पीएसजीको सानदार जित


लन्डन  । 

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गरेको छ । ब्राजिली फरवार्ड नेयमार जुनियर चम्कँदा पीएसजीले मोन्टपेलिएरमाथि ५–२ गोलअन्तरको सानदार जित दर्ता गरेको हो । पीएसजीको जितमा नेयमारले दुई गोल गर्दा केलियन एमबाप्पे र रेनाटो सान्चेजले समान एक गोल गरे ।

एक गोल भने उपहार पाएको थियो । मोन्टपेलिएरका लागि भने वावी खाज्री र इन्जो चाटोले गोल फर्काए । पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलका घरेलु टोली पीएसजीले ३९औं मिनेटमा मोन्टपेलिएरका फलाए साकोले आत्मघाती गोल गरेपछि अग्रता लिन सफल भयो ।

खेलको ४३औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि पीएसजी सहज जिततर्फ अग्रसर बन्यो । खेलको ५८औं मिनेटमा वावी खाज्रीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । ६९औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजी खेलमा ४–१ ले अघि बढ्यो ।
खेलको ८५औं मिनेटमा नेयमारले गोल गरेपनि अफसाइड ठहरिंदा गोलले मान्यता पाएन ।

८८औं मिनेटमा नुनो मेन्डिसको पासमा रेनाटो सान्चेजले गोल गरेपछि पीएसजी खेलमा ५–१ ले अघि बढ्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इन्जो चाटोले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल नहुँदा पीएसजी तीन अंक जोड्न सफल भयो । पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि, पीएसजीले क्लेरमन्ट फुर्टलाई ५–० को भारी अन्तरले हराएको थियो । लगातार दोस्रो जितसँगै पीएसजी ६ अंक जोडेको छ । पहिलो हार बेहोरेको मोन्टपेलिएर ३ अंक मात्रै रहेको छ ।