नेपालबाटै हेरिन्छ विदेशीको ग्रहदशा

0
Shares

काठमाडौं । 

सनातन धर्मप्रति आस्था राख्ने सयौं विदेशीले ग्रह शान्तिदेखि ग्रहदशा कटाउन नेपाली ब्राह्मणको हातबाट ग्रहशान्ति, जप, रुद्री पाठ गर्ने गरेका छन् ।

महर्षि ऋषिको नाममा स्थापना भएको महर्षि वैद्धिक फाउन्डेसनले पछिल्लो ५ वर्षको अन्तरालमा सयौं विदेशीले आत्मशान्ति र आफूले आँटेको काम पूरा हुने विश्वासका साथ ग्रहदशा कटाउन नेपाली ब्राह्मणबाट पाठ गराएको बताएको छ । फाउन्डेसनका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री डा. दीपक प्रकाश बाँस्कोटाले नेपाल समाचारपत्रसँग कुरा गर्दै विदेशी नागरिकको सनातन धर्मप्रति आस्था बढ्दै गएका कारण संस्थाले नेपाली गुरुबाट ग्रहशान्ति, हवन, यज्ञलगायतका पाठ गर्ने गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘शुरूमा सिफल र झापाबाट ग्रहशान्तिको पाठ गरिन्थ्यो भने एक वर्षअघिबाट फाउन्डेसनको भवनबाट पाठ गर्न थालेका छौं ।’फाउन्डेसनले दक्षिणकाली नगरपालिका–१ चम्पादेवीमा गुरुहरूको ध्यान केन्द्र सञ्चालन गरेको छ । सो केन्द्रमा योगदेखि संस्कृत भाषाको विकासका लागि कक्षा शुरू गरिएको छ । फाउन्डेसनले देशभरका गुरुकुलमा अध्ययन गरिरहेका बटुकहरूलाई निःशुल्क आवासीय व्यवस्थासहित संस्कृत शिक्षा प्रदान गर्न थालेको छ ।

फाउन्डेसनले वर्षाैदेखि विदेशीको ग्रहशान्ति पाठ, ध्यान, जप, र यज्ञ गर्ने गरेको जानकारी दिँदै फाउन्डेसनका योग तथा संस्कृतका गुरु सोमनाथ गड्तौलाले भन्नुभयो– ‘विशेष गरी अमेरिका, बेलायत र युरोपेली मुलुकका विदेशीले इमेल गरी ग्रहशान्ति गरिदिन आग्रह गर्छन्, त्यसपछि नेपाल र भारतका गुरुहरूले जप, ध्यान, ग्रहशान्ति पाठ गर्ने व्यवस्था छ । हामीले यहाँबाट रुद्री, चण्डी, ग्रहशान्ति पाठ, यज्ञ, हवनलगायतका शान्ति प्राप्ति गर्ने सम्पूर्ण प्रक्रिया गर्ने गरेका छौं ।’

ब्राह्मणले गरेको पाठका कारण हजारौं विदेशीले शान्ति प्राप्त हुने गरेको दाबी गरेको बताउँदै उहाँले भन्नुभयो– ‘दैनिकजसो विदेशीले ग्रहशान्ति गर्न इमेल पठाउने संख्या बढ्दै गएको छ । फाउन्डेसनको मुख्यालय रहेको अमेरिकामा समेत गुरुहरूले यस्तो व्यवस्था गर्ने गरेका छन् ।’ उहाँका अनुसार नेपालमा पण्डितको संख्या धेरै नभएका कारण भारतका पण्डितले समेत विदेशीको ग्रहशान्ति पाठ गरिरहेका छन् । फाउन्डेसनले बुटवल र धुलाबारीबाट पनि शान्तिपाठ गर्ने गरेको छ । पाठ गरेवापत विदशीले केही आर्थिक सहयोग दिने गरेको पण्डित गड्तौलाले बताउनुभयो ।

ग्रह शान्तिबाहेक धेरै विदेशी सनातन धर्मको शिक्षा लिन पनि फाउन्डेसन आउने गरेको जिकिर गर्दै योग गुरु गड्तौताले करिब एक वर्षअघि फाउन्डेसनले विदेशीका लागि ध्यान, योगा र संस्कृत शिक्षाका कक्षा सञ्चालन गरेको बताउनुभयो । फाउन्डेसनले सोवापत ५ हजार रुपियाँ शुल्क लिने गरेको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘नेपालीका लागि ५ दिने ध्यान शिविर सञ्चालन हुन्छ । हरेक दिन १ घण्टाको कक्षा हुन्छ । सो कक्षामा योग, ध्यान सिकाइन्छ ।’महर्षी गुरुको आश्रम विश्वका १ सय ८० मुलुकमा फैलिएको छ । सबैतिर संस्कृत भाषा र शिक्षा दिने गरेको फाउन्डेसनको भनाइ छ । फाउन्डेसनको ध्यान केन्द्रमा १८ वटा मन्दिर र ५ वटा भवन छन् ।