समानुपातिक निर्वाचन प्रणालीको मुख्य निर्वाचन अधिकृतमा दवाडी नियुक्त

0
Shares

काठमाडौं । 

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको प्रक्रिया अघि बढाउन मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

गत साता समानुपातिकतर्फको निर्वाचन कार्यतालिका स्वीकृत गरेलगत्तै आयोगका सचिव गोकर्णमणि दवाडीलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनमा सिंगो मुलुकलाई नै एक निर्वाचन क्षेत्र मानेर प्राप्त मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छ ।

त्यसका लागि दलहरूले उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेस गर्नुपर्छ । त्यही निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरिएको हो ।निर्वाचन आयोग परिसरमै मुख्य निर्वाचन आयुक्तको कार्यालय स्थापना गरिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची असोज २ र ३ गते पेस गर्नुपर्ने समय निर्धारण गरेको छ । दलहरूले बन्दसूची बुझाएसँगै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनेछ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले भदौ १० देखि १२ गतेसम्म निवेदन पेस गर्नुपर्ने हुन्छ भने भदौ १५ गते अन्तिम नामावली प्रकाशन गरेर निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

प्रवक्ता पौडेलका अनुसार उम्मेदवारको बन्दसूचीको सूचना असोज २२ मा प्रकाशन गर्ने कार्यसूची रहेको छ । समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची पेस गर्दा एउटै व्यक्तिको नाम एकभन्दा बढी दलमा राख्न नपाउने, प्रदेशसभाको बन्दसूचीमा समावेश भएको नाम प्रतिनिधिसभाको समानुपाातिकतर्फको बन्द सूचीमा समावेश गर्न नहुने, प्रदेशसभाको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवार बन्न नपाउने प्रावधान रहेको छ ।