४ केजी लागु औषध हेरोइनसहित ३ जना पक्राउ



काठमाडौं । 

नेपाललाई ट्रान्जिट बनाई लागु औषधको तस्करी गर्ने गिरोह सक्रिय भएपछि अहिले नेपालमा लागु औषध पक्राउ पर्ने क्रम तीव्र भएको छ ।

लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले ४ केजी लागु औषध हेरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना विदेशी र १ जना नेपाली रहेका छन् ।

दक्षिण अफ्रिकाबाट दुवई हुँदै काठमाडांै आइपुगेको उक्त हेरोइन प्रहरीले ठमेलबाट बरामद गरेको थियो । साउथ अफ्रिकाबाट दुवई हुँदै असार ३१ गते काठमाडौं आइपुगेका दक्षिण अफ्रिकी नागरिक ज्याक एन्टोन एन्जोब्रेचको गतिविधि शंकास्पद देखिएपछि उनीमाथि प्रहरीले निगरानी शुरू गरेको थियो ।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालका अनुसार प्रहरीले उनको सुटकेसको पिँधमा रहेको फल्स बटमबाट लागु औषध हेरोइन बरामद गरेको हो । नेपाल भित्रिएको उक्त लागु औषध भारततर्फ लैजानका लागि सहयोगीको भूमिकामा रहेका नुवाकोटका सुकेस तामाङ बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित पक्राउ परेको एसएसपी खनालले जानकारी दिनुभयो ।

उक्त लागु औषध लिन काठमाडौं आएकी भारतीय नागरिक जोथान्तलुअंगीलाई पनि प्रहरीले पक्राउ गरेको छ । यसअघि पनि दक्षिण अफ्रिकाबाट नेपाल हुँदै युरोप लैजाने तयारीमा रहेको ५१ केजी हेरोइनसहित केही विदेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्