पर्यटकको आकर्षणको केन्द्र बन्दै छहरा झर्ना

0
Shares

डोटी । 

माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज । यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन र ?

यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । हिजोआज यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ । जिल्लाभित्रकै मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयबासी बताउँछन् ।

जिल्लामा कोभिड–१९ को जोखिम कम भएसँगै अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै जान थालेको नेकपा (एकीकृत समाजवादी) का नेता तथा जोरायल गाउँपालिका–२ पात्तडाका स्थानीय रोहित बोहराले बताउनुभयो । ‘अहिले कोरोना कहर पनि छैन, झरनामा रमाउन दिनहुँ सयौं पर्यटक आउन थालेका छन्, पर्यटक आउन थालेपछि पूरै छहरा क्षेत्र रमणीय बन्दै गएको छ ।’ –उहाँले भन्नुभयो । छहरा झरना अवलोकन तथा भ्रमणका लागि कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीयबासी आउँदा भीड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरको कथन छ ।

छहरा क्षेत्रमा केही समय पहिले छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था पनि गरेको थियो । छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउनका लागि निर्वतमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन बोर्डबाट विभिन्न शीर्षकमा बजेट विनियोजना गराएर काम अगाडि बढाइएपछि अहिले यहाँ रमाउनकै लागि दैनिक सयौं नागरिक आउने गरेको अर्का स्थानीय सिद्ध जेठाराले बताउनुभयो ।

झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयवासीले झरना, मन्दिर, सडक, तलाउ आदिमा पौडी खेल्ने लगायत तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै यसको प्रचार–प्रसारमा समेत जुटेका छन् । विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले विकास र विस्तार भएको छ । प्रायः यहाँ बनेका संरचनाका बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेकै कारण सबैको मुख–मुखमा छहरा झर्ना झुण्डिँदै गएको जोरायल गाउँपालिका–२ बुडरका पूर्ववडा सदस्य शंकर रावलले बताउनुभयो । नाम मात्रै सुनेका तथा झर्नाको तस्वीर मात्रै देखेका नागरिक पनि अहिले यो झर्नासम्म पुग्ने गरेका छन् ।

झर्ना अवलोकन तथा झर्नामा रमाउनकै लागि पर्यटकहरु आउन थालेपछि अहिले यहाँको व्यापार व्यवसायमा थप वृद्धि भएको बुडर स्थित गुल्मेली होटेलका सञ्चालक मनोज लामा बताउनुहुन्छ । जिल्ला सदरमुकाम सिलगढीबाट चार घण्टा तथा कैलालीको अत्तरियाबाट दुई घण्टाको गाडी यात्रामा पुगिने यो झर्नामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ ।
कतिपय युवा समूह नै बनाएर यो झर्नाको अवलोकन गर्न पुग्ने गरेका छन् ।

आन्तरिक पर्यटक आउने तथा एक-दुई दिन यतै बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटेल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटेल व्यवसायीहरु बताउँछन् ।जोरायल गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था गरेको छ । कच्ची सडकमा पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ ।

यहाँका छहरा, झर्नालगायत अन्य पर्यटकीय स्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउनका लागि सडकसहित पूर्वाधार विकास निर्माणकार्य गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । छतिवनसहित जिल्लामा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ ।आन्तरिक तथा बाह्य पर्यटक बढेपछि आर्थिक अवस्थालगायतका क्षेत्रमा सुधार हुने सम्भावना रहेको पर्यटक व्यवसायी दीपकबहादुर खड्काको भनाइ छ ।