीको चाहना पूरा हुन सकेको थिएन । अहिले भने मधेस प्रदेश सरकारले वीरगन्जमा मधेश विश्वविद्यालय स्थापना गरेको हो ।

बुधबार एक कार्यक्रमको आयोजना गरी मधेश विश्वविद्यालयको उद्घाटन पनि गरिएको छ । पूर्व उपप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मधेश विश्वविधालयको उद्घाटन गर्नुभएको हो ।

वीरगन्जको श्रीपुरस्थित नेशनल ट्रेडिङको भवनमा मधेश विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । उक्त विश्वविद्यालयको उपकुलपति वीरगन्जकै प्रा.डा. दीपक शाक्यलाई नियुक्त गरिएको छ ।

विश्वविद्यालयको भवन करिब १ सय बिघा जग्गामा निर्माण गरिने र त्यसका लागि जग्गाको खोजी भइरहेको उपकुलपति शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्