नागरिकता विधेयकमा एमालेले दोहोरो चरित्र देखाएको आरोप



काठामाडौं । 

प्रतिनिधिसभाबाट लामो बहस र विवादका बीच नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएकोमा आपत्ति जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमाथि दोहोरो चरित्र देखाएको आरोप लागेको छ ।

सत्तारुढ दलका नेताहरूले यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा ल्याएको विधेयककै प्रावधानलाई पारित गर्दा पनि एमालेले आपत्ति जनाएर दोहोरो चरित्र देखाएकोे आरोप लगाएका छन् ।नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको आरोप लगाउँदै नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेन्डा नबनाउन चेतावनी दिनुभयो ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी नेता पुनले केपी ओली नेतृत्वको सरकारले २०७५ सालमा संसद्मा पेस गरेको विधेयक तथा २०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधिसभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको दाबी पनि गर्नुभयो । उहाँले भन्नुभयो– ‘ओली सरकारले विधेयक र अध्यादेशमा जेजे प्रावधान अघि सारेको थियो, अहिले पारित भएको नागरिकता विधेयकमा हुबहु त्यही प्रावधान समावेश छ ।’

उहाँले नागरिकता ऐनमा उल्लेखित वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा आफ्नो दलले संसद्मा परिमार्जनको प्रस्ताव राखेको जिकिर गर्दै उहाँले भन्नुभयो– ‘नागरिकता जस्तो विषयमा गरिएको छुद्र राजनीति र नेताहरूले देखाएको नौटंकीले अहिलेका नेताहरू देशमा शासन गर्नका लागि उपयुक्त पात्र होइनन् भन्ने पुनः स्पष्ट भएको छ । यस प्रकरणमा पनि राजनीतिक दलका नेताहरू योग्य र इमान्दार देखिएनन् ।’

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले नागरिकताको प्रमाणपत्र पाउन समस्या तराईमा मात्र नभई पहाड र हिमालमा पनि रहेको दाबी गर्दै भन्नुभयो– ‘नयाँ ऐनको व्यवस्थाले तराईमा केही बढी नागरिकताको प्रमाणपत्र वितरण होला तर विदेशीलाई दिने भन्ने विषय गलत र भ्रामक हो । नेपालको नागरिकता सजिलोसँग पाइँदैमा संसारभरका र विशेषगरी भारतबाट मानिसहरू नेपाल ओइरिन्छन् भन्नु गलत हो । जो नेपाली हो उसले नागरिकता पाउँछ, गैर नेपालीले नागरिकता प्राप्त गर्न सक्दैन ।’

विधेयक पारित भएकोमा श्रेष्ठको आपत्ति

प्रतिनिधिसभाबाट पारित भएको नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएकोमा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउनुभएको छ ।

उहाँले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउँदै सरकार र सत्तारूढ गठबन्धनप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।आइतबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गदै श्रेष्ठले सो विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीभित्र र राष्ट्रिय सभामा बोले पनि त्यसलाई बेवास्ता गरेर पारित गरिएको गुनासो गर्नुभयो ।

उहाँले दलहरूले तात्कालिक राजनीतिक स्वार्थ प्रेरित भएर अघि बढ्ने गरेकाले पनि मुलुकको राष्ट्रियता खतरामा पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्