काभ्रेपलाञ्चोकमा भू–माफिया सक्रिय, किर्ते गरेर हुँदै नभएको जग्गा विक्री



काभ्रे ।

काभ्रेपलान्चोक जिल्लामा दशक पछि भू–माफिया सक्रिय भएका छन् । हुँदै नभएको जग्गा देखाएर भू–माफियाले लेखापढी व्यवसायी समेतको संलग्नतामा मालपोत कार्यालयका कर्मचारीलाई साक्षी राखेर सर्वसाधारणलाई जग्गा विक्री गराएका छन् । हुँदै नभएको जग्गा खरिद गर्नेहरू मध्ये ४ जनाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा उजुरी गरेका छन् ।

धादिङ घर भई बनेपामा १० वर्ष देखि बसोबास गर्दै आएका रवि रेग्मीले काभ्रेपलान्चोक जिल्ला साबिक कलाँती भुम्लु ७ घर भएकी निर्मला उप्रेतीलाई बनेपा नगरपालिका साबिक १ नम्बर वडाको ८ आना जग्गा ४५ लाखमा विक्री गरेका थिए । रेग्मीले नक्कली जग्गाको लालपुर्जा बनाएर बनेपा १ ठेगाना राखी कित्ता नम्बर १५०४ मा ८ आना जग्गा राखेर निर्मलालाई देखाएका थिए ।

उक्त जग्गा असार ३० गते मालपोत कार्यालय काभ्रेपलान्चोकमा पास गरेकी थिइन् । रेग्मीले निर्मलालाई असार ३१ गते जग्गा पास भएको पुर्जा दिएका थिए । २०७९ साउन २ गते पुर्जामा निर्मलाको नक्कली ल्याप्चे देखे पछि जिल्ला प्रहरी कार्यालय काभ्रे मार्फत मालपोत कार्यालय काभ्रेमा जग्गाको कित्ता नम्बर भिडाउँदा जग्गा नै नभएको फेला परेको थियो । तत्कालै निर्मलाले प्रहरी मार्फत भू–माफिया रवि लगायत लेखापढी गर्ने सिता थापा र उनका श्रीमान् राजन थापा, मालपोत कार्यालय काभ्रेका कम्प्युटर अधिकृत शशित भण्डारी र रजिस्ट्रेसन ‘क’ मा कार्यरत कर्मचारी रामविनय यादव समेतको मिलेमतो रहेको प्रारम्भिक अनुसन्धान गरी अधिकांशलाई नियन्त्रणमा लिएको छ ।

निर्मलाका श्रीमान् गुल्मी जिल्लामा सरकारी सेवामा कार्यरत छन् ।निर्मला लगायत उनका आफन्त गणेश मैनाली, रुकमणी हुमागाई, रिता तिमल्सिना लगायतले जग्गा खरिद गर्दा आफू ठगिएको पछि मात्रै थाहा पाएको बताएका छन् । प्रहरी कार्यालयमा जाहेरी दिँदै पीडितहरूले गिरोहका नाइके रवि रेग्मीले बनेपा ५ घोकेचौरको खोला करिडोर नजिकैको प्लटिङको जग्गा देखाएका थिए ।

नक्सा देखि पुर्जा समेत सबै सक्कली बनाएर देखाएका रेग्मीले अरुको जग्गालाई प्लटिङको कागजमा कित्ता देखाएर मालपोत कार्यालय काभ्रेपलाञ्चोकले हाल साबिक गरिदिएको ७६ कित्ता बनाएका थिए । यस अघि रेग्मीले ७ वटा यस्तै प्रकृतिको जग्गा पास गरिसकेको बताएका छन् भने ७६ कित्ता जग्गा साउन ८ गते पास गरिसक्ने गरी धेरै ब्यक्तिसँग बैना रकम लिएको स्विकारेका छन् । मालपोतको रेकर्डमा उक्त जग्गा मध्ये केही कित्ता व्यक्तिका नाममा देखिएको भए पनि नक्सा अनुसार सबै नक्कली हो ।

प्रहरी प्रमुख एसपी चक्रराज जोशीले सरकारी छाप दस्तखत किर्ते गरी सर्वसाधारण ठगी गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताउनु भयो । पीडितहरुको जाहेरीका आधारमा गिरोहमा संलग्न अन्यको खोजी कार्य भइरहेको एसपी जोशीले बताउनु भयो ।

कसरी भयो ठगी ? 

धादिङ जीवनपुर ५ घर भएका रवि रेग्मी धादिङ जिल्लामा नक्कली धन्दा गरेर लखेटिएका व्यक्ति हुन् । त्यससँगै उनी सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लामा गएर ठगी गरेका थिए । त्यहाँबाट पनि लखेटिए पछि उनी बनेपामा आएर बसोबास गरे ।

बनेपाको चण्डेश्वरी नजिकै जग्गा भाडामा लिएर टहरा बनाएर बसेका रेग्मीले ५ वर्ष नपुग्दै बनेपा ९ नयाँबस्तिमा घर किनेका छन् । उनले किनेका घर बाबु नन्दप्रसाद रेग्मी र नाबालक छोरा आयुष रेग्मीका नाममा पास गरेर खरिद गरेका छन् । उनले लामो समय देखि ठगी गरिरहेका कारण बनेपामा पनि १० वटा भन्दा धेरै जग्गाको नक्कली पुर्जा बनाएर विक्री गरिसकेका छन् । तीन जना पीडित प्रहरीको सम्पर्कमा पुगिसकेका छन् ।

रवि रेग्मीले पुर्जा मात्रै नक्कली बनाएनन् । जग्गा नक्कली देखाए । राम्रो स्थानको धेरै जग्गा कम मूल्यमा पाए पछि निर्मला खरिद गर्न राजी भइन् । त्यस लगत्तै रेग्मीले वडा कार्यालयको चार किल्ला सिफारिस, जग्गाको नक्सा नक्कली बनाए । बनेपा नगरपालिकाको साबिक १ देखि ९ नम्बर वडा, श्रीखण्डपुरको साबिक ४ र ५ बाहेक सबै वडाहरुको हाल साबिक भएको छ । हाल साबिक नभएको जग्गा पास हुँदैन । उनले हाल साबिक नभएको जग्गा पास गराउन मालपोत कार्यालयका केही कर्मचारी र लेखापढी व्यवसायीसँग साँठगाँठ गरे ।

हुँदै नभएको जग्गाको पुर्जा र सिफारिस बनाएर रेग्मीले निर्मलालाई ३० गते ५५ लाख रुपैयाँमा जग्गा विक्री गराई पास गराए । मालपोत कार्यालयले अनलाइन जग्गा पास गराउँदै आएको छ । सोही जग्गाको अफलाइन लिखत तयार गर्न सिता थापा र राजन थापा सहभागी भए । अनलाइन नभएको जग्गाको लिखत लगेर डिजिटल फोटो खिचाउन मालपोत कार्यालयका कम्प्युटर अपरेटर शशित भण्डारी सहयोगी बने । उनले कार्यालयको सिस्टममा खिचेनन् । बाहिर खिचेर निर्मलालाई ल्याप्चे लगाई दिए ।

फोटो खिचाए लगत्तै निर्मला र रवि मालपोतको रजिस्ट्रेसन गर्न ‘क’ ब्लकमा पुगे । जहाँ मालपोत कार्यालयका कर्मचारी रामविनय यादवले दुवै पक्षलाई जग्गा किनबेचको लेनदेन भयो ? भनेर सोधे । दुवैले कारोबार सकियो भने । त्यो अघि सिता थापा र राजन थापाले नक्कली लिखत अनुसार रजिस्टेसन नम्बर १३०४९ ‘ख’, पारित मिति २०७९ असार ३१ गते, टोकन दर्ता नम्बर १३०४, रजिस्टे«सन दस्तुर १ लाख ५१ हजार ८ सय ७६ रुपैयाँ, पुँजीगत लाभकर ३ लाख, रसिद नम्बर १४४४ राखेर पेश गरेका थिए । यो सबै नक्कली थियो । बैकको भौचर, छाप, अधिकृतको दस्खत पनि नक्कली थियो । दैनिक ५ वटा पनि लिखत पास नभएका बेला १३०४ को टोकन नम्बर राखिएको थियो ।

मालपोत कार्यालयकै अधिकृतको दस्तखत समेत नक्कली राखेर पेश भएको कागजात ख ब्लकमा जानु अघि सबै कागजात सिता थापाले लिएर गइन् । उनीहरूले नक्कली पुर्जा बनाउने स्थानबाट निर्मलाको फोटोलाई स्क्यान गरेर प्रिन्ट गराए । पुर्जामा टाँसिएको फोटोमा आफै ल्याप्चे लगाइदिए । निर्मलालाई पुर्जा नबन्दै बनेपा आएर पैसा लिएको थियो । आफूले पुर्जामा ल्याप्चे नलगाएको सम्झिए पछि तत्कालै श्रीमानलाई फोन गरेर भनेकी थिइन् । त्यस पछि मालपोत कार्यालयमा मोठ भिडाउँदा सबै नक्कली भएको फेला परेको थियो । लेखापढी व्यवसायी सिता थापाले आफ्नो नम्बर समेत नक्कली राखेकी छिन् ।

गिरोहले राष्ट्रिय वाणिज्य बैकको भौचर र छाप सहित अधिकृतको नक्कली हस्ताक्षर, मालपोत कार्यालयको छाप, हस्ताक्षर र पुर्जाको नक्कली प्रिन्ट, वडा कार्यालयको छाप, सिफारिस र वडा अध्यक्षको सिफारिस समेत नक्कली बनाएर किर्ते गरेका छन् । पक्राउ परेकाहरूलाई सरकारी छाप दस्तखत किर्ते सहित ठगी अभियोगमा मुद्दा चलाउने तयारी गरिएको छ । सरकारी छाप दस्तखतमा जग्गा किन्ने र विक्री गर्ने दुवै दोषी हुन्छन् ।

उक्त लिखतमा राखिएका साक्षीलाई भने केही थाहा नभएको बताइएको छ । प्रहरीले थप समूह र विक्री गरिएका जग्गाका बारेमा खोजतलास गरिरहेको छ । प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले प्राप्त सूचनाका आधारमा हुँदै नभएको जग्गा विक्री गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको बताउनु भयो ।प्रहरी प्रमुख चक्रराज जोशीले जिल्लामा भएका यस्ता अपराध न्यूनीकरण गर्न नागरिक सचेत हुनु पर्ने पर्ने बताउँदै दोषीहरूलाई कारबाही गर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्