शिलान्यास गरेको ७ वर्षसम्म पनि बनेन झोलुङगे पुल, स्थानीय डुंगाबाटै जोखिपूर्ण यात्रा गर्न बाध्य



भद्रपुर । शिलान्यास गरेको सात वर्षसम्म पनि झोलुङ्गे पुल नबनेपछि स्थानीयबासी डुंगाबाटै जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । झापा कचनकवल गाउँपालिका–५ पाठामारीस्थित नेपाल–भारत सीमा छुट्याउने पाठामारी नाकामा रहेको मेची नदीमाथि उक्त पुल नबनेपछि उनीहरु डुंगाबाटै यात्रा गर्न बाध्य भएका हुन् ।

पाठामारी–धोबीभिट्टा नाकाबाट आउजाउमा सहज होस् भन्दै स्थानीयको मागअनुसार सरकारले २०७२ सालमा मेची नदीमा झोलुङ्गे पुल बनाउने योजना अघि सारेको थियो । त्यहाँका जनता बर्खामा डुङ्गा (नाउ)को जोखिमपूर्ण यात्रा र हिउँदमा बाँसे पुल प्रयोग गर्न बाध्य छन् । नदीमा हालसम्म दुईवटा पिलर गाढेर ठेकेदार कम्पनी बैपत्ता भएका छन् ।

नेताहरूप्रति लक्षित गर्दै स्थानीय साकिर मियाँले यहाँका नेता, जनप्रतिनिधि र स्थानीय प्रशासनले चासो नदेखाएको आरोप लगाए । पाठामारीबासीको समस्या कसैले नसुनेको उनले गुनासो गरे । सो क्षेत्रमा पुलसगै नदी तटवन्ध नभएका कारण बस्ती जोखिममा परेको पवन राजवंशीले बताए ।

मेची नदी तैरिएर साइकल चढेर उपभोग्य सामान खरिदका लागि सो क्षेत्रका नागरिकको लागि भारतीय बजार नै हो, उनले भने । अधिकांश नेपाली उपभोक्ता दुई पैसा सस्तोका लागि किनमेलका लागि पारि नै धाउँने गरेको उनको भनाइ छ । यहाँका जनतालाइ नेपाली नागरिक नै हुन् भनेर सरकारले नहेरेको स्थानीयको आरोप छ ।

नदीमा झोलुङ्गे पुल बनाउने ठेक्का निलगिरी सेवा प्रालि बानेश्वर काठमाडौँले २०७२ भदौ ७ गते लिएको थियो । तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लगाएको सो ठेक्का निर्माण व्यवसायी युवराज डाँगीले लिएका हुन् । साढे २ करोडको लागतमा ठेक्का लागेको पुलको काम ३० महिनामा सक्नुपर्ने सम्झौता थियो ।

लामो समयदेखि निर्माण व्यवसायी डाँगी सम्पर्कविहीन रहेको प्रदेश सांसद वसन्त बानियाँले बताए । मेची नदीको झोलुङ्गे पुल बनाउने जिम्मा संघीय सरकारको मातहत रहेको बताउँदै सांसद बानियाँले ‘प्रदेशमा कुरा उठाए पनि हालसम्म सुनवाइ नभएकोले स्थानीय जनताले सास्ती भोग्दै आउनु परेको उनको भनाइ छ ।

यता कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले निर्माण व्यवसायीको कमीकमजोरीका कारण समयमा पुल नबनेको बताए । निर्माण व्यवसायी डाँगीसँग सम्पर्क गर्दा पुरानो दररेटमा काम गर्ने वातावरण नभएकोले पुल बनाउन नसकेको जानकारी दिएको उनले बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरले झोलुङ्गे पुलको रेखदेखको जिम्मा पाएको छ । जिल्लास्थित पूर्वाधार विकास कार्यालय लगायत अन्य कुनै पनि कार्यालयलाईसमेत पुल हेर्ने जिम्मा नदिँदा पुल अलपत्र परेको स्थानीयवासी बताउँछन् ।

मेची नदीमा झोलुङ्गे पुल नबन्दा आउजाउ गर्ने स्थानीय हिउँद वा बर्खा दुवै मौसममा नदी तर्न शुल्क तिर्न बाध्य छन् । हिउँदमा बाँसे पुल बनाउने ठेकेदारलाई प्रतिव्यक्ति ५ रुपैयाँ, साइकलको १० रुपैयाँ र मोटरसाइकलको २० रुपैयाँसम्म तिर्छन् । अहिले बर्खामा डुङ्गा चढे बापत प्रतिव्यक्ति भारतीय १० रुपैयाँ, साइकलको २० रुपियाँ र मोटरसाइकलको ५० रुपियाँ तिर्नुपर्छ ।

नेपाली भूमि भए पनि पाठामारीमा आर्थिक कारोबार भारतीय रुपैयाँमा हुन्छ । त्यसैले आउजाउ गर्ने व्यक्तिले बाँसे र डुङ्गा चढ्दा भारतीय रुपियाँ तिर्छन् । डुङ्गाको ठेक्का स्थानीय मोहम्मद जलाल मियाँले लिएका छन् । डुङ्गा ठेकेदारले चर्को शुल्क असुल्दै आएकोप्रति स्थानीयले गुनासो गरेका छन् । कचनकवल गाउँपालिकाले लगाएको डुङ्गाको ठेक्का सम्झौता असार मसान्तमा सकिसकेको छ । सम्झौता सकिए पनि मियाले डुङ्गा सञ्चालन गर्दै आइरहेका छन् ।

गाउँपालिकाले चालू आर्थिक वर्ष ०७९/८० को लागि २ लाख ३० हजार रुपियाँमा डुङ्गा सञ्चालनसम्बन्धी ठेक्का आव्हान गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतकुमार बस्नेतले जानकारी दिए । शुरुमा २ लाख ५० हजारमा ठेक्का आव्हान गर्दा कसैले टेण्डर नहालेपछि पुनः २० हजार घटाएर टेण्डर निकालिएकोमा ४/५ जनाले टेन्डर हालिसकेका छन् । अबको दुई÷चार दिनमा ठेक्का स्वीकृत हुने पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्