कट्रिनालाई एकतर्फी माया गर्नेको धम्की

0
Shares

केही दिनयता बलिउड सेलिब्रेटी जोडी विक्की कौसल र कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएकाले उनीहरुले मुम्बईस्थित सान्ताक्रुज प्रहरीसमक्ष उजुरी दर्ता गराएपछि प्रहरीले मलविन्दर सिंह नामको व्यक्तिलाई पक्राउ गरेको छ।

बलिउड तड्कामा प्रकाशित समाचारअनुसार बलिउडमा संघर्षरत अभिनेता मलविन्दरलाई पक्राउपछि गरिएको सोधखोजको क्रममा उनले आफू मुम्बईमा फिल्ममा काम पाउनका लागि संघर्ष गरिरहेको र अभिनेत्री कट्रिनालाई आफूले एकतर्फी प्रेम गर्ने गरेका कारण नक्कली इन्स्टाग्राम अकाउन्टमार्फत धम्की दिने गरेको बताएका छन्।

उक्त अकाउन्टमा मलविन्दरले कट्रिना आफ्नो प्रेमिका तथा पत्नी भएको उल्लेख गर्दै प्रविधिको सहायताले आफ्नो तथा कट्रिनाको फोटो जोडेर विभिन्न क्याप्सनसहित सामाजिक सञ्जालमा अपलोड गर्ने गरेको पाइएको समाचारमा उल्लेख छ।
विक्कीले आफ्नो म्यानेजरमार्फत दर्ता गराएको उक्त उजुरी पत्रमा सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू र कट्रिनालाई ती व्यक्तिले केही दिन अघिदेखि लगातार धम्की दिएका उल्लेख छ। ती व्यक्तिलाई पक्राउपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको दैनिक भाष्करमा प्रकाशित समाचारमा उल्लेख छ।

गत महिना अभिनेता सलमान खानलाई समेत अपरिचित व्यक्तिबाट ज्यान मार्ने धम्की अँएको थियो। एक बिहान उनका पिता सलीम खान मर्निङ वाक गरिरहेका बेला एक अपरिचित व्यक्तिले उनी तथा सलमान समेतलाई मार्ने धम्कीसहितको पत्र दिएको थियो।