गीतकार अधिकारीलाई अरूण थापा सम्मान


भक्तपुर सांगीतिक समाजको आयोजनामा भक्तपुरमा अरूण थापा स्मृति दिवस सम्पन्न भएको छ। गायक अरूण थापाको २३औं स्मृतिमा समाजका अध्यक्ष प्रवीण शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सांगीतिक प्रस्तुतिका साथ सम्मान गरिएको थियो।

सो अवसरमा कवि तथा गीतकार दिनेश अधिकारीलाई अरूण थापा स्मृति सम्मानबाट सम्मानित गरिएको थियो। समाजका सचिव तथा कार्यक्रम संयोजक अल्वर्ट बज्राचार्यले स्वागत गरेको कार्यक्रममा नयाँ देखि पुराना गायकले अरूण थापाले गाएका गीत गाएर सुनाएका थिए।

‘अरूण थापाले मेरो गीत गाएका छन्, तर चर्चामा छैन। आज म त्यही गीतमा सम्मानित हुन पाउँदा, श्रोता र संस्थाले खोजीखोजी सम्मान गर्दा त्यो गीतको समाजको स्विकारोक्तीका रूपमा लिएको छु’ कार्यक्रममा सम्मानित गीतकार अधिकारीले भने।

प्रमुख अतिथि संगीतकार दीपक जंगमले गायक थापालाई तत्कालीन समाज र राज्यले चिन्न नसकेकोमा दुःख व्यक्त गरे। ‘बिबिसिको सर्वेक्षणमा थापाले गाएको गीत ऋतुहरूमा तिमी गीत दोस्रो नम्बरमा प-यो। तर उनलाई कसैले बधाई समेत दिएनन्। जबकि भारतको दुई गीत बन्दे मातरम् र छैया छैया आठौं र दशौंमा प-यो।

उनीहरूले धेरै प्रचार र उपलब्धि ठाने। त्यतिबेला अरूण बितिसकेका थिए। उनकी श्रीमतीलाई मेरै पहलमा बधाई र सम्मान दिलाउन लगाएँ । उनको गायकी र प्रतिभालाई चिन्न नसक्नु हाम्रो कमजोरी हो। अरूणलाई उनको स्वरले युगौंसम्म बचाइ राख्नेछ’ संगीतकार जंगमले भने। समाजका सल्लाहकार साहित्यकार ध्रुव मधिकर्मीले सम्मानित गीतकार अधिकारीको व्यक्तित्व र कृतित्व प्रकाश पारे।