कोरोना संक्रमण नियन्त्रणका लागि बुस्टर डोजमा जोड



काठमाडाैं । 

टेकु अस्पतालका सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले कोरोना संक्रमण नियन्त्रण गर्न माक्स र स्यानिटाइजरको प्रयोगमा भन्दा कोभिडविरुद्ध दुई मात्रा खोप लगाइसकेपछि दिइने बुस्टरडोजमा जोड दिनुभयो । उहाँले भन्नुभयो– ‘माक्स, स्यानिटाइजर, दूरी कायम गर्ने, लकडाउन गर्ने खोप नहुँदाको शुरूको अवस्थामा हो ।

अबको अवस्थामा खोप विस्तार गर्नुपर्छ । हामीसँग प्रशस्त मात्रामा खोप पनि छ ।’ उहाँले कोरोना विरुद्धको खोप म्याद गुजारेर फ्याँक्नुभन्दा नियमित खोप लगाएर जनस्वास्थ्य मापदण्डलाई पालना गर्दै थप सुरक्षित हुनु बुद्धिमानी हुने बताउनुभयो ।
यसैबीच बिस्तारै हराएको जस्तो देखिएको कोरोना संक्रमण फेरि बढ्न थालेको छ । कोरोना संक्रमणबाट आइतबार र सोमबार एक एक जना गरी २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार बितेको २४ घण्टामा थप ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ३ सय ५७ जनाको नमुना परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा कोरोना संक्रमणका कारण उपचार गराइरहेकामध्ये ६२ जना निको भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८२ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्