१५ दिनपछि राजु श्रीवास्तवले नर्सलाई इसारामा सोधे

म कसरी अस्पतालमा पुगें?

0
Shares

लोकप्रिय भारतीय कमेडियन राजु श्रीवास्तव अब होसमा आउने छैनन् भन्ने खबरबाट निराश भएका उनका फ्यानका लागि खुसीको खबर छ।

अस्पताल भर्ना गरेको १५ दिनपछि उनको होस खुलेको छ। बुधबार राजुले आफू उपचाररत दिल्लीस्थित एम्स अस्पतालका नर्सलाई इसारामै आफू कसरी अस्पतालको शय्यासम्म पुगेँ भन्ने प्रश्न गरे। नर्सले पनि उनी रिगंटा लागेर ढलेपछि उपचारका लागि अस्पताल ल्याएको बताइदिइन्। गत अगस्ट १० मा जिम गएका बेला हृदयघात भएपछि अस्पताल पु-याइएका राजुको होस नआएपछि अवस्था दिनदिनै नाजुक हुँदै गइरहेको थियो।

समाचारमा जनाइएअनुसार भेन्टिलेटरबाट निकालेर हाल आईसीयुमा उपचचाररत उनको न्युरो फिजियोथेरापीबाट मस्तिष्कमा अक्सिजन प्रवाह गर्ने कोसिस भइरहेको छ। समाचार जनाइएअनुसार चिकित्सकहरू राजुलाई संक्रमणबाट बचाउन ध्यान दिइरहेका छन् भने आईसीयूमा केवल उनकी पत्नीलाई मात्र प्रवेश दिइएको छ।

उनको पूरै परिवार अस्पतालमा नै कुरिरहेका छन् भने उनको जन्मस्थान कानपुरलगायत संसारभरका फ्यानले उनको स्वास्थ्य लाभको कामना गरिरहेका छन्।कला क्षेत्रमा गजोधर तथा राजु भैयाको नामबाट लोकप्रिय राजुले सन् १९९३ मा कमेडी क्षेत्रमा पाइला राखेका थिए। कलाकारितासँगै राजनीतिमा पनि सक्रिय उनलाई भारतको जनता समाज पार्टीले कानपुरबाट टिकट दिए पनि उनले फर्काइदिएका थिए भने त्यसको केही समयपछि भारतीय जनता पार्टीमा प्रवेश गरेका थिए।