जिउँदा बाबुको छोराले गरे मृत्यु दर्ता

0
Shares

 काभ्रे । 

जिउँदो बाबुको मृत्यु दर्ता गरी उनको नाममा भएको सम्पति आफ्नो नाममा गरेका छोराले आत्महत्या गरेका छन् । जिल्लाको विकट खानिखोला गाउँपालिका वडा नम्वर ३ स्थित छोरा जितबहादुर तामाङले २०६३ साल असोज २१ गते बाबु कृष्णबहादुर थिङ्गको मृत्यु दर्ता गराएको रेकर्डमा रहेको वडा सचिव रामकृष्ण अर्यालले बताउनु भयो । मृत्यु दर्ता गरिएका बाबु कृष्णबहादुर थिङ्ग २०७० साल देखि सामाजिक सुरक्षा भत्ता लिईरहेका छन् ।
‘एउटा अभिलेखमा कृष्णबहादुरको मृत्यु दर्ता गरिएको छ ।

अर्काे अभिलेखमा सामाजिक सुरक्षा प्राप्त गर्ने ब्यक्तिको सूचीमा नाम उल्लेख छ’–वडा सचिव रामकृष्ण अर्यालले भन्नुभयो–‘एउटै ब्यक्तिको दुबै अभिलेख देखिएको भए पनि हटाउन सकिएको छैन । पञ्जिकरण विभाग तथा अन्य निकायमा गरिएको समन्वय अनुसार एउटा अभिलेख हटाउने प्रयास भएको छ ।’ २००१ साल चैत्र ३० गतेको जन्म राखि नागरिकता प्राप्त गरेका कृष्णबहादुर थिङ्गले राज्यले निर्धारण गरेको उमेर अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त नगरे पछि वडामा गुनासो गरेका थिए ।

वडाको अभिलेखमा २०६३ सालमा नै छोरा जितबहादुरले मृत्यु दर्ता गराई मालपोत कार्यालयमा भएको जग्गा आफ्नो नाममा नामसारी समेत गराएको बताएका थिए । जिउँदा बाबुको मृत्यु दर्ता गर्ने जितबहादुरलाई परिवार र आफन्तले सोधपुक्ष गरेको केहि महिना पछि अत्याधिक मादक पदार्थ सेवन गरेर २०७४ सालमा झुण्डिएर आत्महत्या गरेका थिए । कृष्णबहादुरका दुई छोरा मध्ये जितबहादुर जेठा हुन् । पुर्णमान थिङ्ग सानो हुँदै खोलाले बगाएर मृत्यु भएकाले छोरीहरु मात्रै छन् ।

जितबहादुरका भने ३ छोरा ३ छोरी छन् । जेठो छोरा विलबहादुर थिङ्गले हजुरबुबा जिउँदो हुँदा हुँदै बाबुले मृत्यु दर्ता गरेकोमा आश्चर्य ब्यक्त गरे । ‘हामी त सानै थियौं, बुबाले किन त्यस्तो गर्नु भयो ? सोधेको जवाफ नै नदिई उहाँ झुण्डिएर वित्नु भयो’–छोरा विलबहादुर थिङ्गले भन्नुभयो–‘बुबाले मृत्यु दर्ता गर्न जाँदैमा गरिदिने तत्कालिन अवस्थाका कर्मचारीहरु जिम्मेवार हुन्छन कि हुँदैनन ?’

विलबहादुरले बाबु अत्यधिक रक्सि खाने भएकाले त्यसकै प्रभावमा केहि जमिन आफु लिएर कर्मचारीहरुकै मिलेमत्तोमा त्यसो भएको हुन सक्ने बताउनुभयो । हजुरबुबासँगै बस्दै आएका बिलबहादुरले जिउँदो मान्छेको मृत्यु दर्ताको अभिलेख कायम भईरहनु झनै पीडादायी भएको बताउनु भयो । ‘उहाँले प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता हामीले लिएका छैनौं’–नाती विलबहादुरले भन्नुभयो–‘बाबुको गल्तिको सजायँ हामीले भोगिरहेका छौं ।’ हजुरबुबा, हजुरआमा, आमा र अन्य परिवार भए पनि जमिन थोरै भएकाले वर्षभरि खान धौ धौ छ । विलबहादुर विदेश जाने तयारीमा जुटेका छन् ।