त्रिभुवन विमानस्थलबाट ७ महिनामा ४८० केजी सुन बरामद


काठमाडौं ।

त्रिभुवन विमानस्थल भन्सारले ७ महिनामा हवाई यात्रुको साथबाट ४८० किलो अवैध सुन बरामद गरेको छ ।

नयाँ आर्थिक वर्षको पहिलो दिन विमानस्थल भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ को विवरण सार्वजनिक गर्दै ३ अर्ब ८० करोड रुपैयाँ बराबरको सुन एयरपोर्टमा नियन्त्रणमा लिइएको जानकारी दिएको हो । भन्सार कार्यालयअनुसार बरामद सुनबाट ४५ करोड ५८ लाख अतिरिक्त राजस्व पनि संकलन भएको छ ।

 विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन पाउँछन् भने तयारी सुनको हकमा ५० ग्राम निस्शुल्क र थप दुई सय ग्राम भन्सार तिरेर ल्याउन सकिने व्यवस्था रहेको छ । मापदण्डभन्दा बढी ल्याएमा वा लुकाएर ल्याएको हकमा जफत र कानूनअनुसार कारबाही हुन्छ । विमानस्थल भन्सारका अनुसार दैनिक औषत ३० यात्रुबाट १ केजी ५ सय ग्रामसम्म अवैध सुन बरामद हुने गरेको छ ।