दुई प्रमुखबीच दोहोरीको अन्तर्य



गएको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा नगरप्रमुखको रुपमा विजेता बनेका दुई नगर प्रमुखहरूको बीच घोचपेच र खिसिटिउरीको दोहोरी चलेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच यस्तो घोचपेचको दोहोरी चलेको हो ।

दुवै युवा नगरप्रमुखहरुको कामको प्रशंसा स्वदेशदेखि लिएर विदेशसम्म हुने गरेको छ । उनीहरू दुवैजना मेयरहरू हाम्रा देश चलाउने स्थापित ठानिएका नेताहरुका लागि समेत उदाहरणीय र उत्प्रेरक व्यक्तित्वका रुपमा स्थापित हुन पुगेका छन् । धरानका उपमहानगरका मेयर हर्क साम्पाङले हालै काठमाडौँ आएर काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहलगायतका अन्य राजनीतिक दलका नेताहरुसँग पनि भेट गरेर धरान फर्केका छन् ।

हर्क काठमाडौँ आउनुअगाडि पनि काठमाडौँका मेयर बालेन्द्र शाहलाई काठमाडौँको फोहोर व्यवस्थापनको विषयमा फेसबुकमार्फत केही सुझाव र सल्लाह दिँदै आएका थिए । काठमाडौँबाट धरान फर्केपछि उनले मेयर बालेन्द्र शाहलाई व्यङ्ग्य गरेर केही काठमाडौँको फोहोर व्यवस्थापन गर्न असफल भएको भन्नेजस्ता घोचपेचका स्टाटस पठाएका थिए भनिन्छ । हर्कले यसरी घोचपेच गरे पनि बालेन्द्र शाहले संयम अपनाएका हुनाले त्यसको कुनै उत्तर पठाएका छैनन् । काठमाडौँ महानगरपालिका र धरान उपमहानगरका यी दुवै मेयरलाई आफ्नो छुट्टै दृष्टिकोण भएका, जनपक्षीय प्रतिनिधि पात्रको रुपमा लाखौँ जनताले हेरेका छन् ।

यी दुवै नगरपालिकामा पहिलेदेखि रहेका विविध समस्याहरु यी दुवै मेयरले समाधान गर्न सक्छन् भनेर लाखौँ जनतामा आशा, भरोसा र उमङ्ग फैलिएको छ । यसै परिवेशमा धरान उपमहानगरका मेयर हर्क साम्पाङले काठमाडौँका मेयर बालेन्द्र शाहलाई घोचपेच गरेर पठाएको स्टाटसका कारण बालेन्द्र शाहले चित्त दुखाऊलान् वा मन कमजोर बनाएर प्रतिज्ञा पूरा गर्न नसक्लान् कि, त्यसैले त्यस्तो घोचपेचको स्टाटस नपठाएका भए राम्रो हुन्थ्यो भन्ने दुवै प्रमुखका शुभेच्छुक जनहरुको आत्माले बोलेको कुरो प्रचारित भइरहेको छ ।

काठमाडौं र धरानका मेयरहरु स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका भए पनि दुवै धेरै फरक पृष्ठभूमिबाट उठेर आएका व्यक्तिहरू हुन् । धरानका मेयर हर्क साम्पाङ खोटाङको एउटा गाम्रीण परिवेशमा जन्मे-हुर्केका र किसानदेखि लिएर सबै वर्गका मानिसँगको उनको सामीप्यताले ग्रामीण भेगका दुःख–सुखका बारेमा भलिभाँती अनुभव बटुलेका व्यक्ति हुन् । उनी कृषि जीवनमा पनि पर्याप्त भिजेका र हलो जोत्न, कोदालो खन्न सिपालु बनिसकेका व्यक्ति हुन् । आफ्नै मेहनत र पसिनाको बलमा जीवन बाँच्न सिकाउने कर्मयोगी व्यक्ति हुन् ।

उनलाई आफ्ना काम गर्न कति पनि लाज लाग्दैन । यसरी आफैँ शारीरिक श्रममा खटेपछि हजारौँ जनताले उनलाई साथ दिन्छन् । सुनसरी जिल्लाको धरान भनेको भूतपूर्व लाहुरे राईहरुको बाहुल्यता भएको स्थान हो । यदि सरकारी पैसा भएनछ नै भने पनि हर्कले सबैसँग हारगुहार गरेर, शारीरिक श्रमदान गरेरै भए पनि आफूले पूरा गर्छु भनेर धराने जनतासमक्ष बाचा गरेका प्रतिज्ञा पूरा गरेरै छाड्छन् । उनले आफूलाई उपयोग गर्ने गाडीसँग बाटो सम्याउने रोलर साटेर आफूले पाउने सुविधाको उपयोग त गरेनन् भने धराने जनता र धरान नगरको विकासको लागि भनेर उपलब्ध हुने रकम पाँच पैसा पनि दुरुपयोग गर्लान् कि वा अरुलाई गर्न देलान् कि भन्ने त कसैले सोच्नै परेन ।

यो धनमोहको युगमा पनि मेयर हर्कको यस महान् त्याग र विचारका लागि उनलाई सलाम भन्नै पर्छ । तर काठमाडौँका मेयर बालेनले काठमाडौँ महानगरको विकासको लागि भनेर महानगरवासीसमक्ष जति हारगुहार गरुन् कतैबाट पनि उनलाई सहयोग गर्ने हातहरु माथि पर्ने अवस्था देखिएन । काठमाडौँका मेयर बालेन्द्र शाह एउटा सम्पन्न परिवारमा जन्मेर हुर्केका मान्छे हुनाले उनले ग्रामीण क्षेत्रका दुःख, पीडा, गरिबीको मार कस्तो हुन्छ भन्ने कुरा शायदै भोगेका होलान् । फेरि हर्कको धरानको परिवेशसँग शाहको काठमाडौँको परिवेश कति अधिक मात्रामा फरक पर्छ ।

यदि हर्ककै तरिकाले सिसडोलको बाटो म आफैँ पनि लागिपरेर बनाउँछु भनेर बालेन कुटो–कोदालो बाकेर अगाडि लागेका भए हर्कलाई जस्तो हजारौँ जनताले सहयोग गर्ने कुरा त परै रहोस् कि उल्टो त्यो काममा अवरोध पु¥याउनेहरुको भीड लाग्ने थियो । धरानका मेयरलाई भन्दा काठमाडौँका मेयरलाई राजनीतिक दलहरूको दबाब अधिक सामना गर्नुपर्छ । आफ्ना विचारले सफल हुन्छ भन्ने ठानेको काम पनि असोचनीय स्थानबाट अवरोध आइलागेर ढिल्याउने र असफल बनाउने प्रयासहरु हुन थाल्छन । धरान उपमहानगरको तुलनामा काठमाडौँको जनसङ्ख्या अधिक छ ।

अधिक जनसङ्ख्याका बीचमा गरिने समस्या समाधानका कुरा पूरा गर्न तुलनात्मकरुपमा धेरै समय लाग्नु स्वाभाविक पनि हो । बालेन शाह एक स्वतन्त्र जनप्रतिनिधि भएका कारण विभिन्न राजनीतिक दलहरुले आ–आफ्ना राजनीतिक दलमा बलजफत ल्याउन र आ–आफ्ना राजनीतिक दललाई नामुद बनाउने कसरतमा लाग्दा बालेनले प्रतिज्ञा गरेको काठमाडौं महानगरको फोहोर व्यवस्थापनको काममा केही ढिलाइ अवश्य भएको हो । तर बालेनले आफ्ना सुकार्यका प्रभावले सरकार र अन्य राजनीतिक दललाई समेत आफ्नो पक्षमा पारेर काम गराउन सके भने काठमाडौँ महानगरको उन्नति नसोचेको गतिमा हुन पनि बेर लाग्दैन ।

एउटा सानोतिनो काम सफल भयो भन्दैमा सर्वत्र सफल भइयो वा सफल भइन्छ भन्ने निश्चितता हुँदैन । वर्षौँदेखिका खानेपानीका प्यासा रहेका धराने जनतालाई खानेपानीको व्यवस्थापन गरेर जनताको मन जित्न सफल भएका धरानका मेयर हर्क राई मेयरमा निर्वाचित भएर पद बहाली भएका केही महिना मात्र हुँदै छन् । उनको मेयरको कामको समय अझै धेरै छ । यो धेरै समयमा धरानलाई एउटा नमुना नगरपालिका बनाउने उनको अभिष्ट लक्ष्य रहेको हुनुपर्छ ।

नमुना नगरपालिका बनाउनको लागि खानेपानी मात्र होइन, फोहोर व्यवस्थापनको चुनौती पनि ठूलै भएर देखा पर्न सक्छ । धरानमा पनि फोहोर व्यवस्थापनको काम सही तरिकाले हुन नसकेको कुरा भुक्तभोगीहरुबाट र आफू धरान गएका बेला सुन्न र देख्न पाइन्छ । फोहोर व्यवस्थापनको कामलाई दीर्घकालीनरुपमा व्यवस्थापन गराउन सक्नु एउटा चुनौतीपूर्ण काम हो । अब धरानका मेयरले फोहोरको दीर्घकालीन व्यवस्थापनको एउटा चुनौती सामना गरेर सफल बन्न सकेका खण्डमा उनको उचाइ अझै बढेर जानेछ ।

धरान उपमहानगर लाहुरे राईहरुको बाहुल्यता भएको क्षेत्र हो । लाहुरेहरुले विदेशबाट पैसा कमाएर घरखर्चका लागि पठाउने गर्छन् । यसरी उनीहरुले कालसँग भिड्दै दुःख गरेर कमाएर पठाएको मध्ये धेरैजसो पैसाको सदुपयोग नै भएको हुन्छ । कतै केही पैसाको भने युवावर्गले नशालु पदार्थको सेवन गरेर उडाइरहेका पनि हुन सक्छन् । यदि त्यस्तो हो भने यो समस्यालाई पनि सोचविचारका साथ समाधानको बाटोमा लैजानु नगरप्रमुखको दायित्व हो । चाहे धराने जनताले हर्कलाई विश्वास गरेर होस्, चाहे काठमाडौँका जनताले बालेनलाई विश्वास गरेर होस्, चुनावमा धेरै बहुमतले जिताई आफ्ना प्रतिनिधि बनाएर पठाएका छन् ।

अहिले नै यी दुवै नगरप्रमुखहरु चाहे वाकयुद्धमा लागून् र लडून् वा प्रगतिको प्रतिस्पर्धाको युद्धमा लागून्, तर उनीहरुलाई विश्वास गर्ने लाखौँ जनताको विश्वासमाथि आँच आउने वा कुठाराघात गर्ने काम दुवैबाट हुनुहुँदैन । एकले अर्काको मन दुखाउनुपर्ने काम नै छैन । आ–आफ्ना बुद्धि, क्षमता, लगनशीलता आदिले भेटेसम्मका काम संयमित भएर गर्दै जाने बेला हो यो । उनीहरू आफैँमा वाकयुद्धमा भिड्न थाले भने भर पर्दो नेता पाइयो भनेर दृढविश्वासका साथ उनीहरुका पछाडि लागेका लाखौँ जनताको हबिगत के होला ? अझ दुवै प्रमुखमध्ये कसैले पनि कुनै राजनीतिक दलको आडभरोसा लिएर अर्कालाई घोचपेच गरिएको भए त जीवनमा त्योभन्दा ठूलो गल्ती अर्को कुनै हुँदैन होला भनेर सोच्दा हुन्छ । कसैले पनि घोचपेचको साटो सही सल्लाह र सुझाव दिएर सहयोग पु-याउनु मानवीय कर्तव्य नै हो ।

जानी वा नजानी भएका गलत क्रियाकलापलाई बढाएर लैजानुको साटो सच्याउने काम गर्नु नै सही कदम हुनेछ । अहिलेको घोचपेचको कर्म त उमेरले वयष्क भएका भए पनि साहै्र केटौलेपनको उदाहरणजस्तै भयो । कोही पनि नागरिकका दुई किसिमका बचाइ हुन्छन् । ती मध्येमा पहिलो व्यक्तिगत जीवन र दोस्रो सार्वजनिक जीवन हुन् । यी दुवै नगरका मेयरहरु आफ्नो व्यक्तिगत जीवनमा मात्र बाँचेका हुन्थे भने जतिसुकै घोचपेच गरुन्, आम नागरिकका लागि कुनै चासोको विषय हुने थिएन । तर अहिले उनीहरु दुवैजना सार्वजनिक जीवन बाँचेर लाखौँ जनताका अभिभावक बन्न पुगेका छन् । उनीहरुको यश ह्वात्तै बढेको छ ।

दुवैले नेपालदेखि लिएर विदेशीको समेत प्रशंसा र सम्मान पाएका छन् । उनीहरूलाई विश्वास गरेर ठाउँ–ठाउँबाट खुशी साट्न र भरोसा दिलाउन हरेक तह र तप्काका नेपालीहरु आइरहेका छन् । उनीहरुमध्ये कसैले नेपालका भावी प्रधानमन्त्रीको रुपमा आँकलन गरेका छन् त कसैले देशकै कुशल प्रशासकको रुपमा आँकलन गर्न भ्याइसकेका छन् । पछिल्लो समयमा हाम्रो देशले शायद कुशल शासक पाउन सकेको छैन होला ।

त्यही कुशल प्रशासकबाट हुने गरेको देशको कुशल प्रशासनको काम गर्ने प्रशासक बन्न सक्लान् कि भनेर आम नागरिकबाट आश गरिनु भनेको उनीहरुमाथिको विश्वास बढेर जानु हो । यसरी आमजनताको उनीहरूमाथिको विश्वास र भरोसा चुलिँदै गएको वर्तमान परिवेशमा उनीहरुका मनमा कसरी घमण्ड सिर्जना हुन सक्यो होला र एकले अर्कालाई तल पार्न घोचपेचको भाषा प्रयोग गरेर आफू सफल भएको ठानी आफ्नो ह्वात्तै बढेको उचाइलाई घटाउने काम गर्दै छन् ? अझै पनि केही बिग्रेको छैन ।

दुवैले स्वागतयोग्य काम गरेर देखाउन सकेछन् भने उनीहरुले आ–आफ्नो यशगान गाउने होइन कि उनीहरुको कामको मूल्याङ्कन हामी न्यायको तराजु बोकेर बसेका आमजनताले गर्ने हो ।

प्रतिक्रिया दिनुहोस्