मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न ५ जना पक्राउ

0
Shares

काठमाडौं  ।

काठमाडौंका सडक पेटीमा आश्रित व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पारी मिर्गाैला बेचबिखन गर्ने काममा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर ठिमी बस्ने रामेछाप मन्थली नगरपालिका–५ घर भएका विधान, हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, काठमाडौं गौशाला बस्ने गुल्मी तम्घास नगरपालिका–२ घर भएका विजय कुँवर, काठमाडौं कालोपुल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका–६ घर भएका धुपेन्द्र शाही, काठमाडौं चावहिल बस्ने दैलेख चामुण्डा बिन्द्रासयनी नगरपालिका–६ घर भएका बिमलबहादुर शाही र भक्तपुर ठिमी बस्ने झापा पृथ्वीनगर नगरपालिका–१ घर भएका छोटे भन्ने आशिष तामाङ रहेका छन् ।

उनीहरूले सडक पेटीमा आश्रित व्यक्तिहरूसँग चिनजान गरी भारतको कलकत्ता गइ मृगौला बिक्री गर्दा ५ लाख रुपियाँ कमाई हुने र नेपाल आउँदा ५० हजार पर्ने मोबाइलसमेत पाइन्छ भन्दै २ जनालाई विश्वासमा पारी मिर्गौला दाताले गर्नुपर्ने शारीरिक जाँच गरी असार १५ गते भारतको कोलकत्ता लैजानका लागि तयारी अवस्थामा राखेको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा संलग्न धुपेन्द्र, विजय र बिमललाई पक्राउ गरेको थियो ।

थप अनुसन्धानको क्रममा सोही घटनामा संलग्न रही फरार रहेका धन बहादुर र आशिषलाई असार २८ गते प्रहरीले पक्राउ गरेको हो ।उनी उपर मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारवाही हुने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलले जनाएको छ ।