लुम्बिनीलाई विश्वभरका बौद्धिष्टहरुको ‘बर्थिङ सेन्टर’ का रुपमा विकास गरौं : प्रधानमन्त्री

साढे चार दशक बित्दा पनि गुरुयोजनाले पूर्णता पाउन सकेन



बुटवल। 

२५६८ औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवश  बिहीबार लुम्बिनीमा एक विशेष समारोहकाबीच  मनाईएको छ ।
लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गदैं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न क्रियाशील रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले संसारभरिका करोडौँ बौद्ध समुदाय एवं आम मानिसले समेत जीवनमा एकपटक दर्शन र अवलोकन गर्नैपर्ने पवित्र तीर्थस्थलको विकासमा सरकार लागिपरेको बताए । वर्तमान सरकार बुद्धको विचार, मार्गदर्शन एवं बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित गर्नका लागि आफू प्रयत्नशील रहेको बताए ।

नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा बृहत्तर लुम्बिनी विकास परियोजनासम्बन्धी प्रस्ताव प्रस्तुत भई वैदेशिक लगानीका लागि विश्व समुदायलाई आव्हान गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यसले विश्वभरिका बौद्ध धर्मावलम्बीहरूलाई आकर्षण गरी धार्मिक पर्यटन एवं विश्वशान्तिमा गौतम बुद्ध र नेपालको योगदान प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

बुद्धको जन्मभूमि लुम्बिनीको भ्रमण गर्न पाउनु विश्वका प्रत्येक नागरिकका लागि गौरवको विषय हुन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “लुम्बिनीलाई विश्वभरिका बुद्धिष्टहरूको ‘बर्थिङ सेन्टर’का रूपमा विकास गर्ने र त्यसमार्फत् यस क्षेत्र र सिङ्गो देशको पर्यटन प्रवद्र्धनमा उच्च सफलता हासिल गर्ने सम्भावना छ ।” उनले शाक्यमुनि गौतमबुद्ध शील, समाधि र प्रज्ञाका प्रतिमूर्ति एवं शान्ति, एकता र सद्भावका सामूहिक प्रतीक भएको बताए । मौर्यसम्राट अशोकद्वारा निर्मित अशोक स्तम्भको शिलालेखले बुद्धको जन्म लुम्बिनीमा भएको तथ्य अकाट्य रूपमा प्रमाणित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण मानव जातिको साझा धरोहर एवं विश्व सम्पदाको महत्त्वपूर्ण अङ्ग पवित्र लुम्बिनीको द्रुत विकासका लागि सरकारले लुम्बिनीलाई राष्ट्रिय गौरवको आयोजनामा सामेल गरी लुम्बिनी गुरूयोजनाको बाँकी कार्य यथाशक्य पूरा गर्न लागिपरेको स्पष्ट पारे ।

लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्धदर्शन र शिक्षाको अझ ठूलो केन्द्र बनाउन सकिने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभई बौद्धदर्शनको उद्गमस्थल भएको स्पष्ट पारे । नेपाल सरकारले सन् २००४ मा दोश्रो विश्व बौद्ध शिखर सम्मेलन आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्रीले तेस्रो शिखर सम्मेलन छिटै आयोजना गरिने समेत बताए ।

 कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धले परीक्षण गरेर मात्रै विश्वास गर्न भनेर दिएको शिक्षा वैज्ञानि रहेको बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेश सरकारले बुद्धजन्मस्थललाई विश्वव्यापी बनाउनका लागि प्रदेश सरकार साथमा रहेको बताए । यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विश्व सम्पदा स्थल लुम्बिनी नेपालको मात्रै नभई आध्यात्मिक केन्द्र भएकाले यहाँको विकासले देशको गरिमासँग जोडिने बताए ।

साढे चार दशक बित्दा पनि गुरुयोजनाले पूर्णता पाउन सकेन

गौतमबद्धको जन्मस्थल लुम्बिनीको गुरुयोजना बनेको साढे चार दशक बित्दा पनि गुरुयोजना अनुसार काम हुन सकेको छैन । २०३५ सालमा जापानी वास्तुविद् प्रा. केन्जो टांगेले बौद्ध तीर्थस्थल र पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने परिकल्पना गर्दै लुम्बिनी विकासको गुरुयोजना बनाएका हुन् ।लुम्बिनी गुरुयोजना अनुसार १७ वर्षमा निर्माण हुनुपर्ने संरचना ४६ वर्ष हुँदा पनि अझै १४ प्रतिशत काम बाँकी रहेको कोषका उपाध्यक्ष ल्हारक्याल लामाले बताए । पछिल्लो पाँच वर्षमा लुम्बिनी गुरुयोजनाको काम जम्मा तीन प्रतिशत मात्र बढेको छ । पछिल्ला वर्षहरुमा संघीय सरकारले बजेट नदिएको भन्दै उनले यही अवस्था रहे ५० वर्षमा पनि गुरुयोजना पूरा नहुने दाबी गर्छन्।विकास कोषका सदस्य सचिव सानुराजा शाक्यका अनुसार लुम्बिनी गुरुयोजनाका लागि हालसम्म ५ अर्ब रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ । अहिलेको अवस्थामा गुरुयोजना पूरा गर्न अझै ३ अर्ब भन्दा बढी बजेट आवश्यक पर्छ । २ वर्ष अगाडि नै गुरुयोजना अन्तर्गतका ६ वटा भवन, फोहर व्यवस्थापन, नदी डाइभर्सन बाहेकका काम सकिए पनि धेरै योजनाहरु निर्माणाधीन छन् । कुल एक हजार १५५ बिघा क्षेत्रफल जमिनलाई गुरुयोजना भित्र पारी टांगेले तीन भागमा विभाजन गरेका थिए ।

एक हजार १५५ बिघा जमिनको दक्षिणतर्फको एक वर्ग माइल जमिनलाई उद्यान क्षेत्र, एक वर्ग माइललाई अन्तर्राष्ट्रिय विहार क्षेत्र र अर्को एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरेर गुरुयोजना बनाइएको छ । हरेक वर्षको बुद्ध जयन्तीमा प्रधानमन्त्री र संघीय सरकारका विभागीय मन्त्रीहरुले गुरुयोजना पूरा गर्न बजेट अभाव हुन नदिने आश्वासन दिन्छन् । तर कुनै वर्ष पनि पर्याप्त बजेट विनियोजन हुन सकेको छैन ।कोषका उपाध्यक्ष लामाले एउटा सरकारले स्रोत सुनिश्चित गर्ने तर सरकार फेरबदलसंगै नयां सरकारले बजेट कटौती गर्ने परिपाटीले गुरुयोजना पूरा हुन ढिला भएको बताए  ।कोष क्षेत्रमा गुरुयोजना विपरीत संरचना बनाउने क्रम निरन्तर चलिरहेको छ । लुम्बिनीमा अहिले सञ्चालनमा आएको ५ हजार क्षमताको सभा हल पनि गुरुयोजना विपरीतको संरचना हो । यस्तै शान्ति स्तुपा, पानी ट्याङ्की लगायतका धेरै संरचना गुरुयोजना विपरीत निर्माण भएका छन् ।गुरुयोजनामा मायादेवी मन्दिरबाट सेतो गुम्बा देखिनुपर्ने उल्लेख भए पनि त्यसलाई छेक्ने गरी पानी ट्याङ्की निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्