‘गिनिज बुक अफ वोर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल खेलाडी सापकोटालाई सम्मान

0
Shares

भक्तपुर ।

‘गिनिज बुक अफ वोर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल टेबुल टेनिस खेलाडी गोमा सापकोटालाई जिल्ला खेलकुद विकास समिति भक्तपुरले सम्मान गरेको छ ।
काभ्रेको पनौतीमा जन्मेर भक्तपुरको सूर्यविनायक ८ मा स्थायी बसोबास गर्दै आएकी सापकोटालाई आज समितिद्वारा आयोजित सम्मान कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले सम्मान गर्नुभयो ।

सापकोटाले टेबुल टेनिस बललाई १ मिनेटमा भुईमा नखसाई २ सय ४९ पटक हानेर गिनिज बुकमा विश्व कीर्तिमान राख्न सफल हुनु भएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले खेलकुदको माध्यमबाट देशको पहिचान कायम हुने मात्र नभई आर्थिक उन्नती हुने बताउनुभयो ।

राज्यले खेलकुदको विकास गर्नुको विकल्प नभएको बताउदै उहाँले यसका लागि तीनै तहका सरकारले प्रभावकारी र समन्वयात्मक कार्य गर्नुपर्ने बताउनुभयो ।
समितिले सिफारिस गरेका आधारमा पूर्वाधार निर्माणका काममा समेत मन्त्रालय अघि बढेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख इश्वरबहादुर थापाले स्थानीय सरकार खेलको बिकासमा उदाशीन रहेकाप्रति दुख व्यक्त गर्नुभयो ।
जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिल बासुले समितिले आफ्नो नाममा रहेको जमिन समेत उपभोग गर्न नपाउदा पूर्वाधार बिकासमा समस्या रहेको बताउनुभयो ।

जिल्ला खेलकुद बिकास समितिका पूर्व उपाध्यक्ष एवं नेकपा(एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतले भक्तपुरमा खेल क्षेत्रको बिकास गर्ने निउमा बजेट जग्गा दलाल ,केही जनप्रतिनिधि र नेताहरुले नै खेलकुदलाई भजाई खाने भाडो बनाएको गुनासो गर्नुभयो ।

जिल्ला युवा विकास समितिका अध्यक्ष सुवास कार्कीले सबै मिलेर भक्तपुरको खेलकुदलाई बिकासको गति दिनुपर्ने बताउनुभयो ।
उक्त अवसरमा सम्मानित खेलाडी गोमा सापकोटाले सम्मानले खेल्नमा थप प्रोत्साहन मिलेको बताउनुभयो ।

जिल्ला खेलकुद बिकास समिति भक्तपुरका अध्यक्ष दिपक थापाले खेलकुदको बिकास र खेलाडीको हितको लागि अल्पकालीन र दीर्घकालीन योजनाहरु अघि सारिएको जानकारी दिनुभयो ।