फिल्म फेयर र कंगनाबीच टकराव

0
Shares

फिल्म जगतका अवार्ड तथा मान सम्मान पाउनका लागि कलाकारहरू मरिहत्ते गर्ने गर्छन्। अवार्ड प्राप्त गर्नु कलाकारका लागि गौरवको कुरा हो। त्यसमाथि फिल्म फेयर अवार्ड।

बलिउड फिल्म जगत्मा फिल्म फेयर अवार्ड पाउनका लागि कलाकारहरू लालायित हुने गर्छन्। तर, अभिनेत्री कंगना रनावतले भने फिल्म फेयर अवार्डका लागि आफ्नो नाम मनोनयनमा राखेका कारण फिल्म फेयरविरुद्ध उजुरी दर्ता गर्ने घोषणा गरेकी छन्। ६७औँ फिल्म फेयर अवार्डका लागि सर्वोत्कृष्ट अभिनेत्रीको मनोनयनमा फिल्म थलाइवीबाट कंगनालाई मनोनयनमा राखेपछि उनले सोमबार आफ्नो इन्स्टाग्राममा स्टोरी सेयर गर्दै फिल्म फेयरप्रति आफ्नो असन्तुष्टि व्यक्त गरेकी छन्।

म हैरान छु कि फिल्म फेयरवाला मलाई नोमिनेसनमा राखिरहेका छन्। तर, म भ्रष्ट र अनैतिक अवार्डमा सहभागी हुन चाहन्न। यो मेरो गरिमाको खिलाफ हो। यस कारण फिल्म फेयरविरुद्ध उजुरी गर्न गइरहेकी छु उनले लेखेकी छन्। कंगनाले सन् २०१४ देखि नै आफूले फिल्म फेयरलाई बहिष्कार गरेको र हाल फिल्म फेयरले आफूलाई अभिनेत्रीको अवार्ड दिने भन्दै बारम्बार फोन गरिरहेको बताएकी छन्।

कंगनाको यस किसिमको प्रतिक्रियापछि फिल्म फेयरले भने एक वक्तव्य जारी गर्दै कंगना गैरजिम्मेवारीपूर्वक सामाजिक सञ्जालमा प्रस्तुत भएको जनाउँदै उनलाई अवार्डको नोमिनेसनबाट हटाएको जानकारी दिएको छ।

अवार्डको प्रक्रियाअनुसार मनोनयनमा परेका कलाकारलाई फिल्म फेयर म्यागेजिनका सम्पादकले मनोनयनको जानकारी दिन तथा निमन्त्रण पत्र पठाउनका लागि सम्पर्क गरेको तर कंगनालाई नै अवार्ड प्रदान गर्ने विषयमा कुनै पनि कुरा नभएको जारी वक्तव्यमा उल्लेख छ।