लमजुङमा अलैची खेतीप्रति कृषकको आकर्षण घट्दो



लमजुङ । व्यवसायिक अलैची उत्पादन हुँदै आएको लमजुङमा पछिल्ला वर्ष कृषकहरुमा आकर्षण घट्न थालेको छ । अलैचीको मूल्यमा भएको गिरावट, विभिन्न रोग प्रकोपको आक्रमणका कारण अलैची खेतीप्रति कृषकहरु निराश हुन थालेका हुन् ।

केहीँ वर्ष अघिसम्म जिल्लाका उत्तरी भेगका कृषकहरुले व्यवसायिक रुपमा अलैची खेती गर्दै आएका थिए । अलैचीको व्यवसायिक खेतीसँगै जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलैची जोन कायम भएको थियो । तर, पछिल्लो वर्ष अलैची उत्पादनमा कमी हुँदै गएको र कृषकहरुको आकर्षण पनि घट्दो रहेको अलैची व्यवसायी महासंघ लमजुङले जनाएको हो ।

जिल्लाका उत्तरी भेगहरुमा अलैचीको राम्रो सम्भावनासँगै उत्पादन पनि व्यापक हुन थालेपछि विदेशिएका युुवाहरु पनि गाउँमै व्यवसायिक अलैची उत्पादन गर्दै आएका थिए । तर, पछिल्ला वर्षहरुमा अलैचीका विरुवाहरुमा विभिन्न प्रकारका रोग तथा संक्रमण भएपछि बोट मर्ने तथा उत्पादन घट्न थालेको अलैची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार केही वर्ष अघिसम्म कृषकहरुमा जुन उत्साह थियो । हाल त्यस्तो नभएको र धेरै कृषकहरुले अलैची खेती छाड्ने तरखरमा रहेका हुन् । कतिपयले त व्यवसायिक अलैची खेती नै छाडेर अन्य पेशातर्फ लाग्न थालेको अध्यक्ष तामाङले बताए ।

जिल्लामा उत्पादित अलैचीको निश्चित बजार नहुँदा बजार खोज्नुपर्ने झन्झट, उत्पादनका बेला मूल्य घटाउने, विचौलियाको चलखेल र रोग प्रकोप लागेका विरुवामा उचित उपचार नपाएपछि व्यवसायीहरु पेशाबाटै पलायन हुन लागेका हुन् ।

कुनै समय लमजुङमा उत्पादित अलैची नेपालकै नमुना अलैचीको रुपमा चिनाउन सफल भए पनि पछिल्लो वर्षहरुमा पहिलाकै तुलनामा अलैची उत्पादन हुन नसकेको महासंघले जनाएको छ ।

अलैची उत्पादनसँगै जिल्लामा व्यवसायिक रुपमा अलैचीका विरुवा पनि उत्पादन हुँदै आएको थियो । तर, पछिल्ला वर्षहरुमा अलैची विरुवा पनि खासै उत्पादन हुन नसकेको अध्यक्ष तामाङको भनाइ छ । अघिल्ला वर्षहरुमा जिल्लाका नर्सरीहरुमा उत्पादित अलैची विरुवा अन्य जिल्लामा समेत निर्यात हुने गरेको थियो । तर, अहिले निर्यात हुनेगरी अलैची विरुवा उत्पादन हुने छोडेको अध्यक्ष तामाङले बताए ।

लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायीक अलैची खेती हुने गरेको छ । जिल्लामा करिव १५ सय हेक्टर क्षेत्रफलमा व्यवसायीक अलैची खेती हुँदै आएकोमा पछिल्लो समय कृषकहरु अलैची खेती तर्फ आकर्षण कम हुँदै गएको छ ।

साविकका वर्षहरुको तुलनामा गत वर्ष जिल्लामा अलैची निकै न्यून उत्पादन भएको थियो । मौषम अनुकुल नहुँदा उत्पादन कम भएपनि गत वर्षको तुलनामा यसवर्ष केही बढी उत्पादन हुने अलैची जोन लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताए । गत वर्षको तुलनामा यसवर्ष अलैची उत्पादन बढेपनि साविकका वर्षहरु जस्तो उत्साहजनक उत्पादन नभएको तामाङले बताए ।

दशक अघि प्रतिकेजी २५ सय सम्म रहेको अलैचीको हालको मूल्य गिरावट भई प्रतिकेजी पाँचसयसम्म झरेको छ । यद्यपी जिल्लाको अलैची गुणस्तरीय भएकै कारण खरिदकर्ताहरुले आठ सयदेखि नौ सय रुपियाँ पनि तिर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्