भृकुटीमण्डपमा भएको आगलागीको छानबिन हुन्छ : गृहमन्त्री खाँण



काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको स्टोरमा भएको आगलागीको छानबिन गर्ने बताउनुभएको छ ।

गृहमन्त्री खाँणले आइतबार दिउँसो आगलागी भएको क्षेत्रको अवलोकन गर्दै आगलागीबारे छानबिन गर्ने बताउनुभएको हो ।
आगलागीमा परिषद्अन्तर्गतको राष्ट्रिय अपांग कोषले अपांगका लागि राखेका सहायक सामग्री पनि जलेका थिए । अपांगहरूका सहायक सामग्री गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् उपलब्ध गराइने पनि अवलोकनका क्रममा गृहमन्त्री खाँणले बताउनुभयो ।

‘राष्ट्रिय अपांग कोषलाई अपांगहरूलाई वितरण गर्न लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् सहायक सामग्री उपलब्ध गराउँछांै,’ गृहमन्त्री खाँणले भन्नुभयो ।उहाँले प्राधिकरणले उपलब्ध गराउने सहायक सामग्री राख्नका लागि आवश्यक पर्ने स्थान पनि खोजेर उपलब्ध गराउने आश्वासन दिनुभयो ।

अवलोकनका क्रममा उहाँले आगलागी भएको स्टोर, राष्ट्रिय अपांग कोषको कार्यालय र अपांगहरूका लागि सहायक सामग्री निर्माण गर्ने स्थान र कुन अपांगलाई के सहायक सामग्री आवश्यक पर्छ भनेर जाँच गर्ने स्थानको समेत अवलोकन गर्नुभयो ।
गृहमनत्री खाँणलाई कोषका सभापति डेकराज भट्टराईले आगलागी, कोष र सहायक सामग्री निर्माणबारे जानकारी गराउनुभएको थियो ।

उहाँसँग गृहसचिव टेकनारायण पाण्डे, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोरा, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललगायत अवलोकन गर्न पुग्नुभएको थियो ।स्टोरमा असार २९ गते दिउँसो आगलागी भएको थियो । आगलागीबाट स्टोरमा रहेका सबै सामग्री जलेर नष्ट भएका छन् ।

प्रतिक्रिया दिनुहोस्