युवालाई भावनामा नबग्न हमालको आग्रह

0
Shares

हेटौंडा ।

ख्यातिप्राप्त अभिनेता राजेश हमालले चाहना र क्षमता बेग्लै भए पनि भावनामा नबग्न युवालाई आग्रह गरेका छन्। उनले युवाले प्रविधिलाई आत्मसात् गर्दै अघि बढ्नु आवश्यक रहेको पनि बताए।

हालै हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसले आयोजना गरेको एजुकेसन एक्स्पो–२०२२ मा हमालले प्रविधिले सबै कार्यमा परिवर्तन आउने भएकाले युवाहरू समयअनुसार परिवर्तनशील हुनुपर्ने सुझाव दिए। ‘युवाहरू धेरै कुराले प्रभावित हुने गरेका छन्। अब मानवजातिको विकास टेक्नोलोजीले निर्धारण गर्ने भएको छ। म को हुँ, म कुन अवस्थामा छु भनेर आफैँलाई प्रश्न गर्ने बेला आएको छ। शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा पनि युवा पोख्त हुनुपर्ने बेला आएको छ’ उनको भनाइ थियो

कुनै काम गर्दा त्यसप्रति झुकाव राख्नुपर्ने भन्दै उनले आफ्नो उदाहरण दिँदै भने– ‘कलाकार मेरो प्यासेन्स हो। त्यसैले, मैले ३२ वर्ष फिल्म क्षेत्रमै जीवन बिताएँ।’ कार्यक्रममा सहभागी विद्यार्थीलाई महानायक हमालले उत्प्रेरणा दिएका थिए ।हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक रामबाबु थापाले हमालको जीवनबारे चर्चा गरेका थिए।

क्याम्पस प्रिन्सिपल पुरनबहादुर जोशीले कलाकार मात्र नभई समाजसेवामा सरिक हमाललाई विद्यार्थीमाझ चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। हमालसँग म्यानेजमेन्टले सहकार्य गरी सामाजिक कार्यमा अघि बढ्ने  जोशीले बताए। महाविद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा जब डाइनेमिक कम्पनीका राजीव शर्मा र प्रयासराज उपाध्यायले विद्यार्थीलाई करियर काउन्सिल विषयमा अभिमुखीकरण गरेका थिए।