सुमनको कम्पनीले मनायो ३०औं वार्षिकोत्सव


गायक सुमन श्रेष्ठको टाइल्स र सेनेटरी शोरुम बिन्दु हार्डवेयर एन्ड सेनेटरीले ललितपुरको इन्द्रेणी फूडल्यान्डमा भव्यताका साथ ३०औं वार्षिकोत्सव मनाएको छ। सो अवसरमा गायक सुमन श्रेष्ठले गीत संगीत र व्यवसायलाई सँगै अघि बढाउनु चुनौतिपूर्ण भएको र आफूले सो चुनौतिलाई आत्मसात गरिरहेको बताए।

एसएलसी सकाएर काठमाडौं आउँदा ममा गायक बन्ने चाहना थियो। रामकृष्ण ढकाल, यम बराल र राजेशपायल राईको नेपाली सांगीतिक क्षेत्रमा लोभलाग्दो आकर्षण थियो। सानैदेखि हिन्दी गीत सुनेर हुर्किएको ममा पनि गीत संगीतप्रति लगाव हुने नै भयो। तर, व्यवसायमा समय बढी व्यतित गर्नुपर्ने भएपछि गीत गाउने मेरा चाहना थाँती नै रहन पुगे। तर, जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै १० वर्षपछि मेरो सपनाले साकार रूप लियो।

बीआईसीसीमा सुमन एकल साँझ आयोजना गरेर सुमनको आगमन एल्बम रिलिज गर्न पाउँदा संसारकै भाग्यमानी सौभाग्यशाली व्यक्ति म नै हो जस्तो लागेको थियो। त्यो एल्बमले व्यावसायिक सफलता नचुमे पनि मेरो रहर मेटाउन भने सफल रह्यो। त्यसपछि म व्यवसाय र गायनमा तन्मयका साथ लागिरहेको छु।

गीत-संगीत र व्यवसाय दुवैलाई सँगै अघि बढाउनु निकै नै चुनौतीपूर्ण काम हो, जो म गरिरहेको छु सुमनले कार्यक्रममा सुनाए अहिले हामी मित्र राष्टझ चीन र भारतबाट सीधै सामान आयात गर्नुको साथै विभिन्न ब्रान्डका स्वदेशी तथा विदेशी सामानजस्तै नेपाटप, सोमानी, जाक्वारको सामान थोक तथा खुद्रा बिक्री गरिरहेका छौँ। हामीले व्यवसाय शुरु गर्दा नेपालमा शोरुमको कन्सेप्ट नै थिएन।

वार्षिकोत्सवको अवसरमा कम्पनीका संस्थापक प्रेम श्रेष्ठलाई सम्मान गरिएको थियो भने कम्पनीमा २५ वर्ष बिताएका योगेन्द्र राईलाई एक लाख रुपियाँसहित पुरस्कृत गरिएको थियो। गायक श्रेष्ठ प्रबन्ध निर्देशक रहेको विन्दु हार्डवेयरले ३० वर्षदेखि टाइल, सेनेटरी वेयर, नल, पेन्ट, पाइप र फिटिङका साथमा बाथरूमका सम्पूर्ण सामग्रीको बिक्री गर्दै आएको छ।