नवौंका लागि पूर्वाधार खोज्दै राखेप

गण्डकीको प्रदर्शनप्रति चिन्ता



पोखरा । 

नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुँदै छ । प्रतियोगितामा ३६ खेल खेलाइँदै छ । तर, पूरै खेल गण्डकी प्रदेशमा भने हुने छैनन् ।

शनिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवम् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलस्थल व्यवस्थापन उपसमिति संयोजक राजेश गुरुङ सहित राखेपको टोलीले विभिन्न खेल मैदानको अवलोकनसमेत गरेका छन् । पोखरामा अधिकांश खेल खेलाउन सकिने भए पनि केही खेलका लागि भने पूर्वाधार नै छैनन् । नवौंमा समावेश भएका मध्ये पौडी र सुटिङ गण्डकी प्रदेशमा नगराई काठमाडौंमा गराउने तयारी भइरहेको छ ।

यसअघि, पटक–पटक पौडी र सुटिङ रेन्ज निमार्ण हुने बताइए पनि सरकार परिवर्तन हुँदा उक्त योजनासमेत परिवर्तन हुन पुगेको हो । पोखरामा सबै पूर्वाधार बनाउने गरी तयारी भइरहँदा कोरोना महामारीलाई देखाउँदै पुर्वाधार निमार्णको कुरालाई आलटाल गरिएको हो ।पोखरा रंगशालाबाहेक पोखराका अन्य खेलमैदानमा समेत विभिन्न खेल खेलाउन सकिने भए पनि रग्वी र हक्कीको मैदान भने छैन । यतिबेला त िदुई खेल कहाँ कहाँ खेलाउने भन्ने कुराले चर्चा पाइरहेको छ । यद्यपि, रग्वी खेल सहारा एकेडेमीको खेलमैदानमा र हक्की हेम्जास्थित गौरीशंकर खेलमैदानमा खेलाउने प्रस्ताव भएको छ ।

रग्बी पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको खेल हो । नेपालले केही समयअघि मात्रै बंगलादेशमा गएर रग्बी १५ को औपचारिक खेल खेलेर फर्किएको थियो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्बी ७ (सेभेन्स) खेलाइने छ । रग्बी र हक्की दुवैको आफ्नो मैदान छैन । जसका कारण कहाँ खेलाउने भन्ने यकिन भने भइसकेको छैन । खेलस्थल व्यवस्थापन संयोजक राजेश गुरुङका अनुसार सहारा एकेडेमीको खेलमैदानलाई रग्बी, महिला फुटबल र हक्कीका लागि प्रस्तावना गरिएको हो ।

विशेषगरी, उक्त मैदान रग्बीकै लागि प्रस्ताव गरिएको उनले जानकारी दिए । ‘हामीले आजबाट खेल मैदानहरूको अवलोकन गरिरहेका छौँ । सहारा एकेडेमीको खेल मैदानलाई रग्बी खेलका लागि प्राथमिकतामा राखेर प्रस्ताव गरेका छौँ यहाँ रग्बी नै खेलाइनेछ’ उनले भने, ‘त्यो बाहेकको विकल्पको रूपमा हामीले यहाँ महिला फुटबल र हक्कीलाई पनि वैकल्पिकमा राखेका छौं, यहाँ कुनै एक खेल हुनेछ ।’

उनका अनुसार उक्त खेलमैदान खेल्नका लागि उपयुक्त रहेको र त्यहाँ खेलाडीले पोसाक परिवर्तन गर्ने कोठा र मैदानमा केही भाग सम्याउन पर्ने देखिएको छ । मैदान सम्याउने काम भने तत्कालै सुरु गरिने छ । यस्तै, गौरीशंकर खेल मैदान भने हक्कीका लागि उपयुक्त रहेको उनले बताए । फुटबल मैदानमा हक्की खेलाउन मिल्ने भएकाले उक्त मैदान उचित रहेको उनले सुनाए । हक्कीका लागि लामाचौरमा रहेको गोस्ते खेलमैदानलाई समेत हेरिएको छ । पोखरालाई खेलकुदको सहरको रूपमा भनिरहँदा कतिपय खेलले भने मैदानै नपाउने पीडा छ । हक्की, रग्बीजस्ता खेलले खाली जग्गामा नै खेल्न बाध्य छन् । उनीहरूले जहाँ खेल्न पायो त्यही अभ्यास गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ ।

एकातिर खेलमैदान खोजिरहँदा अर्कातिर भने गण्डकी प्रदेशको प्रदर्शनीलाई लिएरसमेत चिन्ता भइरहेको छ । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङेले) यसअघि पनि एक कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काम नभएको अभिव्यक्ति दिएका थिए । प्रदेशमा खेलकुदको मेला आयोजना हुने मिति नजिकिँदै गर्दा खेलकुद मन्त्रालय र गण्डकी प्रदेश खेलकुद परिषद्मा भने उत्साह देखिएको छैन । यति मात्र होइन प्रदेशको खेलकुद निकै खस्किएको छ । प्रदेश खेलकुद मन्त्रालयले विभिन्न प्रतियोगितालाई रकम दिइरहँदा नवौं तयारीका लागि भने उचित कदम अझै चालेको छैन ।

खेलाडीलाई नवौं तयारी गराउनुपर्ने जिम्मेवारीबाट टाढा हुँदै युवा तथा खेलकुद मन्त्रालयले भेट्रान्स फुटबल, व्यक्तिको नाममा गरिएको फुटसल जस्ता खेलमा रकम फालेको छ । गत साता काठमाडौंमा सम्पन्न १२ औं राष्ट्रपति कपलाई हेर्ने हो भने पनि गण्डकीको खेल स्तर निकै खस्किएको देखिन्छ । जुन खेलमा पदकको आशा गरिएको छ गण्डकीको उही खेल खस्किएको देखिएको छ ।

उक्त प्रतियोगितामा गण्डकी पदकको हिसाबले कर्णालीभन्दा पछि रह्यो । लुम्बिनी प्रदेश च्याम्पियन बनिरहँदा गण्डकी भने चौथो स्थानमा रह्यो । गण्डकीले कुल २७ पदक ल्याउँदा कर्णालीले ३० पदक हासिल ग¥यो । गण्डकीको यो अहिलेसम्मकै खराब नतिजा हो । राखेप सदस्य एवम् खेलस्थल संयोजक गुरुङले गण्डकीको पदकप्रति चिन्तित भएको बताए । उनले प्रतियोगिता सम्पन्न गर्नुभन्दा पनि गण्डकीको खेलाडीको खेल प्रदर्सनप्रति डर रहेको सुनाए । एक खेलकर्मीका अनुसार गण्डकी प्रदेशको तर्फबाट नवौंका लागि गर्नुपर्ने तयारी भएको छैन । उनले गण्डकी प्रदेश सरकारले यसप्रति त्यति चासो नदिएको र केन्द्रले नै जेजे गर्छ गरोस भन्ने किसिमका भावना देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्