जसपा नसच्चिएपछि नेसपा गठन गर्नुपरेको हो : डा. भट्टराई

0
Shares

काठमाडौं । 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) लाई सही बाटोमा हिँडाउने अन्तिम प्रयास पनि असफल भएपछि मात्र नयाँ बाटो रोजेको बताउनुभएको छ ।

डा. भट्टराईले अध्यक्ष उपेन्द्र यादवको नाम नलिई भन्नुभयो– ‘अन्तिमसम्म पनि प्रयत्न ग¥यौं । पुरानै बाटोमा हिँड्न अभ्यस्त नेतृत्वले जसपालाई विघटनतिर लग्यो । त्यसपछि यो रूपान्तरणले हुँदैन, पुनर्गठन नै गर्नुपर्छ भन्ने निष्कर्षका साथ हामी यस कठोर विकल्पमा लागेका हौं ।’ शनिबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नेसपा) को पहिलो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै भट्टराईले जसपा रूपान्तरण भइदिएको भए नेसपाको जन्म नै नहुने प्रष्ट पार्नुभयो ।

डा. भट्टराईले जसपालाई क्षेत्रीय संकीर्णवादी दलको रूपमा चित्रण गर्दै भन्नुभयो– ‘जनता समाजवादी पार्टी संकीर्ण क्षेत्रीय दलमा रूपमा रूपमान्तरण भएको छ, पतन भएको छ । त्यसले अब देशको वैकल्पिक राजनीतिको कार्यभार पूरा गर्न सक्दैन ।’ उहाँले नयाँ पार्टी गठन गर्नुको औचित्य प्रष्ट्याउँदै भन्नुभयो– ‘त्यसैले हामीले फेरि नयाँ ढंगले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामी नेपाल समाजवादी पार्टी निर्माण गरेर अघि बढेका छौं ।’
नेसपाका नेता भट्टराईले नयाँ बाटो अप्ठ्यारो भए पनि नयाँ इतिहार रच्ने आँट गरेको बताउनुभयो ।

‘नयाँ इतिहास शुरू गर्ने हिम्मत र आँट गरेका छौं’, भट्टराईले भन्नुभयो– ‘नयाँ काम जहिल्यै पनि अप्ठ्यारो हुन्छ । अप्ठ्यारोसँग जुधेर मात्रै ऐतिहासिक, रूपान्तरणका काम गर्न सकिन्छ । सजिलो बाटो त जो पनि हिँड्छ ।’नेसपाको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्नेछ । त्यसलाई वैधानिकता दिने प्रक्रिया पूरा भएपछि चुनावी तयारीमा जुट्ने भट्टराईले जानकारी दिनुभएको छ ।