चीन र अमेरिकाबीच युद्ध भड्किएमा नेपाल आणविक भुमरीमा पर्ने खतरा


काठमाडौं।

अमेरिकाको तल्लो सदनका सभामुख न्यान्सी पेलोसीले गत मंगलबार चीनको आपत्तिका बाबजुद ताईवानको दुई दिने भ्रमण गरेपछि चीन र ताईवानबीच तनाव चर्किएको छ । ताईवानको समुद्रमा चीनले क्षेप्यास्त्र प्रहार गरी सैन्य अभ्यासलाई तीब्रता दिइरहेको छ । चीन र ताइवानबीच कथंकदाचित युद्ध भइहालेमा यो युद्ध चीन र ताइवानबीच नभई आणविक अस्त्र सम्पन्न चीन र अमेरिकाबीच हुनेछ । यसबाट नेपाल पनि आणविक भुमरीमा पर्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

जापानको हिरोशिमा र नागासाकीमा आणविक बम खसालेर विध्वंस मचाएको ७७ औं स्मृति दिवसको अवसरमा नेपाल अफ्रो–एसियाली जनएकता संगठनले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले त्यतिबेला अमेरिकासँग मात्र आणविक हतियार भएको तर अहिले चीन, अमेरिका, रुस, पाकिस्तान, उत्तर कोरियालगायतसँग आणविक हतियार भएको अवस्थामा युद्ध चर्किय त्यतिबेलाको भन्दा पनि भयावह हुने बताउनुभयो ।

उहाँले नेपाल आफूसँग आणविक हतियार नभए पनि तीनैतिरबाट छिमेकी राष्ट्रका आणविक स्टेशनबाट घेरिएको जिकिर गर्दै भन्नुभयो– ‘तिब्बत, बेलुचिस्तान, उत्तर प्रदेशको नरौरा परमाणु विद्युत केन्द्रमा कुनै चुहावट भए वा गल्ती भए हामी त्यसको शिकार हुनेछौं ।’ उहाँले नेपालमा रेडियोधर्मी विकिरण मापन गर्ने प्रयोगशाला नभएको कारण हाम्रो हावा, पानी, माटोमा रेडियोधर्मी विकिरणबाट कति प्रदुषित छ भन्ने थाह नभएको बताउँदै त्यसको मापन गर्ने प्रयोगशाला स्थापना गर्ने आवश्यक्ता औंल्याउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राडा मोतीलाल शर्मा भुसालले दक्षिण एसियामा भारत, पाकिस्तान र चीन आणविक अस्त्रबाट सुसज्जित भएकोले त्यहाँ कुनै दुर्घटना भएमा त्यसको विकिरण हामीकहाँ आउने उल्लेख गर्दै नेपालमा यसको अनुगमन गर्ने संयन्त्र जरुरी भएको बताउनुभयो ।

पूर्वमन्त्री कृपासुर शेर्पाले सरकारले छिमेकी राष्ट्रहरूसँग उनीहरूका आणविक उर्जा केन्द्रले हामीलाई पार्ने असरबारे बहस शुरु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मानव सभ्यताविरुद्धकै पराकाष्ट प्रयोग हुने आणविक अस्त्रको उत्पादन, भण्डारण र बिक्रीवितरण बन्द हुनुपर्नेमा सबै शान्तिकामीहरू सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

संगठनका महासचिव प्राडा गोपाल पोखरेल ‘विवस’ले विश्व शान्तिका लागि आणविक अस्त्रमुक्त क्षेत्रको अवधारणा अघि बढाउन जरुरी भएको जिकिर गर्दै हिरोशिमा र नागासाकीमा जनताप्रति समबेदना र ऐक्यबद्धता व्यक्त गर्नुभयो । उहाँले अब कसैले पनि फेरि हिरोशिमा र नागासाकीको नियती भोग्नु नपरोस् भनेर सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका सहभागीहरूले अब विश्वले फेरि अर्को हिरोशिमा र नागासाकी बेहोर्न नसक्ने भन्दै आणविक शक्ति सम्पन्न राष्ट्रहरूलाई मानव समुदाय र सभ्यताप्रति जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन् ।