माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतीजा खस्किएको विश्लेषण एकथरिको छ भने अर्काथरि विगत दुई वर्ष विद्यालयले दिएको अंकलाई नै आधार बनाएर परीक्षा प्रकाशित गरेको, अन्तिम परीक्षा नै नभएका कारण उच्च श्रेणीमा अधिक संख्यामा उत्तीर्ण भएको, यस पटक परीक्षा प्रणालीमा बढी शुद्धता आएका कारण नतिजा खस्किएको जस्तो देखिएको मात्र हो भनिरहेका छन् ।
यी दुवै तर्कमा के–कति तौल छ, त्यो भने निश्चितताका साथ भन्नसकिने अवस्था छैन । किनभने यस विषयमा गम्भीर र गुणात्मक अनुसन्धान नगरी केही भन्नसकिन्न, भन्नु पनि हुन्न । विगत २०७७ र ७८ मा एसर्ईईको अन्तिम परीक्षा नभएकै कारण त्यस अवधिका बालबालिकालाई चोट पुग्नेगरी अभिव्यक्ति दिने अधिकार कसैलाई छैन । किनभने विद्याथीले जाँच दिन नचाहेको अवस्था थिएन र जाँचमा नबसेका कतिपय विद्यार्थीले अझ राम्रो अंक ल्याउने सम्भावनालाई पनि नकार्न मिल्दैन ।
राष्ट्रिय परीक्षा बोर्डले साउन ११ गते सार्वजनिक गरेको नतीजा पछिल्लो पाँच वर्षकै कमजोर भएको भन्दै सांसदहरूले प्रतिनिधिसभामा आवाज पनि उठाएका छन् । उनीहरुले यसमा छानबिन हुनुपर्ने माग समेत गरेका छन् । यो वर्ष परीक्षामा सहभागी करीब पाँच लाखमध्ये जम्मा ४२ जनाले जीपीए (ग्रेड पोइन्ट एग्रिमेन्ट) ४ मा ४ ल्याएका छन्् जब कि विगत वर्ष यो स्तर ल्याउने ९ हजार विद्यार्थी थिए । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (कक्षा १०) को परीक्षामा सबैभन्दा बढी २ देखि २ दशमलब ४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७ सय ३३ छ । त्यसैगरी १ दशमलब ६ देखि २ जिपिए ल्याउने परीक्षार्थीको संख्या १ लाख ५ सय ९४ छ ।
परीक्षामा २२ हजार ५ सय ३७ परीक्षार्थीले पूरै परीक्षा दिएनन् । त्यस्तै, १ सय ३ परीक्षार्थी निष्कासनमा परे । विवरण अनुसार ३ दशमलब ६ देखि ४ जिपिए ल्याउने परीक्षाथीको संख्या ९ हजार ६ सय ३३ रहेको छ । त्यस्तै ३ दशमलब २ देखि ३ दशमलब ६ जिपिए ल्याउने परीक्षार्थीको संख्या ४१ हजार ६ सय २७ देखिन्छ । २ दशमलब ८० देखि २ दशमलब २ ल्याउनेको संख्या ७९ हजार ९ सय छ । ९० हजार ७ सय ५८ जनाले २ दशमलब ४ देखि २ दशमलब ८ जिपिए ल्याएका छन् । कोभिड– १९ महामारीका बेला दुई वर्ष विद्यालयले नै आन्तरिक मूल्यांकन गर्दा क्रमशः नौ हजार १९ र आठ हजार चार सय ४४ ले ४.० जिपिए ल्याएका थिए ।
कोभिड कालका दुई वर्ष विद्यालयले आन्तरिक मूल्यांकन गर्दा विद्यार्थीलाई मनपरी नम्बर दिएको आरोप लागेको र अहिलेको नतिजाले सो आरोप पुष्टि गरेको देखिन्छ । तर, बोर्डका पदाधिकारीहरु नतिजा सन्तोषजनक रहेको दाबी गर्छन् । कोभिडको समस्या पूरै नहटेको र सबै परिस्थिति ठीक नभएको अवस्थामा अहिलेको नतिजा राम्रो भएको दाबी बोर्डको छ । यस दाबीलाई पनि सत्यताको निकट मान्नुपर्छ ।
प्रतिक्रिया