संसदीय निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा हुने



काठमाडौं । 

सरकारले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको आगामी मङ्सिर ४ गते सोमबार एकै चरणमा गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनका दलहरूबीच सहमति भएअनुरूप बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति तय गरेको सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचनसम्बन्धी कानुनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ । आयोगले यसअघि गत असार २२ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनका लागि मङ्सिर २ गते शुक्रबारको मिति प्रस्तावित गरेको थियो ।

निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचनको अवधि शुरू भएको छ । निर्वाचनसम्बन्धी ऐनअनुसार निर्वाचन घोषणादेखि मतदानको दिनसम्मलाई निर्वाचनको अवधि भनिन्छ । निर्वाचनको अवधि सामान्यतया १ सय २० दिन कायम हुुनुपर्ने सरकारले मिति घोषणा गर्न केही ढिलाइ गरेको कारण निर्वाचन आयोगले १ सय ७ दिन निर्वाचनको तयारी गर्नुपर्ने भएको छ ।

तोकिएको मितिमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलिरहित बनाउन आयोग तयार रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगले मङ्सिर ४ गतेलाई अर्जुन दृष्टि बनाएर काम थाल्ने बिहीबार आयोजित पत्रकार भेटघाटमा प्रतिबद्धता व्यक्त गर्नुभयो । चुनावको मिति घोषणा भएसँगै शुक्रबारदेखि फोटोसहितको मतदाता नामावली संकलन बन्द हुने आयोगले जनाएको छ । आयोगले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन शुरू गरेको थियो । निर्वाचन घोषणा गरिएसँगै आयोगले निर्वाचन कार्यतालिका बनाउने कार्य अघि बढाउने पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

दर्ता भइसकेका मतदाता नामावली अद्यावधिक जिल्ला निर्वाचन कार्यालय, प्रदेश निर्वाचन कार्यालयले गर्ने छ । त्यसपछि मतदाता नामावली सार्वजनिक गरिने छ । त्यसै गरी फोटोसहितको मतदाता नामावलीको लागि अनलाइनबाट फाराम भरेर संकेत नम्बर पाएका मतदाताको हकमा श्रावण २१ गतेसम्म निर्वाचन कार्यालयमा गएर फोटो खिच्न र औंठा छाप लगाइसक्नुपर्नेछ ।

यसबीच मतदाता नामावली अद्यावधिक गरेपछि स्थानीय तहको निर्वाचनको तुलनामा करिब १० लाख नयाँ मतदाता थपिने अनुमान आयोगले गरेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १८ वर्षमाथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका थिए ।विगतमा निर्वाचनमा मतदान केन्द्र र मतदान स्थल सबैको पहुुँच योग्य नभएको गुनासोलाई मध्यनजर गरी आयोगले मतदानस्थल र केन्द्रको पुनरावलोकन गर्ने जनाएको छ । कतिपय ठाउँमा मतदाताहरू टाढासम्म हिँड्नु परेको र कतिपय ठाउँका मतदातालाई अर्को अपायक ठाउँमा मतदान केन्द्र तोकिएकाले त्यसलाई मिलाउने काम गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।

त्यसै गरी आयोगले केही दिनमै निर्वाचन भाग चाहने दलहरू दर्ताको लागि तयारी थाल्ने योजना बनाएको छ । सम्भवतः सोमबार वा मंगलबारभित्र प्रतिनिधिसभा वा प्रदेशसभा निर्वाचनका लागि दल दर्ता आह्वान गर्ने छ ।दल दर्ताको काम सकिएलगत्तै राजनीतिक दलहरूलाई समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउन सार्वजनिक आहवान गर्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो– ‘त्यसपछि त्यसमा दाबीविरोध, छानबिन र अरू काम गरेर घटस्थापना सेरोफेरोको समयमा अन्तिम नामावली (बन्दसूची) प्रकाशित गर्ने आयोगको योजना छ । समानुपातिकपछि आयोगले प्रत्यक्षतर्फ मनोनयनदेखि अन्तिम नामावली प्रकाशन गर्ने छ । दशैंअघि समानुपातिकको काम सक्नेछौं । दशैंलगत्तै प्रत्यक्ष निर्वाचनको मनोनयनका कामहरू टुंग्याउनुपर्ने हुन्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि मङ्सिर २१ सम्म रहेको भए पनि निर्वाचनमा उम्मेदवारी दिएपछि निजहरूको पद स्वतः समाप्त हुने जानकारी दिनुभयो । उहाँले कार्तिक महिनामा उम्मेदवारको प्रचारप्रसारको समय तोकिने आयोगले सोच बनाएको बताउनुभयो ।यसैबीच आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ कर्मचारी, सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरेको छ । उनीहरूलाई अस्थायी मतदाताको रूपमा मतदान गर्न दिने माग सकेसम्म पूरा गर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो । सर्वोच्च अदालतको आदेशअनुरूप आयोगले सो व्यवस्था मिलाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्