साकिराविरुद्ध कर छलीको मुद्दा

0
Shares

लोकप्रिय पपस्टार साकिरा फेरि एकपटक कर छलीको मुद्दामा मुछिएकी छन्। उनलाई स्पेनी अभियोजनकर्ताहरूले सन् २०१२ र २०१४ बीच करिब १४.५ मिलियन युरो कर नतिरेको आरोपसहित आठ वर्ष जेल सजायका साथमा ३४ मिलियन युरो क्षतिपूर्तिसहित माग गर्दै मुद्दा दायर गरेको बीबीसी अनलाइन सेवाले जनाएको छ।

साकिराले यसै हप्ता उक्त आरोप अस्वीकार गर्दै त्यसलाई सुल्झाउनसमेत अस्वीकार गरेकी छन्। साकिराको प्रतिनिधिद्वारा जारी वक्तव्यअनुसार साकिराले आफू यस विषयमा निर्दोष भएकोमा पूर्णरूपमा विश्वस्त रहेको र यस मुद्दालाई आफ्नो अधिकार उल्लंघनको दृष्टिकोणले हेर्ने बताएकी छन्। अभियोककर्ताहरूले साकिरा सन् २०१२ देखि २०१४ बीचमा स्पेनमा बसेको बताएका छन्।

स्पेनमा ६ महिनाभन्दा बढी बस्ने व्यक्तिहरू स्वतः करको दायरामा आउनुपर्ने नियम छ। तर, साकिराले भने उक्त समय आफू त्यति धेरै समय स्पेनमा नबसेको दाबी गर्दै आएकी छन्। समाचारमा साकिराले सन् २०१२ मा बार्सिलोनामा घर किनेको र तत्कालीन पार्टनर तथा फुटबलर स्टार जेरार्ड पिकेको साथ बस्दै आएको जनाइएको छ। हाल साकिरा र पिके अलग भइसके पनि यस मुद्दामा उनी पनि जोडिन सक्ने समाचारमा जनाइएको छ।

४५ वर्षीया साकिरा र ३५ वर्षीय पिकेले ११ वर्षको लिभिङ टुगेदरको सम्बन्धपछि गत जुनमा अलगिएको घोषणा गरेका थिए। उनीहरूको सात र नौ वर्षका दुई छोरा छन्।