लायन्सले पठायो म्याग्दी र पर्वतका बाढी पहिरो पिडितलाई राहत


कास्की ।

लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आई नेपालले म्याग्दी र पर्वतका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको छ ।

लायन्स अन्तर्राष्ट्रिय एलसीआईएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्ट अन्तर्गत (EMR21408/3251)  प्राप्त दश हजार डलर र डिस्ट्रिक्ट ३२५ आई नेपालको डिजास्टरफण्डबाट करिव ३ लाख रकमबाट बाढी पहिरो पीडितहरूका लागि समान पठाएको हो ।

म्याग्दीको मालिका गाउँपालिका–२, रुम गाल्दामा साउन १७ गतेको पहिरोको कारण विस्थापित घरपरिवारकालागि राहत सामग्री पठाइएको डिस्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले बताए ।

बस्ती माथिबाट खसेको पहिरोबाट घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु समेत भएको थियो । पूर्ण रुपमा क्षती पुगेका केहि घरपरिवार भने विस्थापित भएका थिए ।

बुधवार पोखराबाट पहिरो पीडित ३५ घर परिवारका लागि तत्कालको अत्यावश्यक सामग्री पठाएको हो । एक परिवारका लागि तत्कालको आवश्यकता भाँडाकुँडा देखि खाद्यान्न सहितका सामग्रीमा चामल, नुन, तेल, चिनी चियापत्ती, प्रेसर कुकर, थाल, कचौरा, डाडु पनियो, ब्लाङकेट, म्याट्रेस लगायतका दैनिक उपभोग्य बस्तु पठाईएको डिस्ट्रिक्ट क्याबिनेट सेक्रेटरी हरिराज पन्तले बताए ।

राहत सामग्री पठाउँदै डिस्ट्रिक्ट ३२५ आई नेपालका डिस्ट्रिक्ट गभर्नर राम बहादुर बसेलले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने उदगार साथ लायन्सले सहयोग गर्दै आएको बताए । उनले लायन्स ले बाढी, पहिरो, भूकम्प, आँधिहुरी जस्ता अन्य प्राकृतिक प्रकोप एवं विपद् आदिको व्यवस्थापन गर्दै र पीडितहरूलाई राहत उद्धारको काम गर्दै आएको बताए ।

डिस्ट्रिक्ट ३२५ आई नेपालले संयोजन गरेको कार्यक्रममा द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर विनोद ढुङगाना लगाएत डिस्ट्रिक्ट क्याबिनेटका सिनियर लायन्स लिडरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।