महानगरका सेवाप्रदायकहरू समन्वयको खोजीमा



काठमाडौं ।

काठमाडौं उपत्यकामा विकास–निर्माण र सेवा प्रदान गर्ने निकायहरूबीच समन्वय नभएका कारण सेवाग्राही जनता समस्यामा पर्ने गरेको सरोकारवालाहरूले स्वीकार गरेका छन् ।

काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग, सडक डिभिजन काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, उपत्यका विकास प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तथा प्रतिनिधि सहभागी भएको मंगलबारको बैठकमा त्यस प्रकारको स्वीकारोक्ति देखिएको हो ।

महानगरका प्रमुख बालेन्द्र साहले सहर व्यवस्थापनमा आचरण सुधारको खाँचो देखाउनुभएको छ । महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीबीच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले यस्तो चासो देखाउनुभएको हो ।‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, बिजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौं, त्यसपछि हार्डवेयरतिर लागौं’ – उहाँले भन्नुभयो ।

खानेपानी वितरणका लागि खनिएका सडक कहिलेसम्ममा कालोपत्रे हुन्छ, खानेपानीको पाइप विछ्याउन सहमति माग भइसकेकाको काम कसरी हुँदैछ भन्ने जिज्ञासा बैठकमा प्रमुख शाहले काठमाडौंउपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अधिकारीहरूलाई राख्नुभएको थियो ।विद्युत् प्राधिकरणका अधिकारीलाई बालेनले सोध्नुभयो – ‘रानीबारी, वडा ४ बालुवाटार, विशालनगर, धुम्बाराही, हाँडीगाउँ, मालीगाउँ, कालो पुल, नयाँ बसपार्क क्षेत्रमा बिजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिलेसम्म बनिसक्छ, बिजुली भूमिगत गरिएपछि मर्मत गरिएको पैदल मार्ग पनि उबडखाबड छ, यसको सतहलाई कसरी मिलाउन सकिन्छ ? जवाफमा सरोकारवाला निकायले तोकिएकै समयमा काम गर्ने प्रतिबद्धता जनाए ।

बैठकमा उपप्रमुख सुनिता डंगोलले सहरी विकासका काममा समन्वय गर्न बैठक आयोजना गरिएको बताउनुभयो । ‘साझेदार कार्यालयहरूको चालु आर्थिक वर्षका योजना र बजेटका विषयमा अद्यावधिक हुन पाइयो । कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ स्पष्ट हुँदै गएको छ । यति नहुँदा महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको थियो । बर्खामा गर्न सकिने काम बर्खामै गरौं । अहिले गर्न सकिँदैन भनिएका सडक कालोपत्रेसहितका काम बर्खा सकिनेबित्तिकै गरौँ’ – उहाँको आग्रह थियो ।

बैठकमा सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत् प्राधिकरणलगायत कार्यालयका अधिकारीहरूले वर्षायाममा सडक कालोपत्रे गर्न नसकिने बताउनुभएको थियो । पाइप तथा बिजुलीका तार विछ्याउन खनिएका सडक पानी पर्न छोडेपछि कालोपत्रे हुने उहाँहरूको भनाइ थियो । सहरमा फैलिएको हैजा र यससँग खानेपानी तथा ढल प्रणालीको सम्बन्ध छलफलको अर्को महत्वपूर्ण विषय थियो । बैठकमा प्रमुख शाहले पार्किङ् प्रयोजन देखाएर नक्सा स्वीकृत गरिएका तर ती ठाउँ अन्य प्रयोजनमा लगाइएका घरधनीलाई स्वीकृत नक्साबमोजिम प्रयोगमा ल्याउन महानगरले ३५ दिने सूचना जारी गरेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्