बच्चा पढाउन गाउँ नै विस्थापित



काभ्रे । 

टुक्रप्रसाद घिमिरे अर्थात् ‘दारी बा’ ले ललितपुरको महांकाल गाउँपालिका–४ नकण्डोलमा २०६७ सालदेखि व्यावसायिक रूपमा चियाको खेती शुरू गर्नुभएको थियो । दारी बाका फार्ममा १० हजार ५ सय बुटा चिया, १ हजार ५ सय लोठ सल्ला, तेजपत्ता, दालचिनी, लेमनग्रासलगायतका थुप्रै जडिबुटी भएकाले त्यही फार्मलाई जडीबुटी पाठशाला तयार गर्ने योजना थियो ।
टुक्रप्रसादको जडीबुटी पाठशाला बनाउने योजनामा ब्रेक लागिसकेको छ ।

स्थानीय सरकार गाउँघरकै सिंहदरबार हो भन्ने टुक्रप्रसादको बुझाइ त्यति बेला गलत भयो जति बेला आफ्ना सन्तान विद्यालय पठाउने समयमा विद्यालय एकीकरणका नाममा बालबालिकालाई विद्यालय जानबाट वञ्चित गराइयो । पटकपटक टुक्रप्रसादसहित ७ परिवारले विद्यालय जान डेड घण्टाको पैदल हिँड्नुपर्ने भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराए । सुनुवाइ नै नभएपछि बच्चा पढाउनकै लागि गाउँ छाड्नुको विकल्प भएन । चिया बगान छाडेर टुक्रप्रसादसहित उनको परिवार २०७८ मंसिर ९ गतेदेखि पनौती नगरपालिकामा भाडामा बस्दै आएका छन् ।

गाउँपालिकाले विद्यालय एकीकरण गरेपछि अध्ययन गर्ने अवसरबाट वञ्चित भएका बालबालिकालाई पढाउनकै निमित्त गाउँ नै रित्तो पारेर राजकुमार दुलाल, सन्तोष दुलाल, रमेश घिमिरेलगायत ११ परिवारले गाउँ छाडेका छन् । नकन्डोल गाउँ अहिले उजाड भएको छ । गाउँ छाडेर शहरमा डेरा लिएर सन्तान पढाउनु पर्दाको पीडा टुक्रप्रसादले आँशुमा व्यक्त गर्नु प¥यो । ‘मुटु गाँठो पर्छ, नाति हुर्केर आफैं विद्यालय जान नसक्दासम्म गाउँ फर्किन्नँ’, टुक्रप्रसादले भन्नुभयो– ‘मंसिरमा हुने चुनावमा पनि भाग लिँदैनौं । वैशाखमा भएको चुनावमा तीन जना गएर मतदान ग-यौं ।’

पनौतीमा नाति नातिना पढाउन टुक्रप्रसादको परिवार भाडामा बसेको हो । भाडामा बसिरहँदा केही जमिन लिएर खेती शुरू गरेका छन् भने कार्यालय समयमा एउटा विद्यालयमा नोकरी गर्न थालेका छन् । ‘आफ्नो जमिनको खेती छाडेर भाडामा बस्दा मन कसरी अड्याउन सकिन्छ र’, उहाँले भन्नुभयो– ‘स्थानीय सरकारले समयमै स्थानीयका समस्याका बारेमा चासो नदिँदा हामी विस्थापित हुन पुग्यौं ।’ अब तत्काल गाउँ फर्कने वातावरण नभएको टुक्रप्रसादले बताउनुभयो । ललितपुर जिल्ला महांकाल गाउँपालिका–४ नकण्डोलमा बसोबास गर्ने परिवारका लागि आहालडाँडामा जनजागृति प्रावि थियो । उक्त विद्यालयको आफ्नै जमिन र भवन पनि छ । विद्यालयको कोषमा रकम पनि छ । रोजगारीको सिलसिलामा केही वर्ष बालबालिका कम हुँदै गए ।

कोरोनाका कारण झनै समस्या भयो । स्थानीय सरकारले ५ जना बच्चा हुँदाहुँदै विद्यालय एकीकरण गरिदियो । त्यहाँ कार्यरत शिक्षकहरूलाई अन्यत्र सरुवा ग¥यो । भएका विद्यार्थी पनि विद्यालय जान छाडेपछि विद्यालय शून्य हुन पुग्यो । स्थानीय सरकारले विद्यालय एकीकरण गरेसँगै हुर्कंदै गरेका अन्य बालबालिका अध्ययनबाट वञ्चित हुन पुगे । आहालडाँडा, नकण्डोलबाट एक घण्टाभन्दा धेरै हिँडेर जानुपर्ने स्थानमा मात्रै विद्यालय भएपछि अभिभावकले बालबालिकालाई एक्लै विद्यालय पठाउन पनि सकेनन् ।

आफैं लिएर जान हरेक दिन असहज पनि भयो । स्थानीय ७ परिवारको भेला बस्यो । बाघ भैरव मावि तथा अन्य विद्यालय र वडा कार्यालयमा निवेदन दिए । सुनुवाइ भएन । तत्कालीन गाउँपालिका अध्यक्ष तथा शिक्षा शाखामा समेत ११ जना बालबालिका विद्यालय जानबाट वञ्चित भएको जानकारी गराए । तर, पनि गाउँपालिकाले बेवास्ता ग-यो । सिंहदरबार गाउँमा आएको सुनेका स्थानीय आजित भए । उनीहरूले विद्यालयको कोषमा भएको रकमबाट एक जना मात्रै भए पनि शिक्षक राखिदिन पटकपटक अनुरोध गरे । सुनुवाइ नभएपछि बालबालिकाहरू पढाउन एकैपटक ११ घरपरिवारले गाउँ छाडे । अहिले फेरि ९ जना बच्चा विद्यालय जाने उमेरका छन् । विद्यालय छैन ।

टुक्रप्रसादको चिया बगानमा लोठ सल्ला पनि छ । दुवै मिसाउँदा थप आम्दानी हुन्छ । दुवै आयआर्जनका क्षेत्र भए । लोठसल्लाको १ सय ५० रुपियाँ हरियो पत्ती टिपेर सुकेपछि २ सय ५० रुपियाँमा बिक्री हुन्छ । तेजपत्ता, लेमनग्रास, तितेपाती, दालचिनी सबैको खेतीले थप आम्दानी भइरहेको थियो । यो खेतीबाट सन्तुष्ट भए पनि गाउँ छाड्नु परेका तितो सत्यबाट पीडित भएको घिमिरेको भनाइ छ । युवाहरू बगान हेरुञ्जेलसम्म मात्रै आकर्षण हुन्छन् । अनुभवले खेती गर्न सहज हुन्छ । प्रमाणपत्रका आधारमा जागिर खान खोज्नेहरूलाई व्यावसायिक खेतीमा आकर्षण हुँदैन ।

प्रतिक्रिया दिनुहोस्