प्रचण्ड–मोदी भेट हुन नसक्नुको सम्भावित अन्तर्य



आखिर भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) कै निमन्त्रणामा गत असार ३१ गते भारत पुगेका माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट नै भएन ।

प्रचण्डले फाउन्डेसन फर पब्लिक अवार्नेस पोलिसीले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको एक कार्यक्रममा बोलेका थिए । उक्त कार्यक्रममा उनले नेपाल र भारतबीच भएको सन् १९५० को सन्धिको पुनरावलोकन हुनुपर्ने विषयको समेत उठान गरेका थिए । स्मरण रहोस्, नेपाल र भारतबीच सन् १९५० मा गरिएको सन्धिलाई नेपालले असमान सन्धिको रुपमा लिएर आन्तरिक रुपमा विरोध गर्दै आएको छ ।

तर अहिलेसम्म विभिन्न राजनीतिक दलका नेताहरू भारतको औपचारिक भ्रमणमा गएका भए पनि सन् १९५० को असमान ठानिएको सन्धिको विषयमा विरोध जनाउन सकेका थिएनन् । केवल नेपाली जनताका माझ भाषण गर्दा र आश्वासन बाँड्दाको बखतमा भने सन् १९५० को भारत र नेपालबीचको असमान सन्धि पुनरावलोकन होइन खारेज नै हुनुपर्छ भनेर भारेभुरे नेताले आक्रोश व्यक्त गरेको पाइन्छ । तर प्रचण्डले पुनरावलोकन गर्नुपर्ने कुरा मात्र उठाएका थिएनन्, पुनरावलोकन गर्न ढिलो भइसकेको हुनाले अब पनि ढिलो गर्न नहुने हुटहुटीको भाषा बोलेका थिए ।

हालको प्रचण्डको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा पनि एउटा बहसको विषय बोकेर ल्याएको जस्तो अनुभूत गरिँदै छ । प्रचण्डको यो अभिव्यक्तिले उनको राष्ट्रवादी भावना उचो भएको हो कि भन्ने अन्दाज पनि हुँदै छ । वरिष्ठ पत्रकार ऋषि धमलाले त प्रचण्डले भारत भ्रमणको क्रममा दिएको अभिव्यक्तिलाई राष्ट्रवादी भावनाले ओतप्रोत भएको अभिव्यक्ति भनेर उनको गुणगान गाउनसमेत भ्याइसकेका छन् ।

भारत भ्रमणको क्रममा प्रचण्डले सन् १९५० को सन्धिको पुनरावलोकनको विषय मात्र उठान नगरी उनले नेपालको कृषि, पर्यटन, पूर्वाधार विकास आदिजस्ता संवेदनशील विषयमा भारतलाई लगानी बढाउन आग्रहसमेत गरेका थिए । उनको आग्रहलाई भारत सरकारले कुन रुपमा र कसरी लिन्छ भन्ने कुरा महत्वको विषय हुनेछ । हुन त भारतले नेपाललाई विभिन्न क्षेत्रको विकास र प्रवद्र्धनका लागि धेरै समयअगाडिदेखि सहयोग गर्दै आएको छ ।

यदि एउटा असल छिमेकीको हैसियतले हेर्ने र तदनुसारकै व्यवहार गर्ने हो भने कमरेड प्रचण्डले भारत भ्रमणको क्रममा उठाएको सन् १९५० को सन्धिको पुनरावलोकन गर्ने कामलाई सकारात्मक रुपमा लिएर नेपाली जनताको भावनालाई उचो बनाउने गरी पुनरावलोकनका लागि कुनै साइत जुराउनु नपर्ला कि ! प्रचण्डको भारत भ्रमणको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रचण्डको भेटघाट हुने कुरा तय भएकोमा मोदीले प्रचण्डसँग भेट गरेनन् । मोदीले प्रचण्डसँग के कारणले भेटघाट नगरेका होलान् भन्ने कुरा स्वयम् आफूलाई समेत थाहा नभएको भनेर प्रचण्डले व्यक्त गरिसकेका छन् ।

आफ्नो छिमेकमा भएको कुनै समकक्षीलाई भेटघाट गर्न आउनुहोस् भनेर अनुरोध गरिन्छ । एउटा असल छिमेकीको अनुरोधलाई शिरोधार्य गरेर अर्को छिमेकी भेटघाट गर्न पुग्छ । तर बोलाएरै पनि बोलाउनेवाला छिमेकीले भेट गर्न मान्दैन वा चाहना राख्दैन भने त्यस्तो कार्यलाई के भन्ने ? आखिर किन भेटेनन् त मोदीले ? भन्ने प्रश्नको उत्तरमा धेरै विकल्पहरू अगाडि सार्न सकिन्छ । प्रथम त प्रचण्डले आत्मैदेखिको राष्ट्रवादले ओतप्रोत भएर हो कि केवल आम नेपालीको नजरमा नायक बन्नका लागि सो कुरा उठाएको हो, ठम्याउन सकिएन ।

उनीभन्दा अगाडिका नेपालका कुनै पनि राजनीतिक दलका नेताले सन् १९५० को सन्धिको बारेमा प्रचण्डको जसरी कुरो उठान गर्न सकेका थिएनन् । देशको नेतृत्व लिने व्यक्तिले भारत भ्रमणको क्रममा सन् १९५० को असमान सन्धिको कुरो पनि बहसको विषयमा राख्ने भन्ने खाकाचाहिँ तयार हुने गथ्र्यो ।

आम नेपाली जनतालाई पनि आश्वासनको पोको थमाउने गरिन्थ्यो । तर कार्यगत रुपमा लैजान कसैले नसकिराखेको सन्दर्भमा कमरेड प्रचण्डले भारत भूमिमै गएर त्यतिको गहकिलो कुरो गरी छिटो पुनरावलोकनका लागि दबाब दिँदा त्यहाँका प्रधानमन्त्री मोदीलाई चित्त नबुझेको हुनसक्छ । त्यही सन्धिको पुनरावलोकन किन गर्नुपर्ने भन्ने अहंतावादी आवेगले पनि प्रम मोदीले कमरेड प्रचण्डसँग भेट नगरेको अनुमानसमेत गर्न सकिन्छ । सन् १९५० को सन्धिको कुरो उठाएर टाउको दुखाउनुको साटो औपचारिक भेटघाट नै नगरेमा टाउकै दुखाउनु नै पर्दैन भन्ने सोचले पनि भेट नगरेको हुन सक्छ ।

दुई–दुईपटक प्रधानमन्त्री बनेर पनि खासै प्रभावशाली बन्न नसकेको वा एउटा राजनीतिक असफलताको बीचतिर बाँच्दै गरेको व्यक्तिसँग भेट गरेर के नै उन्नति होला र ? भन्ने सोचले पनि मोदीले भेट नगरेका हुन सक्छन् । सन्धि–सम्झौता आदिका विषयवस्तुको उठान र बैठान, नयाँ सम्झौता आदि गर्ने काम सरकारको नेतृत्व गर्दै गरेको राजनीतिक दलको अध्यक्ष वा सभापतिले मात्र गर्ने हो । त्यसकारण सन् १९५० को नेपाल–भारतबीचको सन्धिलाई पुनरावलोकन गरिने नै हो भने सरकारको नेतृत्व गर्दै गरेको राजनीतिक दलको सभापतिसँग पो छलफल गरेर पुनरावलोकनको तरिकामा गइने हो त भन्ने अवधारणा मोदीको दिमागमा घुमेर पनि प्रचण्डसँग भेट नगरेका हुन सक्छन् ।

नेपालको राजनीतिक वृत्तमा कमरेड प्रचण्डको शीर्षस्थान रहेको मानिए वा ठानिए पनि त्यो ठम्याइ भनेको माओवादी केन्द्रका कार्यकर्ताको सानो घेराको ठम्याइ हो । कमरेड प्रचण्डलाई नियाल्ने भारतको दृष्टिकोणमा उनी एक असफल नेताको रुपमा रहेका भन्ने पनि हुन सक्छ । प्रम मोदीको दृष्टिमा समेत यस कुराको छाप बसेको रहेछ भने पनि भेट भेटको कार्यक्रम तर्किन सक्छ । भारत हाम्रो निकटतम छिमेकी भएको र धर्म, संस्कार, संस्कृति आदि विषय पनि हाम्रा साझा विषय भएका हुनाले भारतले हामीसँग सधैँ सत् व्यवहार गर्छ भन्ने सोचाइ हाम्रो बन्छ भने कुनै कार्यको व्यस्तताका कारण फुर्सद नभएरै प्रम मोदीले प्रचण्डसँग भेट गर्न भ्याएनन् भन्ने धारणा हाम्रो बन्न सक्छ । भारतीय प्रधानमन्त्रीलाई सधैँजसो रिझाउने र खुशी पर्ने प्रयासमा लागेका हाम्रा नेतागणका लागि भने माथि उल्लेख भएका विविध अन्तर्यमध्ये अन्तिम अन्तर्य नै सबैभन्दा उत्तम अन्तर्य हुन सक्ला भन्नु युक्तिसङ्गत हुनेछ ।

भारत भ्रमण सम्पन्न गरेर भर्खरै स्वदेश फर्केका माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले अन्तिम समयमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने कार्यक्रम तय गरिएको भए पनि अन्तमा भेट हुनै सकेन र त्यो भेट किन हुन नसकेको हो भनेर आफू स्वयंलाई पनि थाहा नभएको भन्ने आशयको अभिव्यक्ति दिएका छन् । विगतको लामो समयसम्म अङ्गे्रजले आफ्नो उपनिवेश बनाएर शासन जमाएको र उसैले कसैसँग हार्न नहुने भन्ने भावनाको विकास गराउँदै तदनुसारकै प्रशिक्षण गराएको भारतको चुरो कुरो भगवान्ले त बुझेका हुँदैनन् भने प्रचण्डले कसरी बुझेर सक्लान् त ? उनले जति कुरा बुझे त्यति नै भए पनि काफी हुन्छ ।

भारतको भ्रमण सकेर स्वदेश फर्केका कमरेड प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नभए पनि आफूलाई कुनै दुःख नलागेको बताए । कमरेडले यो कुरो बताइरहँदा उनको मन भने अमिला चामल चपाउँदाको अनुभूतिजस्तो भयो कि ! यस्तो नियति कमरेड प्रचण्डले भन्दा अगाडि भारत भ्रमण गर्ने अन्य केही नेताले समेत भोगिसकेका छन् ।

आखिर जे भए पनि कमरेड प्रचण्डले उठान गरेको विषय निकै गम्भीर भएकोले यसलाई अब कति ढिलो नगरी पुनरावलोकन गर्ने कामलाई कार्यगत रुपमा रुपान्तरण गर्न सकेको खण्डमा उनको भ्रमण साँच्चै कोसेढुङ्गा साबित हुनेछ । सन् १९५० को सन्धिमा नेपाललाई हानि हुने खालका के–कस्ता बुँदा राखिएका छन् ? ती सबैलाई सच्याउन सकियो र हामीलाई कुनै हानि–नोक्सानी नहुने बनाउन सकियो भने कमरेड प्रचण्डले भारतीय प्रम मोदीलाई भेट्न नपाएकोमा केही छैन । सन्धि पुनरावलोकन भएको दिनलाई हामी आम नेपाली र हाम्रा नेतागणको विजयको दिन ठानेर खुशीयाली मनाऔंला ।

प्रतिक्रिया दिनुहोस्