निशा घिमिरे पुरस्कार र सम्मान प्रदान

0
Shares

निशा घिमिरे स्मृति कोषले सोमबार राजधानीमा निशा घिमिरे स्मृति पुरस्कार र सम्मान समारोह आयोजना गरेको छ।
भारतमा सवारी दुर्घटनामा परी लामो सयमसम्म नेपालमा जीवन र मृत्युसँग जुध्दै केही समय नर्भिक अस्तालमा निःशुल्क स्वास्थ्य उपचार पाएर पनि पुनः जीवन पाउन नसकेकी मोडल तथा अभिनेत्री स्व. निशा घिमिरेको नाममा स्थापित निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री कोरियोग्राफर तथा मोडल पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गरिएको छ।

पुरस्कारको राशी जनही २५ हजार रुपियाँ रहेको छ। निशा घिमिरे स्मृति कोषका संयोजक दुर्गानाथ दाहालको सभापतित्वमा सम्पन्न समारोहमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई निशा घिमिरे स्मृति सम्ममानबाट सम्मानित गरिएको छ। निशा घिमिरेको उपचारार्थ सहयोग र व्यवस्थापन गरेकोमा उनीहरूलाई सम्मान गरिएको कोषले जनाएको छ।

कोषका सदस्य सचिव मोहन निरौलाले स्वागत भाषण गरेको समारोहमा प्रथम नायिका भुवन चन्द, अभिनेत्री मिथिला शर्मा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, फिल्मकर्मी लय संग्रौला, सञ्चारकर्मी शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठलगायतले पुरस्कार र सम्मान प्रदान गरेका थिए। कार्यक्रममा ड्रेस डिजाइनर उद्धव भट्टराईको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो भने कोषका सदस्य सचिव मोहन निरौलाले उद्धव भट्टराईको परिवारलाई कोषबाट १० हजार रुपियाँ सहयोग प्रदान गरिने घोषणा गरे।