बार्सिलोनाले उचाल्यो जोन ग्याम्पर ट्रफी

0
Shares

लन्डन, (एजेन्सी) ।

क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफी उचालेका छन् । मेक्सिकन क्लब पुमास युनाममाथि ६–० गोलअन्तरको सानदार जित निकाल्दै बार्सिलोनाले उक्त उपाधि जित्न सफल भएको हो । बार्सिलोनाको सानदार जितमा पेड्रीले दुई तथा रोबर्ट लेवान्डोस्की, औसमाने डेम्वेले, पिएरे एमरिक औवामियाङ र फ्रान्की डि जोङले समान एक–एक गोल गरे । गोलको वर्षा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा चार तथा दोस्रो हाफमा दुई गोल थपेको थियो ।

बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै लेवान्डोस्कीको गोलमार्फत सुरुवाती अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि नै पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए । खेलको १०औं मिनेटमा डेम्वेलेले गोल गरेपछि बार्सिलोना खेलमा ३–० ले अघि बढेको थियो । १९औं मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बार्सिलोनाले १९ मिनेटभित्रै ४–० को आरामदायी अग्रता लिन सफल भयो । ४९औं मिनेटमा परिवर्तित खेलाडी औवामियाङले गोल गरे ।

खेलको ८४औं मिनेटमा अर्का परिवर्तित खेलाडी फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई सानदार जितसहित च्याम्पियन बनाए । बार्सिलोनाले पुमासविरुद्ध दोस्रो हाफमा सुरुवाती ११ मा खेलेका खेलाडीलाई परिवर्तन गरेको थियो । पुमासले पनि १० खेलाडी परिवर्तन गरेको थियो । पुमासबाट यसै समरमा बार्सिलोना छाडेका ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसले पुमासबाट खेल्दै कप्तानी गरेका थिए । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ । हालसम्म ५७ पटक यो कपको आयोजना हुँदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ ।

गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो । एफसी कोल्नले दुईपटक तथा अज्पेस्ट, बोरुसिया मोन्चेनग्लाडवाक, इन्टर नासिनोल, पोर्टाे, मेचेलेन, टेरेरिफ, भ्यालेन्सिया, युभेन्ट्स, म्यानचेस्टर सिटी र साम्पडोरियाले समान एकपटक उपाधि जितेका छन् । बार्सिलोनाले यो सिजनको जोन ग्याम्पर ट्रफीका लागि इटालियन क्लब रोमालाई प्रस्ताव गरे पनि अन्तिम समयमा रोमाले नाम फिर्ता लिएपछि पुमाससँग खेल्ने तय भएको हो ।