देशैपिच्छे समाजवाद ढाल्ने आ–आफ्नै साँचो



समाजवाद आज विश्वभरका देशहरूले प्रयोेग गर्ने राजनीतिक शब्द हो । यही समाजवादको अघि–पछि विभिन्न विशेषण जोडेर आफूलाई अब्बल विचारक राजनीतिज्ञ बन्ने विश्वका ९० प्रतिशतभन्दा बढी शासकहरू होलान् ।

पुँजीवादी शासन अवलम्बन गरिआएका देश हुन् या साम्यवादी विचारका हुन्, उनीहरूले कुनै न कुनै रूपमा समाजबाट आफूले अङ्गीकार गरेको शासन व्यवस्था नै अब्बल हो भन्ने प्रमाणित गर्न खोजेका छन् । वास्तवमा अहिलेका विश्वमा समाजवाद प्रवेश नगराएका देश छैनन् होेला तर देशैपिच्छे समाजवाद ढाल्ने साँचो भने आ–आफ्नै प्रकारका छन् ।

नेपालको सम्बन्धमा समाजवाद सबभन्दा पहिला नेपाली कांग्रेसले २०१२ सालमा भएको वीरगञ्ज महाधिवेशनदेखि विधिवत भित्र्याएको हो । त्यसपछि नेपाल विश्व समाजवादी आन्दोलनमै अग्रणी भूमिका खेल्न सफल भयो । विश्व समाजवादी संगठनमा समाजवादको नवीनतम परिभाषा दिँदै विपी कोइराला अन्तर्राष्ट्रिय समाजवादी संगठन सोसियलिस्ट इन्टरनेसनलका उपाध्यक्षसमेत हुनुभयो ।

यही अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनको अवधारणाले युरोपका अधिकतम देशले जनताको पक्षमा राजनीति गर्न सफल भए भने पुँजीवादी विश्वको नेतृत्व गर्दै आएको अमेरिका र यसका अनुयायीसमेत जनकल्याणकारी (सोसल वेलफियर स्टेट) को अवधारणले अघि बढ्न बाध्य भए । अहिले धनी राज्यहरूले विकासोन्मुख र गरिब देशलाई आर्थिक सहयोग दिँदासमेत सामाजिक सुरक्षाको बन्देज लगाई रहेछन् । निष्कर्षमा, आज धनी हुन् वा विकासोन्मुख वा विपन्न, सबै मुलुक समाजवादी राज्यव्यवस्थाबाट प्रभावित छन् ।

नेपाली कांग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्शलाई सूचीकृत गरेपछि नेपालमा जति राजनीतिक दलहरू जन्मे, उनीहरूलाई सीधा समाजवाद अंकित गर्न असहज भएका कारण विभिन्न परिभाषा गरेर सिद्धान्तलाई बटार्न खोजे पनि उनीहरू समाजवादबाट विमुख हुन सकेका छैनन् । विपी कोइरालाको सजिलो समाजवादको परिभाषा साम्यवादमा प्रजातन्त्र थपिएपछि समाजवाद हुने विचार सहित व्याख्या भएपछि नेपालका कम्युनिस्ट जुन वाद र सिद्धान्त बोके पनि प्रजातान्त्रिक समाजवादबाट टाढिन सकेका छैनन् । विपी कोइरालाको उत्पादन बढाएर गरिबलाई धनी बनाउने, समानतामा पुग्ने र कम्युनिस्टको धनीको धन घटाएर वा बाँडेर समानता ल्याउने परिकल्पनाले नेपालका कम्युनिस्ट र कांग्रेमा वैचारिक बहस धेरै समय केन्द्रित रह्यो ।

आज लोकतन्त्रवादी र साम्यवादी (कम्युनिस्ट) का वैचारिक मतभेद भए पनि राज्य सञ्चालन पद्धतिमा तात्विक भिन्न छैन । अझै संविधान सभाबाट जारी २०७२ को संविधानले नेपालको राजकीय सत्ता जनतामा निहित हुने र सैद्धान्तिक गन्तव्य समाजवाद हुने प्रस्ट गरेपछि दुवैको राज्य सञ्चालनमा भिन्नता आउने पनि भएन । विपीको समाजवाद के हो भन्ने बुझ्न उहाँले प्रधानमन्त्री हुँदा पास गरेका र लागु गरेका नीति र कार्यक्रमको भावना र मर्म बुझेर कार्यान्वयन गरेपुग्छ ।

विपीको परिभाषामा आफूसँग भएको स्रोत–साधनको उचित प्रयोग र जनताको आधारभूत आवश्यकतका परिपूर्ति गर्ने कार्यक्रम नै समाजवादी कार्यक्रम हो । जनताको चाहना पूरा गर्ने लक्ष्यका साथ नीति–कार्यक्रम लागु गर्नु विपन्न नागरिकलाई सामाजिक सुरक्षाका साथै राज्यको मूल प्रवाहमा समाहित गर्नु, किसानलाई खेतीपाती सहज गरिदिनु व्यवसायीलाई व्यवसाय सहज गरिदिन, नागरिकलाई स्वतन्त्रताको अनुभूति गराउनु, शिक्षा स्वास्थ्य, रोजगारमा सबैको पहुँच पुगोस् – यही अवधारणा र कार्यक्रम विपीको समाजवादमा अन्तरनिहित देखिन्छ ।

बीपीको समाजवाद न्याय, समानता र नैतिकता आधारित छ । सामजिक समाबेसिता अन्योन्याश्रित छ । उहाँको मन्त्रिमण्डलले पूर्ववर्ती मन्त्रीहरूले खाएको तलबमानभन्दा घटाएर तलब खायो, समाजवादमा नैनिकता, जबाफदेहिता र न्याय आवश्यक हुने व्यावहारिक रूपमै देखाइयो । वास्तवमा यही नै विपीवादको मर्म पनि हो । विपीले जम्मा १८ महिना सत्ता चलाउन पाउनु भयो तर त्यस कार्यकालको निर्णयले नेपालको राजनीतिमा सधैं सुनौलो बाटो निर्दिष्ट ग-यो । तर, विपीलाई अपदस्त गरिएपछि समाजवाद पनि अपदस्त भएछ ।

पछि नेपाली कांग्रेस आन्लोलनमा लाग्यो । ३० वर्षको लामो संघर्षपछि प्रजातन्त्र पुनर्वहाली हुँदासम्म नेपाली कांग्रेसको नेतृत्वमा पुगेकाहरूले समाजवादको व्याख्या आ–आफ्नै तरिकाले गर्न थाले । खुला विश्व अर्थतन्त्रको प्रभावबाट नेपाल अछुतो रहन सकेन । परम्परागत सामन्ती अभ्यासलाई चिर्न नसक्नु, अन्य राष्ट्र विशेषतः छिमेकी र धनी देशको भर पर्नु, आन्तरिक राजनीतिक समस्यामा अल्झिनु आदि कारणले जनताको चाहना देशको परिस्थिति अनुसार काम हुन सकेन । विपीले देखाएको बाटो नेपाली कांग्रेसले नै समाउन सकेन, देश लथालिङ्ग अवस्थामा पुग्यो ।

मुलुकलाई लथालिङ्ग अवस्थाबाट सुधार्ने हो भने नेपाली कांग्रेस पार्टीले मात्र सक्छ । यही नै मुलुकको पहिलो पार्टी हो, ठूलो पार्टी पनि यही हो । भनिन्छ, पहिलो हर सुध्रे सबै सुध्रन्छन् । कांग्रेस पार्टी सुध्रनका लागि भित्र प्रजातन्त्र हुनु आवश्यक छ । प्रजातान्त्रिक पार्टीले मात्र प्रजातन्त्रको रक्षा गर्नसक्छ । विपीले देखाएको बाटो र उहाँको भावना बुझेर नेकाले निर्णय लिनासाथ जनभावनाको कदर हुने र जनता यस पार्टीसँग निकट हुनेमा शंका छैन ।

प्रतिक्रिया दिनुहोस्