निशा घिमिरे पुरस्कार पवित्रा र उषालाई

0
Shares

अभिनेत्री तथा मोडल स्व. निशा घिमिरेको स्मृतिमा स्थापित निशा घिमिरे स्मृति कोषले दुई अभिनेत्रीलाई पुरस्कार प्रदान गर्ने भएको छ।

कोषको हालै बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार जनही २५ हजार रुपियाँ सहित अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको छ। कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मान गर्ने निर्णय पनि गरेको छ।

केही वर्षअघि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री, मोडल निशा घिमिरेको नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार गरिएको थियो। ५-६ महिनाको उपचारका क्रममा घिमिरेको गत २०७८ भदौ १६ गते निधन भएको थियो।

उनी उपचारमा रहेको अवस्थामा देश विदेशमा रहेका शुभेच्छुक र सहृदयी दाताले उनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाएको तथा गत वर्ष स्व. घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा संरक्षण कोष गठन गरिएको निशा घिमिरे स्मृति कोषका सदस्य सचिव मोहन निरौलाले जानकारी गराए।

निशाको निधनपछि शुभेच्छुक दाता र सञ्चारकर्मी प्रकाश सुवेदीको सक्रियतामा कोषमा जम्मा भएको रकम अक्षय कोषमा राखी प्रत्येक वर्ष दुईजना मोडल अभिनेत्रीलाई निशा घिमिरे स्मृति पुरस्कार दिने निर्णय भएबमोजिम यस वर्षको पुरस्कारको निर्णय गरिएको निरौलाले बताए। उक्त पुरस्कार र सम्मान कार्यक्रममा आगामी भदौ १६ गते राजधानीमा हुनेछ।