पङ्क्तिकार विगत २९ वर्षदेखि उच्च रक्तचापसँगसँगै सक्रिय जीवनयापन गरिरहेको एक ज्येष्ठ नागरिक हो । उच्च रक्तचाप अहिले करिब घरघरकै समस्या बनिसकेको परिप्रेक्ष्यमा आफ्ना अनुभव पाठकहरुसमक्ष बाँड्नु उचित हुने देखेर यसबारे केही लेख्ने जमर्को गरेको छु ।
उच्च रक्तचापसँग पहिलो जम्काभेट
कुरा २०५१ साल वैशाखको हो । त्यतिखेर मेरो ८३ वर्षीय पिताजी उमेरजन्य कारणले केही बिरामी हुनुहुन्थ्यो । उहाँलाई हेर्न मेरो दिदी (वीर अस्पतालको मेट्रोन) आउनुभएको थियो । पिताजीका साथै कोठामा बसेका अरुको पनि उहाँले रक्तचाप जाँचिदिनुभयो । मलाई पनि जाँच्न भनियो तर म कोठामा बसेर केही पढिरहेकोले रक्तचाप जाँच्न अघि सरिन ।
दिदीलगायत सबैले कर गरेपछि मैले पनि हात पसारेँ । दिदीले अरु सबैको एउटा हातमा मात्र रक्तचाप नाप्नुभएको थियो तर मेरो भने दुवै हातमा नाप्नुभयो । सबैले त्यसबारे दिदीलाई सोधे, मलाई पनि अनौठो लाग्यो । मैले ख्याल गरेर भनेँ– ‘दिदीले मलाई धेरै माया गरेको नि !’ तर दिदीले अलि गम्भीर भएर भन्नुभयो– ‘बाबु ! तिम्रो प्रेसर त हाई छ, छिट्टै डाक्टर जँचाइहाल, नुन खान आजैदेखि छोडिहाल्नू ।’
दिदीको कुराले हामी सबै छक्क प-यौं । दिदीले भने अनुसार त्यतिखेर मेरो प्रेसर १६०-१०० रहेछ । मैले केही दिनअघिदेखि टाउको भारी भएको महसुस त गरेको थिएँ तर त्यसलाई गम्भीरतापूर्वक लिएको थिइन । त्यतिखेर मेरो उमेर ३७ वर्ष थियो । यसरी ख्यालख्यालमै जँचाउँदा जम्काभेट भएको उच्च रक्तचापले त्यसपछि मेरो साथ अहिलेसम्म छोडेको छैन र मलाई विश्वास छ कि म बाँचुन्जेल छोड्ने छैन ।
त्योभन्दा करिब ११ वर्षपहिले एकपटक म रक्तदान गर्न अघि सर्दा मेरो रक्तचाप जाँचेर ‘तपाईंको प्रेसर लो छ, तपाईंले रक्तदान गर्न मिल्दैन’ भनेर मलाई रक्तदान गर्न अयोग्य ठह-याइएको थियो । त्यस आधारमा मैले त आफ्नो रक्तचाप न्यून छ भन्ने नै ठानिरहेको थिएँ । यसबाट के बुझ्नुपर्ने हुन्छ भने,
एकपटक रक्तचाप न्यून भएको मानिसलाई पछि रक्तचाप उच्च पनि हुन जाँदो रहेछ ।
यसै गरी पहिला उच्च भएको रक्तचाप पछि न्यून पनि नहोला भन्न सकिँदैन । न्यून छ कि उच्च छ भन्ने तथ्य रक्तचाप नजाँचीकन थाहा नहुने रहेछ । यसरी पहिला न्यून र पछि उच्च रक्तचाप भएकोले म रक्तदान गर्न सधैँ नै अयोग्य रहेँ ।
उपचारको सिलसिला
रक्तचाप देखिएपछि बाध्यतावश उपचारको सिलसिला शुरु भयो । मेरो निकट सम्पर्क रहेका प्रतिष्ठित डा. थिरमान शाक्यसँग जँचाएँ । उहाँले पनि रक्तचाप जाँचेर ‘औषधि खानुपर्छ, रिक्स लिनुहुँदैन, म एउटा माइल्ड औषधि लेखिदिन्छु, केही दिन त्यो खाएर हेरौं’ भन्नुभयो र औषधि (Envas 5 tab.) लेखिदिनुभयो । दुई हप्तापछि फेरि रक्तचाप जाँच्दा डा. शाक्य सन्तुष्ट हुनुभएन र मुटुरोग विशेषज्ञसँगै जँचाउन सल्लाह दिनुभयो । त्यसपछि क्रमशः वीर अस्पताल, गंगालाल, काठमाडौं मेडिकल कलेज, ग्रान्डी टोखा र विभिन्न मुटुरोग विशेषज्ञका निजी क्लिनिक हुँदै अहिले म नर्भिक अस्पतालमा मुटुरोग विशेषज्ञ डा. यादव भट्टको शरणमा आइपुगेको छु ।
यसबीचमा मैले उच्च रक्तचापका लागि भनेर करिब १५ किसिमका विभिन्न औषधिहरुको सेवन गरिसकें । तर मेरो रक्तचाप ठ्याक्कै नर्मल भने कहिल्यै पनि भएको छैन । औषधिको कुरा गर्दा, मेरो एउटा रोचक अनुभव पनि छ । हामीले सामाजिक सेवाको सन्दर्भमा सञ्चालन गरेको निःशुल्क चिकित्सालयमा सेवा दिने मेरा एक स्वास्थ्य सहायक मित्र थिए । उनको मुख्य काम वीर अस्पतालको नाक, कान, घाँटी विभागमा थियो भने साँझ हाम्रो सामाजिक संस्थामा बिरामी जाँच्थे ।
मेरो रक्तचापबारे गफगाफकै सन्दर्भमा उनले मलाई अम्टास एटी (Amtas AT) ट्याबलेट खाने सल्लाह दिए । दुई थरी औषधिको मिश्रण रहेको यो औषधि मेरो लागि उपयुक्त हुन सक्छ भन्ने उनको सुझाव थियो । उनको सुझावलाई मैले स्वीकार गरेँ । नभन्दै त्यो औषधिले मलाई फाइदा ग¥यो । त्यसपछि मैले कैयौं मुटुरोग विशेषज्ञहरुलाई जँचाएँ । सबैले औषधिमा केही न केही फेरबदल गर्थे नै । तर आजसम्म त्यो एमटास एटी ट्याबलेटलाई भने कुनै डक्टरले पनि मेरो प्रेस्क्रिप्सनबाट हटाएका छैनन् । मलाई अनौठो लागेको कुराचाहिँ नाक, कान, घाँटी विभाग (अर्थात् असम्बन्धित विभाग) मा काम गर्ने एक स्वास्थ्य सहायकले उच्च रक्तचापका लागि सिफारिस गरेको औषधि यति अकाट्य पनि हुन सक्दो रहेछ । शायद अनुभवको महत्व भनेको यही होला ।
भ्रम र यथार्थ
प्रायः सबैजसो डाक्टरहरुले वयष्क मानिसको रक्तचाप १२०-८० हुनुपर्छ, त्यसभन्दा बढी–घटी भयो भने असामान्य हो भन्छन् । तर यो अर्धसत्य कुरो मात्र हो । रक्तचापको मापदण्ड डाक्टरहरुले पढेका चिकित्सा विज्ञानका मोटा किताबमा उल्लेख भएजस्तो औसत सूत्रमा हुँदैन । रक्तचाप प्रत्येक व्यक्तिको शरीरको प्रकृति, ऊ जन्मेको, हुर्केको, बसोबास गरेको स्थानको हावापानी, तत्कालको मौसम, खानपिन, मनस्थिति, पेसा व्यवसाय, कार्यव्यस्तता, वंशाणुगत लक्षण, अन्य बिमारी र औषधिहरुको प्रभाव, रजश्वला भएको अवस्था, गर्भवती अवस्था आदि धेरै कुरामा भर पर्दछ । गर्मी याममा भन्दा जाडो याममा रक्तचाप केही बढ्नु सामान्य कुरा हो ।
पसिना र पिसाब प्रशस्त मात्रामा बाहिर निस्केको छ भने रक्तचाप घट्न जान्छ । मेरो आफ्नै कुरा गर्ने हो भने, १३०-९० मेरो लागि सामान्य रक्तचाप रहेछ, जुन कुरा मलाई धेरै पछि मात्र थाहा भयो । नत्र डाक्टरहरुले १२०-८० कै रटान लगाइरहेका थिए । मेरो एकजना मित्रको ११०-७० नै नर्मल प्रेसर हुने गरेको २० वर्षजति भयो । त्यसैले कसैले पनि आफ्नो रक्तचाप १२०-८० भन्दा केही फरक हुँदैमा चिन्ता गर्नुपर्दैन । यसमा चिन्ता गर्न थाले त्यही चिन्ताले रक्तचाप झन् बढाइदिन्छ । तसर्थ सर्वप्रथम आफ्नो शरीरको प्रकृति बुझ्नुपर्दो रहेछ । कतिसम्म रक्तचाप हुँदा आफूलाई रक्तचापको कुनै लक्षण महसुस हुँदैन, कति पुगेपछि हुन्छ, त्यो पत्ता लगाउन सकिन्छ । यसका लागि केही समयसम्म रक्तचापको नियमित निगरानी (मोनिटर) गर्नुपर्दछ ।
खानपिनको पिरलो
रक्तचाप र खानपिनको गहिरो सम्बन्ध छ । कतिपय खानपिनले रक्तचाप बढाइदिन्छ भने कतिपयले घटाउँछ । कहिलेकाहीँ मात्र खाइने खानेकुरामा धेरै चिन्ता गर्नुपर्दैन तर दिनहुँ खाने नियमित खानपिनमा भने निकै विचार पु¥याउनुपर्दछ । उच्च रक्तचाप भएका मानिसहरुको सबैभन्दा ठूलो दुश्मन भनेको नुन हो । त्यसैले रक्तचाप बढ्न थालेको थाहा पाउनासाथ खानामा नुनको मात्रा घटाइहाल्नुपर्दछ । दाल, तरकारीमा नुन निकै कम हाल्नुपर्छ । निकै कम भनेको कति भन्ने प्रश्न हुन सक्छ, यसको सजिलो उत्तर उच्च रक्तचाप भएको मानिसले खाने दाल, तरकारी अरु सामान्य मानिसका लागि अलिनो लागोस् र उनीहरुले केही नुन थपेर खान सक्छन् वा नुन हाल्नुअगावै नुन नहाली छुट्याउन सकिन्छ ।
खुला नुन जस्तै उसिनेको अण्डा, काँक्रो, फलफूल खाँदा छरेर खाने चलन छ, त्यो रक्तचाप उच्च भएकाहरुका लागि पटक्कै हुँदैन । यस्तै अर्को होस पु¥याउनुपर्ने खाद्यतत्व हो चिल्लो । नियमित खानामा चिल्लो नहोस् तर कहिलेकाहीँ अलिकति गुणस्तरीय चिल्लो परेमा चिन्ता गर्नुपर्दैन । त्यस्तै धेरै कडा पीरो, अमिलो पनि हानिकारक नै हुन्छ । तर कहिलेकाहीँ हरियो खुर्सानीको स्वाद लिन, लप्सी, अमला, कागती आदिको अचार चाखेर जिब्रो पड्काउन डराउनुपर्दैन, तर कहिलेकाहीँ मात्र । खानपिनको कुरा गर्दा सधैँ उठ्ने अहम् सवाल माछा–मासुको हो । कतिपय डाक्टरहरु रक्तचाप उच्च भएका मानिसलाई शाकाहारी नै बन्ने सल्लाह दिन्छन् । यसरी जबर्जस्ती शाकाहारी बन्नु जरुरी छैन ।
किनकि आजीवन माछा–मासु नखाएका व्यक्तिहरुमा पनि उच्च रक्तचापको समस्या पाइएको छ । तर उच्च रक्तचाप देखिएपछि रातो मासु (खसी, बोका, राँगा आदि) को मात्रा भने उल्लेखनीय रुपमा घटाउनुपर्दछ । यद्यपि हाम्रो समाजमा अरु बेला सके पनि दशैंको बेलामा खसी–बोकाको मासु खान नपाएमा चाड नै खल्लो महसुस हुन्छ । यस्तो अवस्थामा सीमित मात्रामा खसी–बोकाको मासु, त्यो पनि नुन, चिल्लो, पीरो नगण्य मात्र हालेर खान सकिन्छ । यसरी मासु खाएको बेलामा कोलेस्ट्रोल बढ्न नदिने औषधि खान भने बिर्सनुहुँदैन । मैले दशैंको केही दिनमात्र खसीको मासु खाने गरेको २८ वर्षजति भयो । कुखुरा, माछा आदि अघि–पछि पनि खान सकिन्छ तर नुन, चिल्लो, पीरोको स्वाद नआउने गरी पकाइएको होस् ।
खानपिनको अर्को महत्वपूर्ण पक्ष छ मदिरा । उच्च रक्तचाप देखिएर औषधि खान थालेपछि दिनहुँ मदिरा सेवन गर्नु आफ्नो काललाई आफैंले छिटो निम्त्याउनु हो । तर सामाजिक जमघटमा मात्र अत्यन्त सीमित मात्रामा गुणस्तरीय मदिरा सेवन गर्न सकिन्छ । सीमित मात्रा भनेको कति ? यो व्यक्ति विशेषमा भर पर्ने विषय हो । यसको सामान्य उत्तर रक्तचाप उच्च भएको मानिसले कहिलेकाहीँ हुने सामाजिक जमघटमा त्यति मात्र मदिरा सेवन गरोस्, जति गर्दा उसलाई अलि–अलि लागेको महसुस होस् तर उभिनै नसक्ने वा बोली लरबरिने गरी मात नलागोस् । यसरी मदिरा पिउँदा नुन, चिल्लो, पीरोरहित सितन र पर्याप्त मात्रामा पानी पिउन भने बिर्सनुहुँदैन ।
उच्च रक्तचाप भएकाहरुका लागि स्याउ, एभोकाडो, सुन्तला, मेवा, नासपाती, केरा, आँप आदि फलफूल बढी फाइदाजनक हुन्छ । तर यी सबै हरेक दिन खाने होइन, कहिले कुनै, कहिले कुनै खाने हो । फलफूल खाँदा रक्तचापका साथै अरु समस्या पनि छ कि त्यो विचार गर्नुपर्छ । जस्तै मधुमेह छ भने आँप खानु भएन, मिर्गौलामा समस्या देखिएको छ भने केरा खानुहुँदैन ।
कागती, अमला, चुकन्दर, गाजर, रातो मूला, काँक्रो, गेडागुडी, हरियो तरकारी, काँचो लसुन, काँचो प्याज आदि उच्च रक्तचापका साथै अरु धेरै समस्यामा फाइदाजनक हुन्छन् । रक्तचाप भएकाहरुले एक–दुई दिनको अन्तरालमा खानै पर्ने वस्तु तीते करेला हो । किनकि तीते करेलाको तीतोले रक्तचाप घटाउँछ । तर यो पनि हरेक दिन खानुहुँदैन, किनकि अत्यधिक तीतो सेवनले मिर्गौलालाई असर गर्दछ । हरेक दिन बिहानदेखि बेलुकासम्ममा कम्तीमा दुई लिटर शुद्ध पानी पिउनु अनिवार्य छ । चिया, कफीको हकमा सकेसम्म कम पिउनु उचित हो । कफीले रक्तचाप बढाउँछ भन्ने आमधारणा छ । तर यो पनि व्यक्ति विशेषमा भर पर्दछ । हरेक दिन कफी पिउने बानी परिसकेका चिसो ठाउँका बासिन्दाहरु, पश्चिमी मुलुकका मानिसहरुलाई बानी परिसकेकोले कफीले रक्तचाप बढाउँदैन । तर कहिलेकाहीँ मात्र कफी पिउनेहरुलाई भने बढाउन सक्छ । मलाई भने चार–पाँच दिनसम्म लगातार दिनको एक कपमात्र कफी पिएँ भने पनि रक्तचाप स्वतः वृद्धि हुने गरेको पाएको छु ।
जीवन शैलीका कुरा
हुन त स्वस्थ जीवनका लागि स्वस्थ दैनिक जीवन शैली सबैका लागि आवश्यक छ । उच्च रक्तचाप देखिएपछि त्यसको दुष्प्रभावबाट बच्न दैनिक जीवन शैलीमा केही विचार गर्नै पर्ने हुन्छ र त्यो पनि स्थायी रुपमा । बिहान उठेदेखि राति नसुतेसम्मको दिनचर्यालाई अनुशासित, व्यवस्थित र नियमित गर्नै पर्छ । सामान्यतया राति १० बजे सुत्ने र बिहान ५ बजे उठ्ने बानी उत्तम हो । बिहान उठेर शौचालय कर्म सकेपछि एक गिलास मनतातो पानी पिउने, हल्का व्यायाम वा योगासन गर्ने, ध्यान, प्राणायाम गर्ने बानी बसाल्नु धेरै लाभदायक हुन्छ । त्यसपछि एक गिलास ग्रिन टी पिएर प्रातः भ्रमणमा निस्कनु उत्तम हो । भ्रमणमा जान–आउन गरेर करिब एक घण्टा समय दिनु उचित हुन्छ । हिँड्दा धेरै बिस्तारै पनि होइन, दौडने पनि होइन, फटाफट हिँड्ने हो, जसले गर्दा शरीर तातेर केही पसिना आओस् ।
प्रातः भ्रमणका लागि सकेसम्म शान्त वातावरण भएको स्थान छान्नुपर्छ, सवारीसाधनहरुको कर्कश आवाज होइन, चराचुरुङ्गीहरुको आवाज सुनिने ठाउँ होस् भनिन्छ । भ्रमणबाट फर्किएपछि स्नान गर्नु उचित हुन्छ, किनकि यसले पसिना पखाल्नुका साथै शरीरलाई शीतल गरी रक्तचापलाई सन्तुलित राख्छ । स्नानपछि बिहानको खाजा (ब्रेकफास्ट) लिनुपर्छ । दिनभर आफ्नो पेसा, व्यवसायमा सक्रिय रहने, सम्भव भएसम्म तनावबाट मुक्त रहने र मिलेसम्म हाँसखेल, ठट्टामा रमाउने बानी हुनुपर्दछ । जहाँसम्म तनावको कुरो छ, यो अलि जटिल छ । तनाव नलिनु भन्न त सजिलो छ तर कसैले भन्दैमा तनावबाट मुक्त हुन सकिँदैन । यदि कुनै कारणवश तनाव भएको छ भने त्यसको मूल कारणमा पुगी समस्या समाधान गरेर मात्र तनावबाट वास्तविक मुक्ति पाउन सकिन्छ । अन्यथा, तनाव लिन्न भन्दै त्यही तनावलाई सम्झिँदै गरेमा रक्तचाप बढ्दै जान्छ ।
यतिमात्र होइन, तनावले गर्दा खाना रुचि हुँदैन भने राति निद्रा पर्दैन, यो दुवै अवस्था रक्तचाप बढाउने कारण हुन् । रातको निद्रा पूरा भएन भने पनि रक्तचाप बढ्छ । अतः राति करिब सात घण्टा राम्रोसँग निदाउनै पर्दछ । सुमधुर संगीत र रोचक साहित्यले रक्तचापमा औषधिको काम गर्छ । त्यसैले हरेक दिन उपयुक्त समयमा केहीबेर सुमधुर संगीत सुन्ने र रोचक साहित्य अध्ययन गर्ने बानी बसाल्नु धेरै उचित हुन्छ । तर ठूलो स्वरमा हल्लाखल्ला हुने संगीत र तर्साउने वा विषादपूर्ण साहित्यको अध्ययनले भने रक्तचाप झन् बढाउने काम गर्दछ ।
दिनचर्यामा बगैँचा, करेसाबारी, कौसी खेती, गमला, एक्वारियममा माछापालन आदि कार्यमा केही समय बिताउनु रक्तचाप भएका मानिसहरुका लागि अत्यन्तै रोचक र फाइदाजनक हुन्छ । ध्यान दिनै पर्ने अर्को महत्वपूर्ण कुरा, रक्तचाप बढ्न थालेपछि शरीरको तौल बढ्न दिनुहुँदैन । तर त्यसका लागि भोकभोकै बसेर होइन, जीवन शैलीबाटै तौल नियन्त्रण गर्न सकिन्छ । अन्त्यमा, उच्च रक्तचाप आफैंमा कुनै रोग होइन, शरीरमा रक्तसञ्चार हुँदा रक्तनलीमा उत्पन्न हुने चाप नै रक्तचाप हो । यो कुनै भाइरस वा ब्याक्टेरियाबाट आउने रोग होइन । त्यसैले उच्च रक्तचाप भएका मानिसहरुले आफूलाई रोगी, बिरामी मान्नु र अरुले पनि त्यस्तै ठान्नु महाभूल हो ।
रक्तचापलाई व्यवस्थापन गर्ने हो, यसलाई पूर्णतया निषेध गर्छु भनेर रातदिन त्यसैमा डुबिरहनु बुद्धिमानी हुँदैन । उच्च रक्तचापबाट आफ्नो स्वास्थ्य र जीवनलाई प्रतिकूल असर पर्न नदिने उपायहरु अपनाउन कुनै कठिनाइ छैन । उच्च रक्तचापलाई साथै लिएर पनि सक्रियतापूर्वक सजिलै जिउन सकिँदो रहेछ भन्ने मेरो अनुभव छ । यस लेखमा उल्लिखित कुराहरु नितान्त व्यक्तिगत अनुभवमा आधारित छन्, तसर्थ अरुसँग यसले मेल नखान पनि सक्छ ।
(वरिष्ठ पत्रकार बस्नेत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कलम चलाइरहनुभएको छ ।)
प्रतिक्रिया