पनौती ७ मा स्वास्थ्य चौकीको भवन शिलान्यास

६ वर्ष देखि एक्स-रे मेशिन दराजमा



काभ्रे । 

पनौती नगरपालिका वडा नम्बर ७ मा हाल रहेको स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी १० शैया अस्पतालको पूर्वाधार निर्माणका लागि भवन निर्माणको कार्य प्रारम्भ गरेको छ । प्रदेश सभा सदस्य एवं पूर्व मन्त्री चन्द्र लामाले २ करोड लागतमा निर्माण हुने भवनको शिलान्यास गर्नु भएको छ ।  ‘१ करोड ९९ लाख ५८ हजार ९ सय ९८ रुपैयाँको लागतमा तयार गर्ने गरी इस्ट मेट भएको भवनको बोलपत्र आव्हान पछि १ करोड २२ लाख ७४ हजार ९ सय ८७ रुपैयाँमा सम्झौता भएको छ’– वडा अध्यक्ष सविन ताम्राकारले भन्नुभयो–‘चालु आर्थिक वर्ष भवन निर्माण कार्य सम्पन्न गरी बाँकी पूर्वाधार र जनशक्तिका लागि आगामी वर्षको बजेटमा समेटिनेछ ।’

वडाको गौरवको आयोजना स्वरूप वडा नम्बर ७ ले तत्कालीन नमुना सामुदायिक अस्पतालका लागि लगाइएको सप्ताहबाट संकलन भएको रकमबाट बनाइएको भवनमा स्वास्थ्य चौकी सञ्चालन गरिरहेको थियो । १० आना जमिन खरिद गरेको उक्त समितिले निर्माण गरेको भवनमा भूकम्प पछि स्वास्थ्य चौकीले बर्थिङ्ग सेन्टर, मानसिक स्वास्थ्य लगायतका अन्य सेवाहरू उपलब्ध गराउँदै आएको छ । उक्त स्वास्थ्य चौकीलाई विस्तार गरी अस्पतालको सेवा प्रभाव गर्न भवन निर्माण गरिएको वडा अध्यक्ष ताम्राकारले बताउनु भयो । २०७४ मा निर्वाचित जनप्रतिनिधि नगर प्रमुख भीम न्यौपाने, वडा अध्यक्ष रामचन्द्र नास्नानी लगायतको टिमले उक्त स्थानमा स्वास्थ्य चौकी निर्माणका लागि बहुबर्षिय गौरवको योजना स्वरूप २ करोड रकम विनियोजन गरेको थियो ।

भवन शिलान्यास पछि प्रदेश सभा चन्द्र लामाले पनौती नगरपालिका क्षेत्र भित्र स्वास्थ्य संस्थाहरूको सुदृढीकरण तथा गुणस्तरीय स्वास्थ्यका लागि प्रदेश सरकारले समन्वय गर्ने बताउनु भयो । सडक, शिक्षा लगायत अन्य पूर्वाधार निर्माणमा जस्तै स्वास्थ्यको पूर्वाधार निर्माणमा पनि सहयोग र समन्वय रहने उहाँले बताउनु भयो । नगर प्रमुख रामशरण भण्डारीले नगरपालिकाले नगर भित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमा प्रभावकारी सेवा सञ्चालनका लागि आवश्यक पहल गर्ने बताउनु भयो । संविधान सभा सदस्य रामहरी सुवेदी, निवर्तमान नगर प्रमुख भीम न्यौपाने, पूर्व नगर प्रमुख सप्तकाजी बुद्धाचार्य, एमाले अध्यक्ष सुरेश हुमागाईँ, नेपाली काँग्रेसका श्रीराम थापा, प्रमुख प्रशासकीय अधिकृत इन्द्र अधिकारी, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना, वडा सदस्यहरु राम सुन्दर भुजु र श्याम बस्नेत लगायतले कलात्मक शैलीबाट निर्माण हुन लागेको भवनसँगै जनशक्ति सहितको सेवा सुचारु गर्नु पर्ने बताएका थिए । तत्कालीन जनप्रतिनिधिहरूले शुरु गरेका गौरवका आयोजनाहरू निरन्तरता दिन र संघ सरकारले विनियोजन गरेको योजनाहरुको बजेट निरन्तरताका लागि एमालेले नेतृत्वको ध्यानाकर्षण गराएको थियो । सोही अवसरमा वडा नम्बर ७ मा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

‘६ वर्ष देखि दराजमा एक्स-रे’

पनौती नगरपालिका वडा नम्बर ७ मा रहेको स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर सञ्चालन भएको ७ वर्ष भएको छ । बर्थिङ्ग सेन्टरमा सेवा लिन आउने गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण, परिवार नियोजन, ल्याब परीक्षण लगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ । अस्पतालले प्राप्त गरेको गर्भवती परीक्षणका लागि आवश्यक भिडियो एक्स-रे मेशिन दक्ष जनशक्ति अभावका कारण ६ वर्ष देखि दराजमा ताल्चा लगाएर थन्काइएको छ । ई सिजी मेशिन भए पनि कागज नभएका कारण ई सिजी सेवा सुचारु हुन सकेको छैन ।
‘आर्थिक वर्ष २०७८-२०७९ मा बर्थिङ्ग सेन्टरमा ३५ जना महिला सुत्केरी भएका छन्’–बर्थिङ्ग सेन्टरमा कार्यरत नर्स सनि श्रेष्ठले भन्नुभयो–‘२४ सै घण्टा सेवा प्रदान गरिएको बर्थिङ्ग सेन्टरमा चार जना नर्सहरू कार्यरत रहे पनि आफूले भने अझै तालिम प्राप्त गर्न सकेको छैन ।’ तीन जना नर्सहरू तालिम प्राप्त भए पनि सनिले तालिमको अवसर नपाएको बताउनु भयो ।

‘गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने भिडियो एक्स-रे मेशिन सञ्चालन गर्ने जनशक्ति नभएका कारण प्राप्त मेशिन सञ्चालन गर्न सकिएको छैन’–स्वास्थ्य चौकी इन्चार्ज हेमलता मश्राङ्गीले भन्नुभयो–‘भिडियो एक्स-रे मेशिनका लागि जनशक्ति र ई सिजी मेशिन सञ्चालनका कागज बैठक नै पिच्छे माग गरेका छौँ, व्यवस्थापन हुन सकेको छैन ।’ उक्त सेवा सञ्चालन हुन सके बिरामीहरूका लागि थप सहजता हुनेछ । स्वास्थ्य चौकीमा भएको मेशिन सञ्चालनमा नआउँदा गर्भवती महिलाहरूले एक पटकको ७ सय वा सो भन्दा धेरै रकम तिरेर अन्यत्र एक्स-रे गराउँदै आएका छन् । नगरपालिकाले ई सिजी मेशिनका लागि आवश्यक पर्ने प्रिन्ट कागज उपलब्ध नगराउँदा उक्त सेवा पनि सुचारु गर्न नसकिएको उहाँले बताउनु भयो ।

बजारको केन्द्रमा रहेको स्वास्थ्य चौकीमा वार्षिक २ हजार ८ सयले सेवा लिएको हेल्थ असिस्टेन्ट लता कोइरालाले जानकारी दिनु भयो । ‘अस्पतालले दिने ल्याब, गर्भवती महिलाको परीक्षण, परिवार नियोजन सेवा, ल्याब सँगै मानसिक स्वास्थ्य पनि प्रमुख हो’–हेल्थ असिस्टेन्ट लता कोइरालाले भन्नुभयो –‘मासिक रूपमा सञ्चालन भएको मानसिक स्वास्थ्य शिविरमा १ सय १२ जनाले निःशुल्क सेवा सहितको औषधी लिनुहुन्छ ।’ स्वास्थ्य चौकीमा ३८ प्रकारका निःशुल्क औषधी उपलब्ध छन् भने २ जना मेडिकल अफिसर डाक्टर, ४ जना नर्स, ३ पारामेडिक्स, १ जना ल्याब र २ जना कार्यालय सहयोगी कार्यरत छन् ।

भवन अभावका कारण सबै सेवा एकै स्थानबाट उपलब्ध गराउँदा असहज भएको हेल्थ असिस्टेन्ट लता कोइरालाले जानकारी दिनुभयो । पनौती नगरपालिकामा १५ वटा स्वास्थ्य संस्था छन् । खोपासीमा अस्पताल सञ्चालनका लागि भारतीय सरकारको सहयोगमा पूर्वाधार निर्माण गरिएको छ । अस्पताल सञ्चालनमा आएको छैन । खोपासी, पनौती र कुशादेवीमा तीन वटा ल्याब, तीन वटा बर्थिङ्ग सेन्टर रहेको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाले बताउनु भयो । स्वास्थ्य विमाका कार्यक्रम तथा नगरपालिकाले सुरु गरेको स्वास्थ्य विशेष कार्यक्रम सहित थप सेवा सञ्चालनका लागि आवश्यक कार्य भइरहेको तिमल्सिनाले बताउनु भयो । एक्स-रे मेशिन सञ्चालनका लागि आवश्यक जनशक्तिका बारेमा नगरपालिकाले व्यवस्थापन गर्ने तयारी भइरहेको तिमल्सिनाले जानकारी दिनु भयो । वडा अध्यक्ष सविन ताम्राकारले भवन निर्माणसँगै सञ्चालन हुन नसकेका सबै सेवाहरूमा नियमितता हुने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्