१२ वर्षीया बाललेखिकाको छोटो उपन्यास पोर्टल सार्वजनिक

0
Shares

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साहित्यकारको सम्मान र संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । १२ वर्षीया बाल लेखिका गीत पछाईको अंग्रेजी छोटो उपन्यास पोर्टलको काठमाडौंमा विमोचन गर्दै सो कुरा बताउनुभएको हो । उहाँले सानो उमेरमा दोस्रो पुस्तक प्रकाशन गरेर अमूल्य कार्य गरेको बताउँदै यस्ता कलाकारलाई अमूल्य गहनाको रूपमा संरक्षण गर्नुपर्ने बताउनुभएको हो ।

बाल लेखिकाको पुस्तकले लाखौंलाई प्रेरणा दिएको भन्दै मन्त्री कार्कीले यो उपन्यासलाई विश्वभर फैलाउन सरकारले सहयोग गर्ने बताउनुभयो । विमोचन कार्यक्रममा बोल्दै शहरी विकासमन्त्री मेटमणि चौधरीले सानै उमेरमा साहित्यका माध्यमबाट अघि बढ्नु महत्वपूर्ण विषय रहेको बताउँदै यस्ता प्रतिभालाई सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले यो प्रशंसनीय सिर्जनाको कारण वाल लेखिकाको भविष्य उज्ज्वल बन्ने धारणा व्यक्त गर्नुभयो ।
पूर्वमन्त्री एवं साहित्यकार शंकरप्रसाद (एसपी )कोइरालाले विज्ञान र अनुसन्धानमा आधारित यो छोटो उपन्यासले धेरैको मन छुन सक्ने जिकिर गर्दै भन्नुभयो– ‘उपन्यास लेख्न कठिन छ, नानीले कल्पनाको उचाइ छोएकी छिन् ।’लेखिका पछाईले आमाबाबुको प्रेरणाबाट आफूले दोस्रो कृति प्रकशित गर्न पाएकोमा खुशी व्यक्त गर्दै यो उपन्यास विज्ञान, अनुसन्धान विषयमा आधारित भएको बताउनुभयो । १२ वर्षीया पछाईले सबैको प्रेरणा पाएको थप कृति प्रकाशित गर्ने बताउनुभयो । आफूले अध्ययन र अनुसन्धान गरेका विषयलाई समेटेर छोटो उपन्यास तयार गरेको बताउँदै लेखिका पछाईले भन्नुभयो– ‘यो पुस्तक लेखेर मलाई थप ऊर्जा मिलेको छ, सबैको सहयोगमा पुनः साहित्यमा लागिरहनेछु ।’

लेखिकाकी आमा जानुका ढकालले १० वर्षको उमेरमा तयार गरेको सो पुस्तक कोभिडलगायत विविध कारणले बल्ल प्रकाशन गर्ने अवसर मिलेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘छोरीको चाहना गीत लेख्नु थियो । उनले केही गीत लेखेकी छिन् । उनले अहिले तयार गरेको उपन्यासले विज्ञान र अनुसन्धानको विषयमा महत्वपूर्ण ज्ञान दिनेछ ।’ काठमाडौं उपत्यका विकास प्राधिकरणकी प्रमुख आयुक्त ढकालले आफूहरूको चाहना बुझेर छोरीले साहित्यतिर हात हाल्नपुगेकी बताउँदै भन्नुभयो –‘उनको कृति पढेर हामी खुशी छाैं, यस्ता कृतिलाई सबैले माया गर्ने हामीले यो आशा गरेका छौं ।’

यसअघि एकोहोरिंदै गीत र कथा लेख्ने गरेकी छोरीले छोटो उपन्यास लेखेको देख्दा आफूले बाल साहित्यमा उच्च स्थान राख्न सफल हुने विश्वास लिएको आमा ढकालले बताउनुभयो ।बुबा विनोद र आमा जानुका लामो समयदेखि गीत लेखन, संगीत र पत्रकारितामा संलग्न हुनुहुन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य साहित्यकार माया ठकुरीले यो उपन्यासले सबैको मन जित्न सक्ने दाबी गर्दै भन्नुभयो– ‘मलाई लाग्छ, सानी नानी गीतको मेहेनतले अरू साहित्यकारलाई प्रेरणा दिन सक्नेछ ।’