कर्मचारी तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन

0
Shares

काठमाडौं ।

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राज्यका तीन तहका कर्मचारी खटाउने भएकाले तयारी अवस्थामा राख्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सो निर्देशन दिइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । आयोगले निर्वाचन प्रयोजनका लागि केन्द्र, प्रदेश तथा जिल्लास्तरमा कार्यरत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह कार्यरत सम्पूर्ण कर्मचारीहरूको आवश्यकताअनुसार निर्वाचनमा परिचालन गर्ने निर्णय गरी जनशक्ति योजना तयार गरिसकेको छ ।

निर्वाचनको क्रममा खटिने कर्मचारीहरूबाहेक मिति यही भाद्र २० गतेसम्ममा संघ, प्रदेश र स्थानीय तहमा स्वीकृत दरबन्दीको तह र पदनामबमोजिम सरुवा-पदस्थापना भएका कर्मचारीहरू सो निर्वाचन नभएसम्म अन्यत्र कामकाज गर्न काजमा पठाउने र सरुवा नगर्ने व्यवस्था गर्न आयोगले भनेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्देशन दिएअनुरूप संघ, प्रदेश र स्थानीय तहमा काज-कामकाजका लागि खटिएका कर्मचारीलाई पदाधिकार रहेकै कार्यालयमा काज फिर्ता गर्ने तयार गरिरहेको गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताउनुभयो । त्यसै गरी मन्त्रालयले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट माग गरेका बखत तुरुन्तै उपलब्ध गराउने व्यवस्था गर्ने गरी कर्मचारीहरूको यथार्थ विवरण अद्यावधिक गर्न पनि गृहकार्य गरिरहेको मन्त्रालयले जनाएको छ ।

त्यससँगै काज फिर्ता गर्नेसँगै कार्यरत स्थानमा स्वीकृत दरबन्दीको पद र तहअनुसारको कर्मचारी सरुवा र पदस्थापन गरी पदपूर्तिको व्यवस्था मिलाउन गृहकार्य गर्न थालेको छ । आयोगले स्वयंसेवक, शिक्षक र कर्मचारीसमेत गरी निर्वाचनका लागि २ लाख ६१ हजार ५ सय ६५ जना जनशक्ति खटिने योजना तयार गरेको छ । आउँदो निर्वाचनमा करिब ११ हजार मतदान स्थलमा २२ हजार ५ सय मतदान केन्द्र हुन सक्ने आयोगले आँकलन गरेको छ ।

आयोगको जनशक्ति व्यवस्थापन योजनाअनुसार पाँच सयसम्म मतदाता भएको एउटा केन्द्रमा ११ जना कर्मचारी खटाउने योजना बनाइएको हो । प्रत्येक केन्द्रमा मतदान अधिकृत एक, सहायक मतदान अधिकृत एक, सहायक कर्मचारी ५, सहयोगी एक, स्वयम्सेवक ३ जना खटिनेछन् । पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा थप एक स्वयंसेवक हुनेछन् ।

एउटा केन्द्रमा स्वयंसेवकसहित सरदर ११ जना खटिँदा निर्वाचन गराउन मात्रै २ लाख ४७ हजार ५ सय जना खटिनेछन् । यसमा मतदान अधिकृत २२ हजार ५ सय, सहायक मतदान अधिकृत २२ हजार ५ सय, सहायक कर्मचारी १ लाख १२ हजार ५ सय, सहयोगी कर्मचारी २२ हजार ५ सय, स्वयंसेवक ६७ हजार ५ सय हुनेछन् ।